close

समुद्री ज्वालामुखी विस्फोटले नेपाली इन्टरनेटमा समस्या, १५% सम्म घट्यो ट्राफिक

टेकपाना टेकपाना

माघ ३, २०७८ २२:१८

समुद्री ज्वालामुखी विस्फोटले नेपाली इन्टरनेटमा समस्या, १५% सम्म घट्यो ट्राफिक

काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटको असर नेपाली इन्टरनेटमा समेत देखिएको छ । ज्वालामुखी बिस्फोट र त्यसपछि आएको सुनामीका कारण  विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा धक्का लागेको हो ।

समुद्री ज्वालामुखीबाट दक्षिण प्रशान्तमा रहेको टोङ्गा टापूको सम्पूर्ण दूरसञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने । बिस्फोट र समुद्री आँधिबाट सबमरिन (समुद्र मुनी बिच्छ्याइएको अप्टिकल फाइबर) केबलमा क्षति पुगेपछि विश्व इन्टरनेट सञ्जालमा समेत त्यसको असर परेको हो ।

ज्वालामुखी बिस्फोटबाट आई-एमई-डब्लूई (भारत र फ्रान्स जोड्ने १३००० किलोमिटर लामो समुद्री केबल),  २० हजार किलोमिटर लामो एसिया अमेरिका गेट-वे र मध्यपूर्व-उत्तर अमेरिका (एमईएनए) जोड्ने ८८०० किलोमिटर लामो सबमरिन केबल चुँडिएको छ । त्यस्तै दक्षिण पूर्वी एसिया-मध्य पूर्व पश्चिम युरोप जोड्ने अप्टिकल फाइबर (एसईए-एमई-डब्लूई ४), टेलिकम मलेसियाको समुद्री केबल, एसियालाई आपसमा जोड्ने ७२०० किलोमिटर लामो सबमरिन-केबल एक्सप्रेस (एएसई) मा समेत क्षति पुगेको जानकारी आएको छ ।

यद्यपि यकिन र प्रस्ट जानकारी आउन भने बाँकी छ । खासगरी युरोप र अमेरिकाबाट नेपाल आउने इन्टरनेट ब्यान्डविथ तथा ट्राफिकमा बढी समस्या देखिएको इन्टरनेट क्षेत्रका प्राविधिकहरूले बताएका छन् । नेपालमा भारतका टाटा, एयरटेल लगायतका सेवाप्रदायकको नेटवर्क र चाइना टेलिकमको नेटवर्क भएर इन्टरनेट नेपाल भित्रिने गरेको छ । 

‘भोल्क्यानिक इरप्सन (ज्वालामुखी बिस्फोटन) ले गर्दा समुद्री केबलमा क्षति पुगेपछि त्यस क्षेत्रबाट आउने इन्टरनेट ट्राफिक अन्यत्रको रुटबाट राउट भएर आउन थालेको छ,’ एक इन्टरनेट सेवाप्रदायक कम्पनीका प्राविधिकले भने, ‘जसले गर्दा लेटेन्सी (एक ठाउँबाट अर्को ठाउँमा इन्टरनेट डेटा पुग्दा हुने ढिलाई) बढेको छ भने प्याकेट ड्रप (इन्टरनेट डेटा गन्तव्यमा पुग्न असफल हुने कार्य) हुने गरेको छ ।

त्यसको असर इन्टरनेट ट्राफिकमा समेत देखिएको छ ।’ यसको अर्थ इन्टरनेटको लेटेन्सी बढ्नुका साथै डाउनलोड र अपलोड स्पिडमा गिरावट देखिएको छ । यस किसिमको समस्या खासगरी अन्तर्राष्ट्रिय ब्यान्डविथमा देखिएको हो ।

प्राविधिकहरूका अनुसार ज्वालामुखी बिस्फोटनका कारण नेपालको अन्तर्राष्ट्रिय ब्यान्डविथ तथा ट्राफिक उपयोग (ट्राफिक युटिलाइजेसन) मा १० देखि १५ प्रतिशतको गिरावट आएको छ । मुख्य गरी लेटेन्सीमा ५० देखि १०० मिलि सेकेन्डसम्म बढेको छ । नेपाल टेलिकमको वायरलाइन तथा एफटीटीएच निर्देशनालयका प्रमुख अनन्तमान सिंहले समस्याको बारेमा यकिन गर्न बाँकी रहेको टेकपानालाई बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२