close

क्लिन फिड : नेपाली च्यानलमा रोकिएन विदेशी डबिङ विज्ञापन

टेकपाना टेकपाना

पुस ९, २०७७ १७:९

क्लिन फिड : नेपाली च्यानलमा रोकिएन विदेशी डबिङ विज्ञापन

काठमाडौं । लामो प्रयासपछि गत कात्तिक ८ गतेबाट नेपालमा क्लिन फिड लागू भएको छ । योसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएका छन् । जसलाई नेपाली विज्ञापन बजारका लागि एक महत्वपूर्ण व्यवस्थाको रुपमा हेरिएको छ ।

कारण विदेशी च्यानलमा विज्ञापन बजाउन नपाउने भएसँगै अन्तराष्ट्रिय ब्राण्डले आफ्ना प्रडक्टको जानकारी दिन नेपालमै लगानी गर्दा त्यसले नेपालको विज्ञापन बजार बढ्छ भन्ने हो । अर्कोतर्फ विज्ञापन ऐन–२०७६ ले विदेशी कलाकार भएको डबिङ विज्ञापन पनि बजाउन नपाउने प्रावधान राखेको छ ।

यसले नेपाली कलाकारले समेत त्यस्ता विज्ञापनमा सहभागी हुन पाउने अवसर सिर्जना गरिदएको छ । यसरी एकातर्फ विज्ञापन बजार बढ्ने र अर्कोतर्फ नेपाली कलाकारको भूमिका बढ्ने भएकाले पनि यसलाई महत्वपूर्ण व्यवस्थाको रुपमा हेरिएको हो ।

गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो । सोही आधारमा गएको कात्तिक ८ गतेबाट विज्ञापन ऐन–२०७६ नेपालमा लागु भएको छ ।

क्लिफिड लागू भएसँगै सुरुवाती चरणमा कतिपय विदेशी च्यानलको नेपालमा प्रसारण नै रोकिन पुगेको थियो । त्यसमध्ये धेरैजसो च्यानल हाल प्रसारण आएको भएतापनि केही च्यानल भने सधैंको लागि बन्द भएका छन् ।

यसरी क्लिनफिडले विदेशी च्यानलमा बज्ने विज्ञापन रोकेको भएतापनि सोही कानूनको अर्को प्रावधान भने अझै कार्यान्वयनमा आउने सकेको छैन । विज्ञापन ऐनमा नेपामा विदेशी विज्ञापनलाई डबिङ गरेर बजाउने नपाइने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ६ मा भनिएको छ, ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइनेछैन ।’ यसरी ऐनमै नेपाली च्यानलले डबिङ विज्ञापन बजाउन नपाउने भनी उल्लेख गरेको भएतापनि ऐन लागू भएको दुई महिना बितिसक्दा समेत उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन ।

अझै पनि धेरै नेपाली च्यानलमा विदेशी डबिङ विज्ञापन बजिरहेका छन् । अर्थात् भारतीय कलाकारले खेलेको विज्ञापनमा नेपाली भाषा प्रयोग गरेर बजाइरहेको विज्ञापन प्रसारण हुने गरेकाे छ ।

दुई महिना बितिसक्दा पनि यसरी खुलेआम डबिङ विज्ञापन बज्नु सरकारको कमजोरी भएको व्यवसायी बताउँछन् । एक व्यवसायीले भने, ‘सरकार कानून ल्याउँछ तर, त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने कुरामा सधै चुक्दै आएको छ । हाेइन भने सरकारले यसको अनुगमन गरेर तत्कालै यसलाई बन्द गर्न निर्देशन दिन सक्छ ।’

अर्कोतर्फ सञ्चार तथा सूचा प्रविधि मन्त्रालयका सह–सचिव तथा विज्ञापन ऐन–२०७६ को प्रावधान अनुसार सरकारले गठन गरेको विज्ञापन बोर्डका अध्यक्ष डिल्लीरमण शर्मा भन्छन, ‘ऐनले नेपाली टेलिभिजनमा डबिङ विज्ञापन बजाउन नपाउने भनेको छ । त्यहीअनुसार हामीले सबैलाई जानकारी गराउने काम गरिरहेका छौं ।’

यदि त्यसरी जानकारी गराउँदा पनि यस्ता खालका क्रियाकलाप भइरहेको पाइएमा यसमा अनुगमन गरिने र त्यस्ता विज्ञापन बजेको पाइएमा कारबाही गरिने शर्माले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०