close

समाचार प्रभावः टेलिकमले सच्यायो अर्काको ब्यालेन्स हेर्न मिल्ने कमजोरी

टेकपाना टेकपाना

साउन १४, २०७८ १४:११

समाचार प्रभावः टेलिकमले सच्यायो अर्काको ब्यालेन्स हेर्न मिल्ने कमजोरी

 काठमाडौं । नेपाल टेलिकमले अर्काको मोबाइलमा रहेको ब्यालेन्स जोसुकैले हेर्न सकिने कमजोरी सच्याएको छ । बुधबार टेकपानाले यो सुविधा नभई कमजोरी रहेको भन्दै समाचार प्रकाशित गरेसँगै कम्पनीले त्यसलाई तत्काल सुधार गरेको हो ।

यस अघि कम्पनीको वेबसाइटमा रहेको वेब रिचार्ज तथा मोबाइल एपबाट पिन कोड मार्फत कुनै मोबाइल रिचार्ज गर्दा सम्बन्धित व्यक्तिको मोबाइलमा रहेको कूल ब्यालेन्स र भ्यालिडिटी समेत देखिने अवस्था रहेको थियो । तर अब भने यसरी रिचार्ज सफल भएको म्यासेजसँगै सम्बन्धित मोबाइल नम्बर र रिचार्ज भएको रकम रहेको मोबाइल नम्बर मात्र देखिन्छ ।

वेब रिचार्ज गरिसकेपछि यस अघि देखिने स्क्रिन र कमजोरी सच्याएपछि देखिने स्क्रिन

जुनसुकै मोबाइलमा रहेको ब्यालेन्स थाहा पाउन सकिने यस किसिमको फिचरलाई टेलिकमले यस अघि कमजोरी नभई सुविधा भएको दाबी गर्दै आएको थियो । साइबर सुरक्षाका जानकारले बैंक ब्यालेन्स थाहा पाउन सकिने अवस्थासँग यो कमजोरीलाई जोडेर विश्लेषण  गरेपछि टेलिकमले कमजोरीको रुपमा स्वीकार गरेको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले समेत यसरी व्यक्तिगत निजी जानकारी सार्वजनिक गर्न नपाउने प्रतिक्रिया दिएका थिए । कम्पनीका प्रवक्ता राजेश जोशीले वेब रिचार्जमा मात्रै त्यस किसिमको ‘समस्या’ रहेको बताए ।

‘त्यो समस्याको रुपमा भन्दा पनि हामीले ग्राहकको सुविधाको लागि भनेर खुल्ला छोडेका थियौं,’ उनले भने, ‘यसको दुरुपयोग हुनसक्ने जानकारी प्राप्त भएसँगै हामीले सुधारको काम अगाडि बढाइसकेका छौं । आज बेलुकासम्म पूर्ण रुपमा यो समस्या समाधान हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१