close

फ्याक्टचेक: रास्वपा सरकार बनेपछि ५०० र १,००० का नोट सरकारले प्रतिबन्ध गर्ने तयारी भइरहेको भन्दै झुटो खबर भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

चैत ९, २०८२ १०:१४

फ्याक्टचेक: रास्वपा सरकार बनेपछि ५०० र १,००० का नोट सरकारले प्रतिबन्ध गर्ने तयारी भइरहेको भन्दै झुटो खबर भाइरल

काठमाडौँ । नेपालमा पाँच सय र एक हजार रुपैयाँका नोटहरू प्रतिबन्ध लगाउने तयारी भइरहेको दाबीसहितका भिडिओ सामग्रीहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन शाह र रास्वपा नेता डा स्वर्णिम वाग्लेले ठुला नोटमाथि प्रतिबन्ध लगाउने योजना बनाएको दाबी ती सामग्रीमा गरिएको छ । 

यस्ता भिडिओहरूमा सुशीला कार्की नेतृत्वको सरकारले यसअघि नोट प्रतिबन्धको तयारी गरेको, तर नेपाल राष्ट्र बैङ्कका कारण पछि हटेको समेत दाबी गरिएको छ । 

यद्यपि टेकपानाको फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ । हालसम्म सुशीला कार्की नेतृत्वको सरकारले नोट प्रतिबन्ध सम्बन्धी कुनै काम गरेको छैन भने रास्वपाले पनि यस विषयमा योजना बनाउने अथवा कुनै निर्णय गर्ने कार्य गरेको छैन । 

दाबी 

१७ मार्च राति ८:१८ मा फेसबुक पेज ‘DNA Khabar’ले पाँच सय र एक हजार रुपैयाँ प्रतिबन्ध गर्न रास्वपाले अध्ययन गरिरहेको दाबी सहित चार मिनेट ९ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रतिबन्धको तयारी गरेको तर राष्ट्र बैङ्कका कारण लागु नगरिएको दाबी गरिएको छ । 

भिडिओको क्याप्सनमा लेखिएको छ, “५ सय र हजारको नोटमा बालेनले प्रति*वन्ध लगाउने ! अध्ययनमा रास्वपा, सुशिला कार्कीले गरेकी थिइन तयारी, राष्ट्र बैंकले तर्सा*एपछि भइन ब्याक” शीर्षकमा सामग्री तयार पारेको छ ।”  

भिडिओमा प्रस्तोताले भनेका छन्:

अब नेपालबाट झ्याप्प ५०० र एक हजारका नोटहरू माथि प्रतिबन्ध लाग्यो भने अनौठो नमाने हुन्छ । किनकि झन्डै दुई तिहाइको बहुमत बोकेको रास्वपाको शक्तिशाली सरकारले यो विषयमा पनि अध्ययन गर्ने भएको छ । नेपालमा झाँगिएको भ्रष्टाचार पछाडिको एउटा कारण ठुला नोटहरू पनि भएको र यस्ता नोटहरू नेतादेखि उच्च तहका कर्मचारी सम्मको घरमा थुप्रिएको हुन सक्ने, अवैध कारोबारीदेखि तस्करसम्मले लुकाएको हुन सक्ने आशङ्का छ ।

ती सम्पूर्ण नोटहरूलाई कागजको खोस्टो बराबर बनाउन सकेको अवस्थामा मात्रै अर्थतन्त्रले पनि गति लिन सक्ने विज्ञहरूको बुझाइ छ । शक्तिशाली सरकारको बन्दै गरेका प्रधानमन्त्री बालेन शाह पनि भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउनका लागि आक्रामक बन्ने सोचमा छन् । झन्डै दुई तिहाइको शक्तिशाली सरकार बन्दा पनि देशमा परिवर्तनको अनुभूति नगराए जनताको माग बमोजिम भ्रष्टाचार विरुद्ध निर्मम नभए कहिले हुन सकिँदैन भन्ने रास्वपाको बुझाइ छ । अर्थमन्त्री बन्ने करिब पक्कापक्की भएका डा स्वर्णिम वाग्ले पनि एक हजार र ५०० को नोटबन्दी गरेर नयाँ सिराबाट अघि बढ्नु पर्ने विषयमा अध्ययन गर्नुपर्ने लाइनमा छन् ।

त्यसो त बालेन नेतृत्वको बन्नेवाला सरकारलाई यस विषयमा सुशीला कार्की नेतृत्वको सरकारको तयारीले पनि काम गर्ने देखिएको छ । किनकि ठुला दरका नोटमा प्रतिबन्ध लगाएर प्रधानमन्त्री कार्कीले चुनाव गराउन चाहेकी थिइन् । त्यसैअनुसार अध्ययन पनि भएको थियो । तर चुनावको मुखमा त्यसले ठुलो समस्या निम्त्याउन सक्ने विज्ञहरूको राय पछि उनी ब्याक भएकी थिइन् । सरकारको पहिलो प्राथमिकता नै निर्वाचन सम्पन्न गरेर संविधानलाई पुनः ट्रयाकमा फर्काउने भएकाले उनी यो निर्णय गर्न हच्किइन् ।

जेन्जी आन्दोलनका क्रममा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको घरमा पैसाको चाङ नै जलेर खरानी भएको थियो । कांग्रेस नेता दीपक खड्काको घरबाट पनि पैसाका नोटहरू उडेका थिए । प्रचण्डको घरमा पनि पैसा भेटिएको चर्चा चलेको थियो । यो घटनापछि सुशीला सरकारले नोटबन्दीका विषयमा अध्ययन अघि बढाउन निर्देशन दिएको थियो । सोहीअनुसार अध्ययन पनि भयो । तर राष्ट्र बैङ्कले १,००० दरका नोटको बन्दी पछि सटही सुविधा दिन नसकिने तथ्याङ्क अघि सारेपछि सरकार हच्किएको थियो । खासगरी चलनचल्तीमा रहेका नोटमा करिब ७० प्रतिशत हिस्सा १,००० दरको नोटको थियो ।

१,००० दरको नोट अमान्य बनाउने बित्तिकै सर्वसाधारणको नोट सटही माग ४९० अर्बको हाराहारीमा रहने अध्ययनले देखाएको थियो । राष्ट्र बैङ्कसँग ५६ अर्ब बराबरको चलनचल्तीमा ल्याउन योग्य नोट रहेको र ती नोट मध्ये १,००० दर बाहेक अन्य नोटको मौज्दात करिब ४३ अर्ब मात्र थियो । यस्तै राष्ट्र बैङ्कले नगदमा आधारित कारोबारमा निर्भर साना व्यवसायीहरू सङ्कटमा पर्ने, जनताले नेपाली रुपैयाँको सट्‍टा भारतीय रुपैयाँ राख्न थाल्ने, विगतमा जस्तै दोहोरो मुद्रा प्रणाली पुनः स्थापित गर्ने जोखिम राष्ट्र बैङ्कले देखाएपछि सुशीला सरकार ब्याक भएको थियो ।

विगतमा राजाको तस्बिर भएका नोटहरु अमौद्रिकरण गर्दा यस्तै भएपछि राष्ट्र बैङ्कले रातारात निर्णय फिर्ता लिनु परेको थियो । नयाँ नोटहरूले पुनः मुद्रिकरण नगरेसम्म सम्पूर्ण अर्थतन्त्र संकटमा पर्ने राष्ट्र बैङ्कको दाबी थियो । साथै राजनीतिक दलहरूले स्वीकार गरेनन् भने ठुलो विरोध प्रदर्शन, तोडफोड र हिंसाको पनि जोखिम रहेको ठहर पछि सरकार हच्किएको थियो । त्यसो त यस्ता घटना कैयौँ देशहरुमा पनि भएका छन् । अब बन्ने बालेन नेतृत्वको सरकारले भने त्यो जोखिम लिन सक्ने र ठुला नोटहरूमा प्रतिबन्ध लगाएर कालो धन सिद्ध्याउने योजना अघि बढाउन सक्ने सम्भावना बलियो देखिन्छ ।

भिडिओलाई यो सामग्री तयार पार्दासम्ममा १७ लाख भन्दा धेरैले हेरेका छन् भने एक लाख दुई हजारभन्दा धेरै रियाक्सन आइसकेका छन् । भिडिओलाई चार हजार ६०० भन्दा धेरै पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

 

अनुसन्धान 

फेसबुक पेज 'Galaxykhabar' ले पनि १८ मार्च राति ७:०३ मा पाँच सय र एक हजारको नोट बन्द गर्ने तयारी भन्दै भिडिओ राखेको फेला पर्‍यो । भिडिओलाई यो सामग्री तयार पार्दा सम्म दुई लाख ३२ हजार भन्दा धेरैले रियाक्ट गरेका छन् भने यो सामग्री तयार पार्दासम्म ५२ लाख भन्दा धेरै पटक हेरिएको छ ।   

भिडिओको क्याप्सनमा लेखिएको छ, “५०० र १००० का नोट सधैँका लागि बन्द!आज राति १२ बजेदेखि ५०० र १००० का नोट चल्ने छैनन्!के देशको ढुकुटी लुट्नेहरूको कालो धनलाई रातारात खरानी बनाउने यस्तै विष्फोटक समाचार सुनाउने र सुन्ने दिन अब आउनै लागेकै हो ?” हेर्नुहोस् भिडिओ आर्काइभ लिङ्क र स्क्रिनशट । 

१८ मार्च बिहान ८:११ मा ‘Laligurash Media network’ ले पनि समान किसिमको दाबी सहित भिडिओ सामग्री सार्वजनिक गरेको फेला पर्‍यो । “५ सय र १ हजारका नोट ब न्द गर्ने! सुशीला कार्कीले नै गरेकी थिइन तयारी” शीर्षकमा भिडिओ पोस्ट भएको हो । उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म एक लाख ४७ हजार भन्दा धेरैले हेरेका छन् भने नौ हजार भन्दा धेरैले रियाक्ट गरेका छन् । हेर्नुहोस्  भिडिओ र स्क्रिनशट ।  

 

 

‘Trending Kura’ नामक फेसबुक पेजले भने पाँच सय र एक हजारका नोट बन्द हुन लागेको दाबी सहित भिडिओ शेयर गरेको छ । “५०० र १००० का नोट बन्द हुँदैछन् ? कालो धन रातारात खरानी हुने संकेत !” शीर्षकमा भिडिओ शेयर गरिएको छ । उक्त भिडिओलाई यो सामग्री तयार पार्दा सम्म आठ हजार ६०० भन्दा धेरै पटक रियाक्ट गरिएको छ भने दुई लाख ३९ हजारभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

यस्तै ‘Ayush Neupane’ नामक युट्युब च्यानलबाट “अब ५०० र १००० का नोट बन्द हुने? बालेनको ठूलो निर्णयले देश हल्लिँदै! 😱💰" शीर्षकमा भिडिओ सामग्री सार्वजनिक भएको फेला पर्‍यो । 

उक्त भिडिओमा 'DNA Khabar'ले जस्तै बालेन शाह र स्वर्णिम वाग्लेले हजार र पाँच सयको नोट प्रतिबन्ध गर्ने योजना बनाएको दाबी गरिएको छ । भिडिओमा सुशीला कार्की नेतृत्व सरकारले निर्वाचन अघि नोटमा प्रतिबन्ध लगाउने योजना बनाए पनि राष्ट्र बैङ्कले सटहीमा समस्या आउने कारण देखाएपछि सुशीला कार्की सरकार पछि हटेको दाबी गरिएको छ । हेर्नुहोस् भिडिओ  र स्क्रिनशट । 

 

Khabar Bulletin Tv ले  २० मार्च बिहान १०:३० मा ‘नेपालमा रु.५०० र १००० को नोट बन्द! जमिन मुनि गाडेको पैसा के होला?’ क्याप्सन सहित भिडिओ सामग्री प्रसारण गरेको छ । भिडिओलाई यो सामग्री तयार पार्दासम्ममा दुई हजार ४०० भन्दा धेरैले रियाक्ट गरिसकेका छन् ।  हेर्नुहोस् भिडि‌ओ र स्क्रिनशट । 

‘आहा अब नेपाली हजार र पाँचसयको नोट बन्द’ शीर्षकमा ‘Sathikhabar’ नामको फेसबुकले भिडिओ सामग्री सार्वजनिक गरेको फेला पर्‍यो । उक्त भिडिओमा एक पुरुषले बालेनले नेपाली हजार र पाँच सयको नोट बन्द गर्ने निर्णय गरेको भन्दै खुसी जनाएका छन् । 

जग्गाको कारोबार गर्दा लाभकर र राजस्व कर छलि गरेर नगद जम्मा गर्ने प्रवृत्ति रहेको भन्दै हजार र पाँच सय रुपैयाँ बन्द हुँदा ती पैसा काम नलाग्ने भन्दै उनले खुसी मनाएका हुन् । हेर्नुहोस् भिडि‌ओ र स्क्रिनशट । 

शीर्षकमा २२ मार्च २०२५ बिहान ९:०३ मा 'Nepali Rajneeti News' ले पनि रास्वपा सरकारले सँधैका लागि एक हजार र पाँच सयको नोट बन्द गर्न लागेको दाबी सहित भिडिओ सार्वजनिक गरेको छ । “रास्पाको सरकार ले पाँच सय र हजार को नोट सधैंको लागि बन्द गर्ने साथ दिने ले सक्दो सेयर गर्नुहोस्” शीर्षकमा भिडिओ शेयर गरेको हो । हेर्नुहोस् भिडि‌ओ र स्क्रिनशट । 

सामाजिक सञ्जालमा रास्वपा सरकारले नोट बन्द गर्ने विषयमा योजना बनाएको, अध्ययन गरेको, सुशीला कार्की सरकारले पनि अध्ययन गरेको तर लागु नगरिएका लगायतका दाबीहरू अन्य प्रयोगकर्ताहरूले पनि भाइरल गराइ रहेका छन् । तर, दाबीहरूलाई पुष्टि गर्न सक्ने आधिकारिक स्रोतहरू भने यी सामग्रीहरूमा उपलब्ध छैनन् । त्यसपछि हामीले विश्वसनीय सञ्चारमाध्यममा यससँग सम्बन्धित विषयमा कुनै समाचार सार्वजनिक भएका छन् कि भनेर खोज्ने प्रयास गर्‍यौँ । 

‘500 and 1000 notes ban’, ‘पाँच सय हजार नोट बन्द’, ‘५०० र १००० को नोट बन्द’, ‘ठुला नोट बन्द गर्ने निर्णय’, ‘रास्वपा सरकार नोट बन्द’, ‘भ्रष्टाचार रोक्न नोट बन्द’, ‘नोट बन्द गर्ने योजना’ लगायतका किवर्डहरू राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । यसरी खोज्ने क्रममा विभिन्न समुदायबाट ठुला नोटको कारोबार रोक्नुपर्ने माग उठेका समाचार भेटिए पनि नोट बन्द गर्न सरकारको निर्णय/ योजना वा तयारीका विषयमा भने कुनै विश्वसनीय समाचार फेला परेन । 

बरु ‘नेपाल फ्याटक्चेक’ले ५ चैतमा “पाँच सय र हजारका नोट बन्द ? हल्ला मात्रै, निर्णय छैन” शीर्षकमा यही सन्दर्भमा गरेको तथ्यजाँच फेला पर्‍यो । छिट्टै बन्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द हुने तयारी गर्न लागेको दाबी सामाजिक सञ्जालमा भाइरल भएको उल्लेख गर्दै तथ्यजाँचले यस्तो दाबीलाई पुष्टि गर्ने कुनै आधिकारिक आधार फेला नपरेको उल्लेख गरेको छ । 

सार्वजनिक रूपमा नेपालमा नोट प्रतिबन्धका तयारीका विषयमा पुष्टि गर्ने कुनै सामग्री फेला नपरेपछि हामीले नेपाल राष्ट्र बैङ्कमा सम्पर्क गर्‍यौँ ।  सुशीला कार्की नेतृत्वको सरकारले पाँच सय र एक हजारको नोट प्रतिबन्धको विषयमा कुनै काम अघि बढाएको थियो वा थिएन भनेर बुझ्दा यस्तो कुनै पनि तयारी नभएको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरु प्रसाद पौडेलले बताए । 

नोट प्रतिबन्धको विषय पनि झुटो भएको जानकारी दिँदै उनले भने, “आधिकारिक रूपमा भन्नु पर्दा यो कुरा साँचो होइन, यो कुरा गलत हो । सरकारले नोट बन्द गर्नु पर्छ भनेर केही भनेको पनि छैन, गरेको पनि छैन । यदि (प्रतिबन्ध) गरिन्छ नै भने पनि यसरी हल्ला गरेर गरिन्छ जस्तो लाग्दैन ।”  

भाइरल दाबीमा बालेनसँगै रास्वपा सांसद डा स्वर्णिम वाग्ले पनि नोट प्रतिबन्ध गर्ने विषयमा अध्ययन गर्नुपर्ने पक्षमा रहेको बताइएको छ । त्यसपछि हामीले डा स्वर्णिम वाग्लेलाई सम्पर्क गर्‍यौँ । ह्वाट्सएपमार्फत टेकपाना फ्याक्टचेकको सम्पर्कमा आएका वाग्लेले रास्वपाले सरकार बनेपछि नोट प्रतिबन्ध गर्ने विषयमा कुनै निर्णय नगरेको जानकारी  दिए । 

यसअघि जेनजी प्रदर्शनपछि सरकार बने लगत्तै सामाजिक सञ्जालमा नेपालमा ‘जेनजी आन्दोलनमा बैङ्कहरूमा लुटपाट भएको भन्दै सरकारले हजार र पाँच सयका नोटहरू बन्द गर्ने निर्णय गरेको दाबीसहितका पोस्टहरू भाइरल भएका थिए । उक्त दाबी भाइरल भएपछि टेकपाना फ्याक्टचेक डेस्कले तथ्य जाँच गरेको थियो । २८ भदौमा गरिएको तथ्यजाँचको अनुसन्धानका क्रममा सरकारले नोट बन्दको विषयमा कुनैपनि निर्णय नगरेको समयमा मिथ्या सूचना फैलाएको पुष्टि भएको थियो । 

गोप्य रूपमा भएको थियो भारतमा नोट प्रतिबन्ध 

करिब १० वर्ष पहिले छिमेकी देश भारतमा भने ५०० र एक हजारका नोटहरूमा प्रतिबन्ध लगाइएको थियो । तर, यो प्रतिबन्धको निर्णय गर्नुअघिको तयारी निकै गोप्य ढङ्गले सम्पन्न भएको थियो ।

सन् २०१६ मा गरिएको प्रतिबन्धको निर्णयमा भारत सरकारले केवल ४ घण्टाको पूर्व सूचना दिएर पाँच सय र एक हजारको नोट प्रतिबन्ध लगाइएको थियो । 

प्रतिबन्धपछि भने दुई लाख ५० हजार भारुसम्म नोट साट्नका लागि केही दिनको समय दिइएको थियो । यदि सीमाभन्दा बढी रकम साट्नु परेमा कर अधिकारीहरूले रकमको स्रोतको अनुसन्धान गर्ने बताइएको थियो । स्रोत खुलाउन नसकेमा उक्त रकमको कर र रकमको २०० प्रतिशतसम्म जरिबाना तिराउने निर्णय गरेको थियो । रातारात भारतले ८६ प्रतिशत नगद किन खारेज गर्‍यो भन्दै 'Why India wiped out 86% of its cash overnight' शीर्षकमा १४ नोभेम्बर २०१६ मा प्रकाशन भएको बीबीसीको समाचारमा उक्त जानकारी उल्लेख छ ।  ‍

यस्तै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार मोदी सरकारले उक्त निर्णय निकै गोप्य तरिकाले सम्पन्न गरेको थियो । नोट प्रतिबन्ध गर्ने बारेमा पहिले नै सूचना पाएको भए कालोधन राख्ने व्यक्तिहरूले आफ्नो नगदलाई सुन, घरजग्गा वा अन्य सम्पत्तिमा बदलेर अवैध धन लुकाउन सक्ने भएकाले यो योजना गोप्य राखिएको थियो । ६ जना उच्च अधिकारीलाई मात्र गोप्य रूपमा उक्त योजना अघि बढाउने जिम्मेवारी दिइएको थियो । ९ डिसेम्बर २०१६ मा  “Who knew? Modi's black money move kept a closely guarded secret” शीर्षकमा प्रकाशित समाचारमा उक्त जानकारी उल्लेख छ । 

दाबी  

नेपालमा ५०० र १००० रुपैयाँका नोटहरूमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । रास्वपा, बालेन शाह र डा स्वर्णिम वाग्लेले यसको अध्ययन गरिरहेका छन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले पनि यस्तो तयारी गरेको तर राष्ट्र बैङ्कका कारण पछि हटेको थियो । 

दाबीकर्ता

फेसबुक पेज ‘DNA Khabar’, ‘Galaxykhabar’, ‘Laligurash Media network’, ‘Trending Kura’ युट्युब च्यानल ‘Ayush Neupane’ फेजबुक पेजहरू ‘Khabar Bulletin Tv’, ‘Sathikhabar’, ‘Nepali Rajneeti News’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

राष्ट्र बैङ्कका प्रवक्ता गुरु प्रसाद पौडेलले आधिकारिक रूपमा यो दाबी गलत भएको बताएका छन् । सरकारले नोट बन्द गर्ने विषयमा कुनै पनि छलफल, निर्णय वा तयारी नगरेको उनले प्रस्ट पारेका छन् । रास्वपा नेता तथा  सांसद डा स्वर्णिम वाग्लेले पनि नोट प्रतिबन्धका विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन् । भाइरल भिडिओहरूमा दाबी गरिएका कुराहरूलाई पुष्टि गर्ने कुनै पनि आधिकारिक स्रोत वा भरपर्दो सञ्चारमाध्यमको समाचार फेला परेको छैन ।

यसअघि पनि ‘जेनजी’ आन्दोलनका बेला नोट बन्द हुने हल्ला चलेको थियो । जसलाई तथ्यजाँचले मिथ्या सूचना प्रमाणित गरिसकेको छ । नोट प्रतिबन्ध जस्तो संवेदनशील निर्णय भारतको उदाहरण हेर्दा पनि निकै गोप्य रूपमा गरिन्छ, यसरी सामाजिक सञ्जालमा पहिले नै सार्वजनिक हुँदैन ।

निष्कर्ष

५०० र १००० का नोट प्रतिबन्ध हुन लागेको र रास्वपा वा बालेन शाहले यस्तो तयारी गरिरहेको भन्ने दाबी मिथ्या हो । 

दाबी मिथ्या हुँदा प्रयोग हुने चिन्ह

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ १२:८