close

सुनिल पौडेल बने नेपाल टेलिकमको प्रबन्ध निर्देशक, को हुन् उनी ?

टेकपाना टेकपाना

चैत २४, २०७८ २०:२६

सुनिल पौडेल बने नेपाल टेलिकमको प्रबन्ध निर्देशक, को हुन् उनी ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले पौडेललाई कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् स्रोतले बिहीबार राति बसेको मन्त्रिपरिषद्‌ले पौडेललाई टेलिकमको प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको नेतृत्वमा आएका हुन् ।

बिहीबार मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौडेल सहित टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरेको थियो । कम्पनीको प्रबन्ध निर्देशकका लागि टेलिकमका वरिष्ठ कर्मचारी सुरजसिंह थापा, नेपाल टेलिकमका पूर्व कर्मचारीहरू नागेन्द्र कुमार दास, अमलेन्दु नारायण सिंह र सीए प्रदीपराज उपाध्यायले समेत दाबेदारी प्रस्तुत गरेका थिए ।

त्यस्तै काठमाडौं उपत्यका खानेपानी संस्थानका पूर्व प्रमुख अर्जुनबाबु ढकाल र त्रिभुवन विश्वविद्यालयको सूचना प्रविधि तथा इनोभेसन सेन्टरका पूर्व प्रमुख दीपक बहादुर शाहीले समेत टेलिकमको प्रमुख पदका लागि निवेदन दिएका थिए । 

टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै पौडेलले अब राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदबाट राजीनामा दिने बुझिएको छ ।

यस अघिका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकाल समाप्त भएसँगै गत पुसदेखि टेलिकम नेतृत्व बिहीन भएको थियो । त्यस अघि नै रिक्त पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको थियो ।

जसमा पौडेल, पहाडी र आचार्यसँगै अन्य छ जनाले समेत दरखास्त दिएका थिए । टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति हुनु पूर्व कार्यविधि परिमार्जन भएको भन्दै सर्वोच्च अदालतमा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा सर्वोच्चले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया बीचमै रोकिदिएको थियो । तर केही दिन अघि मात्र सर्वोच्चले उक्त रिट खारेज गरेसँगै प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया पुनः अगाडि बढेको थियो ।

को हुन् पौडेल ?

१९ वर्षअघि काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरेका पौडेलले सन् २००८ मा दक्षिण कोरियाबाट ग्लोबल आईटी टेक्नोलोजी प्रोग्राममा एमएससी पास गरेका थिए । त्यस अघि नै सन् २००४ मा उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका थिए ।

त्यसपछि सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका उनी २०१७ मा उप निर्देशक हुँदै अगस्ट २०१८ देखि त्यहाँको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको केन्द्रको प्रमुख कार्यकारीको रुपमा ३ महिना बाँकी छँदै उनी मन्त्रालय अन्तर्गतकै सरकारी कम्पनीको प्रमुखमा नियुक्त भएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५