close

विदेशबाट नेपालमा मोबाइल दर्ता गर्न मिल्छ कि मिल्दैन ?

टेकपाना टेकपाना

असार ३१, २०७८ ११:७

विदेशबाट नेपालमा मोबाइल दर्ता गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौं । यही शुक्रबारबाट सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत देशमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्दैछ । यो विषयले धेरैजसो मोबाइल प्रयोगकर्तालाई अन्यौलतामा पारेको छ ।

मोबाइल प्रयोगकर्ताले उठाएका विभिन्न जिज्ञासा मध्ये विदेशमा आफूले वा अरुले चलाइरहेको मोबाइल नेपाल आएपछि चल्छ कि चल्दैन भन्ने पनि हो । यस विषयमा टेकपानाले नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याललाई प्रश्न राखेका थियौं ।

उनले विदेशमा बस्ने नागरिकहरूले भने एमडीएमएसमा सोझै आफ्नो आईएमईआई दर्ता गर्न नसक्ने स्पष्ट पारेका छन् । ‘उहाँहरूले नेपाल आएपछि नै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ,’ उनले टेकपानासँगको कुराकानीमा भनेका छन्, ‘हाललाई हाम्रो वेबसाइटमा विदेशबाट मोबाइलको आईएमईआई दर्ता गर्न मिल्दैन ।’

यसको अर्थ तपाईं विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ वा तपाईंका लागि विदेशबाट कसैले मोबाइल पठाउँदैछ भने त्यस्तो मोबाइल नेपाल आएपछि दर्ता गराउन सकिन्छ । त्यस्तै व्यक्तिगत तवरमा विदेशबाट ल्याएर प्रयोग भइरहेका सेटको हकमा भने ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाइएको अर्यालले बताए ।

‘हामी सरोकारवालाहरूसँगको सहकार्यमा सफ्टवेयर तयार विकास गर्दैछौँ । क्रमशः सबै समस्याहरू समाधान हुनेछन्,’ उनले भनेका छन्, ‘हाललाई भने विदेशबाट आएका नागरिकले नेपालमै आएर आफ्नो नम्बर दर्ता गराउँदा हुन्छ ।”

प्राधिकरणले विदेशी नागरिकहरूको हकमा पनि नेपालमै आएर आफ्नो फोनको आईएमईआई दर्ता गर्नुपर्ने स्पष्ट पारेको छ । यदि तपाईं नेपालमै हुनुहुन्छ र विदेशबाट ल्याएको मोबाइल दर्ता गराउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१