close

नेपालीलाई ठगी गर्न फिफियाको शैलीमा नयाँ बेटिङ प्लेटफर्म ‘एनईसी निजमेगन’ सक्रिय

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १८, २०८० ९:१४

नेपालीलाई ठगी गर्न फिफियाको शैलीमा नयाँ बेटिङ प्लेटफर्म ‘एनईसी निजमेगन’ सक्रिय

काठमाडौं । अनलाइन लगानीका नाममा नेपाली प्रयोगकर्ताबाट करोडौं उठाएर गायब भएको प्लेटफर्म फिफियाजस्तै नयाँ माध्यम देखापरेको छ । ‘एनईसी निजमेगन’ नाम दिइएको उक्त प्लेटफर्मले लगानी गरेकै भरमा रकम आउने र अतिरिक्त आम्दानीका लागि सट्टेबाजीमा रकम लगाउन सकिने भन्दै झुक्याउने गरेको पाइएको हो । 

इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामबाट उदाएको यो प्लेटफर्म ठगी गर्नकै लागि बनाइएको देखिन्छ । २६ फेब्रुअरी (चार दिनअघि) सञ्चालनमा आएको टेलिग्राम च्यानलमा १७०० बढी सदस्य पुगिसकेका छन् । यो प्लेटफर्मको डोमेन नेम १० फेब्रुअरी २०२४ मा दर्ता भएको देख्न सकिन्छ । 

हु इज डकटम’मा यो वेबसाइटको नाम सर्च गर्ने हो भने प्रायः जानकारी गलत राखेको देख्न सकिन्छ । किनभने त्यहाँ उल्लेख भएको सहर, स्ट्रिट, फोन नम्बर र अन्य विवरण छ्यासमिस अक्षरमा राखिएको छ । त्यस्तै वेबसाइटको एक्सटेन्सन पनि चिरपरिचित शब्द नभई डट सीसी छ । 

के छ टेलिग्राम च्यानलमा, अनि कसरी यसको प्रचार भइरहेको छ ?

यस प्लेटफर्मका लागि खोलिएको टेलिग्राम च्यानलमा छोटो समयमै त्यतिका प्रयोगकर्ता पुग्नु आश्चर्यको कुरा हो । तर, हामीले टेलिग्राम च्यानल अध्ययन गर्दै जाँदा फिफियाका लागि खोलिएको टेलिग्राम च्यानलको नाम परिवर्तन गरेर नयाँ नाम राखेको फेला पर्‍यो । जसमा भएका पुराना मेसेज र अन्य हिस्ट्री भने डिलिट भएको देखिन्छ ।

यसअघि फिफियाबाट झन्डै २० हजार रुपैयाँ ठगिएका एक पीडित टेकपानाको सम्पर्कमा आएका छन् । “मैले पनि फिफियामा नबुझेरै लगानी गर्दा खोज्दा २० हजार रुपैयाँ गुमाएको थिएँ,” उनले भने, “त्यसमध्ये मैले केही च्यानल लिभ गरेकै थिइनँ । एक्कासि मेरो टेलिग्राममा नयाँ च्यानल देखियो । त्यसमा बुझ्दै जाँदा फिफियाको नाम परिवर्तन गरेर नयाँ नाम राखेको रहेछ ।”

यसरी नयाँ वेबसाइट बनाएर ठगी गर्नका लागि उनीहरूले कतै यो प्लेटफर्म बेलायतको न्यायालयमा दर्ता भएको भनेका छन् भने कतै न्यूजिल्यान्डमा दर्ता भएको भन्ने दाबी गरेका छन् । नाम भने नेदरल्यान्डको ‘एनईसी निजमेगन’ क्लबको दुरुस्तै सारिएको छ । आधिकारिक जस्तो देखाउन लोगो पनि सोही क्लबको प्रयोग गरिएको छ । त्यसमा पनि कम्पनी स्तरीय हो भन्ने देखाउन यसलाई ट्रेडिङ एड्भाइजर र कमोडिटी पुल अपरेटरका रूपमा एनएफएले मान्यता दिएको दाबी गरिएको छ । 

टेलिग्राम च्याटमा यस कम्पनीलाई फुटबलमा लगानी गर्ने प्लेटफर्मबारे जानकारी प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । त्यस्तै विभिन्न किसिमका प्रडक्टको विज्ञापन गर्ने र समय समयमा गिभअवे गर्ने आश्वासन दिइएको छ । त्यसमा लगानी गरिएको रकम जुनसुकै बेला निकाल्न सकिने उक्त प्लेटफर्म सञ्चालकको दाबी छ । यसबाट बढीभन्दा बढी फाइदा हुने भन्दै लगानी गर्न प्रेरित गरिएको छ । 

त्यस्तै उक्त प्लेटफर्मको सञ्चालकले एजेन्ट बन्नेहरूका लागि विशेष तलब सुविधा दिने भनिएको देखिन्छ । टेलिग्राममा राखिएको जानकारी अनुसार ३० जना सदस्य बनाए मासिक २५०० रुपैयाँ हुने भनिएको छ भने ३०० सदस्य बनाउनेलाई मासिक ४० हजार तलब दिइने बताइएको छ । 

आधिकारिक जस्तो देखाउन प्रमाणपत्र पनि राखिएको छ । जहाँ यो कम्पनी ‘एनईसी होल्डिङ्स लिमिटेड’ को नामबाट २५ अक्टोबर २००६ मा देखाइएको छ । यही प्रमाणपत्रको आडमा कम्पनी प्रमाणित भएको भनिएको छ ।

तर, एनईसी होल्डिङ्स लिमिटेड र यो अवैध प्लेटफर्मको अगाडिको तीन अक्षरबाहेक अरु केही मिल्दैन । उनीहरूले यो प्लेटफर्म आधिकारिक जस्तो देखाउन जुन कम्पनीको प्रमाणपत्र देखाएका छन्, त्यो प्रमाणपत्र न्यूजिल्यान्डको कम्पनी अफिसको वेबसाइट अथवा यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

 

यतिसम्म कि नेपालीलाई झुक्याउन यो प्लेटफर्म अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको भन्नेसम्मका भ्रम छरिएको छ । 

कसरी हुन्छ कारोबार ?

यो प्लेटफर्मलाई लगानी गर्ने र बेटिङ खेल्न सकिने प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । त्यसमा कसैले पठाएको रेफरल लिङ्कबाट गए लिङ्क पठाउने र अकाउन्ट बनाउने दुवैलाई बोनस आउने भनिएको छ । तर, त्यसबाट आउने बोनस रकम निकै कम राखिएको छ । बढीभन्दा बढी आम्दानी गर्नका लागि प्रयोगकर्ताले बढी नै रकम राख्नुपर्ने भनिएको छ ।

यसमा खुलेआम नेपाली वालेट र बैंकको लोगो राखेर रकम ‍जम्मा गर्न सकिने बताइएको छ । वालेटमा ईसेवा, खल्ती र आईएमई पेबाट र बैंकमा गरिमा विकास बैंक र ज्योति विकास बैंकबाट रकम जम्मा गर्न सकिने भनिएको छ ।

 

वालेटबाट न्यूनतम एक हजारदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने उल्लेख छ । त्यस्तै बैंक अकाउन्टमा भने न्यूनतम १५०० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने भनिएको छ ।

वालेट तथा बैंक अकाउन्टको क्यूआर उपलब्ध गराइएको छ । जसमा सबै अकाउन्टको अकाउन्ट होल्डरको नाम ‘सञ्जय शर्मा’ भनिएको छ । रकम पठाइसकेपछि स्क्रिनशट चा ट्रान्जेक्सन स्लिप पठाए रकम लोड हुने भन्दै विश्वस्त बनाएको देख्न सकिन्छ । 

 

यसरी रकम जम्मा गरेको केही समयमै रकम डिपोजिट हुने उनीहरुको भनाइ छ । 

फिफियाभन्दा के फरक ?

यसो त फिफिया र यो प्लेटफर्मको ठगी गर्ने प्रकृति उस्तै देखिन्छ । प्रयोगकर्तालाई लगानीका नाममा रकम जम्मा गर्न लगाउने, सुरुमा कमिसन पनि उपलब्ध गराउने अनि जब रकम दोब्बरभन्दा बढी हुने अवस्था भयो त्यतिबेला प्लेटफर्म नै बन्द गर्ने । तर, प्रयोगकर्तालाई झुक्याउन यसमा केही नयाँपन देखाइएको छ ।

फिफियामा ४-४ बेटिङ मात्र गर्न मिल्छ भनिएको थियो, जसलाई नेपालको कानूनले सट्टेबाजी नमान्ने दाबी गरिएकाे थियाे । तर, यो प्लेटफर्ममा भने सरासर सबै किसिमका सट्टेबाजीमा रकम राख्न सकिने भन्दै प्रचार गरिएको छ ।

यसमा अकाउन्ट बनाएर हेर्ने हो भने ‘म्याचेज’ (Matches) भन्ने सेक्सन देखिन्छ । त्यसमा थुप्रै क्लबहरूको म्याच हुने समय र लोगो राखिएको देखिन्छ । त्यसको तलपट्टि ‘बेट नाउ’ को बटन राखिएको छ । त्यसमा क्लिक गर्दा भित्र स्कोर कार्ड जस्तो देखिन्छ । जसमा पछाडि यति प्रतिशत नाफा हुने भनिएको हुन्छ । त्यसमध्ये कुनै अप्सन छान्यो भने बेट भएको देखाइन्छ । र, अन्तिममा जति प्रतिशतले रकम बढ्छ भनिएको छ, रकम त्यति नै बढाएर राखिन्छ । 

 

यस्तोमा प्रयोगकर्ताले बढी रकम पाउने आशाले बढी लगानी गर्न खोज्ने देखिन्छ । टेलिग्राम च्यानलमा पनि यसका सञ्चालकले पहिले डिपोजिट गरेर बेट गर्न सुझाव दिएका छन् । 

सर्वसाधारण ठगिने जोखिम !

यो प्लेटफर्ममा एजेन्ट भयो भने छुट्टै तलब, तर इन्भिटेसन कोडबाट जोड्यो भने त्यही अनुसारको बोनस पाउने आश्वासन दिइएको छ । तसर्थ अन्य प्रयोगकर्ताले बढी रकम कमाउने आशमा सर्वसाधारणलाई यसमा जोड्न सक्ने देखिन्छ । यो नेटवर्किङभन्दा भिन्नै शैलीमा मौलाउन खोजिरहेको छ । 

 

के भन्छ प्रहरी ? 

यसअघि फिफिया प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सक्रिय रूपमा लागेको थियो । टेकपानासँगको कुराकानीमा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले यस विषयमा थप अनुसन्धान अगाडि बढाउने बताए ।

“यो कस्तो प्रकृतिको प्लेटफर्म हो भन्ने थाहा पाउन अध्ययन गर्दैछौं,” एसएसपी राठौरले भने, “अवैध भएको प्रमाणित भए हामी कानूनी दायरमा ल्याउँछौं ।” 

नेपालमा जुवा तथा सट्टेबाजी कार्य प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ । जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ ।

दफा ३ को उपदफा १ मा लेखिएको छ, "कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।"

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । यद्यपि अन्तर्राष्ट्रिय स्तरबाट मान्यता प्राप्त गरेको भन्दै झुटो आश्वासन दिएर रकम ठगी गर्ने प्रवृत्तिले यो प्लेटफर्म सञ्चालन भइरहेको देखिन्छ । 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० ९:४३