close

नेपालको पहिलो अनलाइन प्रविधि मेला ‘डेल्टा २.०’ सुरू

टेकपाना टेकपाना

साउन ७, २०७८ १५:४३

नेपालको पहिलो अनलाइन प्रविधि मेला ‘डेल्टा २.०’ सुरू

काठमाडाैं । नेपालकै पहिलो प्राविधिक मेला डेल्टा २.० सुरू भएकाे छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा बुधबार याे मेलाकाे उद्घाटन गरिएकाे छ ।

डेल्टाले करिब एक महिनादेखि याे मेलाका लागि प्रि-इभेन्ट गर्दै आएको र बुधबारदेखि ४ दिने लामो प्रविधि मेला सुरू भएकाे जानकारी दिएकाे छ । प्रि-इभेन्टका रुपमा विभिन्न शीर्षकमा भर्चुअल रुपमा तालिम, टक शाे र अनलाइन गोष्टीहरु सम्पन्न भएका थिए ।

प्राविधिक मेलाको उद्घाटन समारोहमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अतिरिक्त पूर्वाधारविज्ञ डा. सुर्यराज आचार्य, कृषि मन्त्रालयका उपसचिव जित चन्द, नेपाल इन्जिनियर्स असोसियसन (एनईए) प्रदेश १ का अध्यक्ष यशवन्त शाह, पूर्वाञ्चल क्याम्पसका क्याम्पस प्रमुख ओमप्रकाश ढकाल लगायतकाे उपस्थिति थियाे ।

आफू इन्जिनियरिङ विधाकै रहेको र स्वदेशमै केही गर्नुपर्छ भनेर देशकै लागि काम गरिरहेकाे बताउँदै प्राधिकरणका पूर्वप्रमुख घिसिङले युवा इन्जिनियरहरुलाई प्रविधिमैत्री भएर स्वदेशमै काम गर्न सुझाव दिए । आफ्नो कार्यकालको अनुभव सुनाउँदै उनले विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि उत्प्रेरणा प्रदान गरे ।

देश विकास तथा निर्माणमा युवा इन्जिनियरहरुको भूमिकाबारे प्रकाश पार्दै पूर्वाधारविज्ञ डा. सुर्यराज आचार्यले यस्ता कार्यक्रममा युवाको सहभागिता हुनैपर्ने र आफ्नो तहबाट उनीहरूलाई हौसला, प्रोत्साहन तथा सहयोग गर्ने धारणा राखे ।

बुधबार थ्रीडी मोडल डिजाइन प्रतियोगिताको डिफेन्स सञ्चालन भएको र यसमा ११ वटा टिम संलग्न रहेको आयोजकले जानकारी दियाे । बिहीवार र शुक्रबार प्रेजेन्टेसन, कोडाथोन तथा म्याटल्याबको डिफेन्स गर्दै ९ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको डेल्टाका सचिव मनिशा कार्कीले बताइन् ।

डेल्टाका अध्यक्ष सुदिप बिष्टले बुधबारदेखि चार दिन यो मेला सञ्चालन हुने र बाँकी दिनहरुमा पनि महत्वपूर्ण कार्यक्रम गर्दै जाने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५