close

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेल भन्छन्ः कम्पनीलाई ‘नम्बर वान’ बनाउँछु 

टेकपाना टेकपाना

चैत २५, २०७८ २०:४

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेल भन्छन्ः कम्पनीलाई ‘नम्बर वान’ बनाउँछु 

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।  बिहीबार मात्र मन्त्रिपरिषद्‌को बैठकबाट चार वर्षका लागि टेलिकम प्रमुखमा नियुक्त भएका पौडेलले त्यसको भोलिपल्ट नै औपचारिक रुपमा टेलिकम प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । 

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन  गरी नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी दिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरेका छन् । सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारबाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्कालै कार्यान्वयनमा लैजाने गरी संरचनामा ढालिने बताएका छन् । 

‘कम्पनीका सबै सेवाहरूलाई आम जनताको सहज र सुलभ पहुँचमा  पुर्‍याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्छ,’ उनले भनेका छन्, ‘कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएका चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

पदभार ग्रहण गर्दै उनले सूचना प्रविधिमार्फत राष्ट्रलाई समृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्‍याउने नेपाल सरकारको अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहम् दायित्वबोधका साथ कम्पनीलाई ‘नम्बर वान’ संस्थाका रुपमा कायम राख्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य वरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवम् कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रबन्ध निर्देशक पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए । केन्द्रमा उनले सन् २००४ देखि उनले कम्प्युटर इन्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी समेत बहन गरिसकेका छन् । पौडेलले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५