close

चारमा एक जनाको पासवर्ड कमजोर, जुन सजिलै हुनसक्छ ह्याक

टेकपाना टेकपाना

असोज १८, २०७७ ९:३७

चारमा एक जनाको पासवर्ड कमजोर, जुन सजिलै हुनसक्छ ह्याक

काठमाडौं । विश्वभरबाट साइबर अपराध बढेका खबरहरु आइरहेका छन् । यस्ता खबरहरु सुन्दा तपाईंमा पनि आफ्नो डेटा सुरक्षित नरहेको भय पैदा हुनु स्विभाविक नै हो ।

तर त्यसका लागि तपाईं आफै जिम्मेवार त हुनुहुन्न ? हालै प्रकाशित एक रिपोर्टले चार जनामा एक जना व्यक्तिको पासवर्ड कमजोर हुने गरेको देखिएको छ ।

साइबर सेक्युरिटी कम्पनी क्यास्परस्काईको रिपोर्ट अनुसार चार जनामा एक जना प्रयोगकर्ताले निकै कमजोर पासवर्ड राख्ने गरेका छन् ।

यस्तो कमजोर पासवर्ड, जसलाई सजिलै डिकोड गर्न सकिन्छ । यहाँनिर तपाईंले जान्नैपर्ने कुरा के छ भने तपाईंको आफ्नो निजी तथा गोप्य डेटा ह्याकरसम्म पुग्नबाट रोक्ने एउटै पर्खाल तपाईंको पासवर्ड हो ।

यदि त्यही पर्खाल कमजोर छ भने ह्याकर सजिलै तपाईंको अकाउण्टमा प्रवेश गर्न सक्छन् । यस्ता कमजोर पासवर्डले ह्याकरलाई तपाईंको निजी डेटा मात्रै चोरी गराउन सहज बनाउँदैन, सँगसँगै बैंक खाता समेत रित्याउन सक्छ ।

अहिलेको समयमा इन्टरनेट प्रयोगकर्ताका अनेकौं अकाउन्ट हुने गर्दछन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, जिमेल, वालेट, मोबाइल बैंकिङ जस्ता दर्जनौं अकाउन्ट हुँदा त्यसका लागि छुट्टा छुट्टै पासवर्ड राख्नुपर्ने हुन्छ ।

अब यस्तोमा छुट्टा छुट्टै अकाउन्टको पासवर्ड सम्झिने कार्य आफैमा चुनौतिपूर्ण कार्य हो । त्यसैले सजिलोको लागि धेरैजसो प्रयोगकर्ताले विभिन्न अकाउन्टका लागि एउटै अर्थात समान पासवर्ड राखिरहेका हुन्छन् ।

जुन ह्याकरका लागि निकै सहज बनिदिन्छ । त्यति मात्र होइन, हामी सम्झिनका लागि सजिलो होस् भनेर पासवर्ड पनि त्यसैगरी तयार पारिरहेका हुन्छौं ।

यो पनि पढ्नुहोस्ः

तपाईंको पासवर्ड कत्तिको बलियो अथवा कमजोर छ ? यसरी चेक गर्नुहोस्
गुगल क्रोमबाटै यसरी तयार पार्नुहोस् बलियो अनि सुरक्षित पासवर्ड

यस्तोमा के भइदिन्छ भने कुनै एउटा अकाउन्टमा ह्याकरले पहुँच बनाउन सकेको खण्डमा सम्पूर्ण अकाउन्टहरु जोखिममा पर्न जान्छन् । कमजोर पासवर्ड राख्ने र फरक अकाउन्टका लागि एउटै पासवर्ड प्रयोग गर्ने मात्र होइन, त्यस्तो पासवर्ड सेभ गर्न ब्राउजरलाई अनुमति पनि दिने गरिन्छ ।

यस किसिमको कार्य प्रयोगकर्ताका लागि निकै महंगो पर्नसक्ने भन्दै साइबर सेक्युरिटी कम्पनी क्यास्परस्काईले सचेत गराएको छ ।

आँकडा अनुसार २२ प्रतिशत प्रयोगकर्ताले वेब ब्राउजरलाई पासवर्ड सेभ गर्ने अनुमति दिने गर्दछन् । यसरी सेभ भएको पासवर्डमा ह्याकरले सहजिलै एक्सेस पाउन सक्छन् ।

पासवर्ड क्र्याक गर्न यति सहज छ कि इन्टरनेटमा सहजै पासवर्ड क्याक गर्न आवश्यक ओपनसोर्स सफ्टवेयर उपलब्ध हुन्छन् । त्यसलाई जो कसैले इन्स्टल गरेर तपाईंको पासवर्ड ह्याक गर्ने कोशिस गर्न सक्छ ।

यदि तपाईं यस किसिमका जोखिमबाट बच्न चाहनुहुन्छ भने आफ्नो पासवर्डलाई बलियो पार्नुको विकल्प छैन । पाँच देखि ट वटा क्यारेक्टर भएका पासवर्ड निकै सजिलैसँग ह्याक हुनसक्छन् । त्यसका लागि ह्याकरलाई १० मिनेट पनि लाग्दैन ।

जसै तपाईं पासवर्डलाई ६ देखि ८ क्यारेक्टर बनाउनुहुन्छ, त्यसलाई ह्याक गर्न लाग्ने समय बढेर आधा घण्टा पुग्न सक्छ । तर यदि तपाईंले ९ देखि १२ क्यारेक्टरको जटिल पासवर्ड बनाउनु भयो भने ह्याकरका लागि त्यस्तो पासवर्ड ह्याक गर्नु निकै चुनौतिपूर्ण काम हुन पुग्छ ।

अनि अर्को कुरा पासवर्ड तयार पार्दा आफूसँग जोडिएको कुनै जानकारीको आधारमा पासवर्ड राख्ने गल्ति नगर्नुहोस् । त्यस्तै कुनै सिरिजको नम्बर वा क्यारेटर (1234/ABCD) पनि प्रयोग नगर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०