close

च्याट जीपीटीमा १० अर्ब डलर बढी लगानी गर्ने माइक्रोसफ्टको घोषणा

टेकपाना टेकपाना

माघ १०, २०७९ १५:५३

च्याट जीपीटीमा १० अर्ब डलर बढी लगानी गर्ने माइक्रोसफ्टको घोषणा

काठमाडौं । माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अर्बौँ डलर लगानी गर्ने घोषणा गरेको छ । निश्चित रकम नखुलाइए पनि न्यू याेर्क टाइम्सले माइक्राेसफ्टसँग नजिककाे स्राेतलाई उद्धृत गर्दै १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएकाे उल्लेख गरेकाे छ ।

ओपन एआईलाई माइक्रोसफ्टले यसअघि पनि आर्थिक सहायता दिँदै आएको ‍थियो । अत्याधुनिक एआई प्रविधिका माध्यमबाट भविष्यमा दुवै कम्पनीलाई फाइदा हुनेगरी माइक्राेसफ्टले साझेदारी गरेकाे बताइएको छ ।

"हामीले जिम्मेवारीपूर्वक अत्याधुनिक एआई अनुसन्धानलाई अगाडि बढाउने र एआईलाई नयाँ प्रविधि प्लेटफर्मको रूपमा अगाडि बढाउने साझा महत्वाकांक्षाका आधारमा ओपनएआईसँग साझेदारी गरेका हाैं, " माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले एक ब्लग पोस्टमा भनेका छन् ।

विश्वका उत्कृष्ट तीन एआई ल्याबमध्ये ओपन एआई एक भएको एआई रिसर्चरले उल्लेख गरेकाे छ । यस कम्पनीले तयार पारेकाे गेम खेल्ने एआईले भिडिओ गेम डोटा टुमा मानिसहरूलाई पनि पछि पारेको थियो ।

अहिले भने कम्पनीले तयार पारेको टेक्स्ट जेनेरेटर टुल जीपीटी थ्रीले चर्चा पाइरहेको छ । यससँगै कम्पनीको अर्को टुल डल डट ई पनि लोकप्रिय बन्दै गएको छ ।

च्याटजीपीटीले विशेषगरी मानिसकै शैलीमा प्रश्नका उत्तर दिन वा जिज्ञासा मेटाउन सक्छ । आफ्नो आवश्यकता अनुसार निर्देशन दिएको खण्डमा सटीक तथा विश्वसनीय उत्तर दिने गर्छ ।

सबै अवस्थामा च्याटजीपीटीका उत्तर सही हुन्छन् भन्ने चाहिँ हुँदैन । गत नोभेम्बरमा सार्वजनिक गरिएको भाइरल च्याटजीपीटीलाई क्रान्तिकारी परिवर्तन ल्याउने टुलका रूपमा परिभाषित गरिएको छ ।

सन् २००७ मा पहिलो पटक आईफोन सार्वजनिक हुँदा त्यसले जुन चर्चा पाएको थियो, च्याट जीपीटीले पनि अहिले त्यस्तै चर्चा बटुलिरहेको छ ।

कतिपयले यो टुलले गुगलको सर्च इन्जिन फिचरलाई विस्थापित गर्ने अनुमान पनि गरेका छन्, जसले गर्दा कम्पनीलाई बजारमा नयाँ प्रतिद्वन्द्वी भित्रिएको महसुस हुन थालेको छ ।

गुगलले आफू पनि च्याटजीपीटीभन्दा उत्कृष्ट एआई च्याट प्रविधि निर्माण गर्न लागेको घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १५:५३