close

शुक्रबारदेखि अवैध माेबाइलकाे आयात बन्द, व्यवसायीमा उत्साह

अर्पना आले मगर अर्पना आले मगर

असार ३०, २०७८ १३:६

शुक्रबारदेखि अवैध माेबाइलकाे आयात बन्द, व्यवसायीमा उत्साह

काठमाडौं । शुक्रबारदेखि सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने तयारी गरेकाे छ । याेसँगै मोबाइलको अवैध आयातमा रोक लाग्ने विश्वास सरोकारवालाले राखेका छन् ।

मोबाइल आयातलाई नियमन गर्न दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सञ्चालनमा ल्याउँदै छ । त्यसपछि भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुने जनाइएको छ ।

याे प्रणाली लागू भएपछि चोरी/पैठारीको काम ठप्प हुने मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मल्होत्रा बताउँछन् । उनका अनुसार एक वर्षमा करिब १२ अर्ब रुपैयाँदेखि १५ अर्ब रुपैयाँसम्मको मोबाइल अवैध हिसाबले आयात भइरहेको छ ।

नेपालमा हरेक वर्ष करिब ४० अर्ब रुपैयाँ हारहारीको मोबाइल आयात हुने गरेको छ । ‘एमडीएमएस लागू हुने बित्तिकै मोबाइलको अवैध आयात पूर्णरुपमा नै बन्द हुनेछ भने त्यस्ता व्यक्तिहरू पनि करको दायरामा आउनेछन् । यसले वैधानिक व्यावसायीलाई मात्र होइन, सरकारलाई पनि धेरै सहयोग पुग्नेछ,’ उनले भने ।

सरकारको राजश्व सङ्कलनमा पनि याे प्रणालीले मद्दत पुग्ने उनले बताए । ‘धेरैअगाडि नै हुनुपर्ने यो कुरा सरकारले आज आएर लागू गर्ने तयारी गरेकाे छ । ढिलै भए पनि यो नियमले सरकार, आयातकर्ता, व्यावसायी र उपभोक्ता सबैलाई राम्रो हुने विश्वास छ,’ उनले भने ।

एमडीएमएस लागू भएर अवैध आयात रोकिँदा उपभोक्ताहरू मूल्यमा ठगिनबाट बच्ने मात्र होइन, उपभोक्ताले सही सामान खरिद गर्न पाउने विश्वास व्यक्त गर्छन् रियलमी नेपालका ब्रान्ड म्यानेजर धिरेन्द्र कुशवाह ।

एमडीएमएसको कार्यन्वयनले सरकार र आयातकर्तासँगै सबैभन्दा बढी उपभोक्ता नै लाभान्वित हुने उनी बताउँछन् । ‘अवैध आयात बन्द हुने वित्तिकै वैधानिक आयातकर्ताहरूको आयातको संख्या बढ्न जादाँ त्यसले रिटेल मूल्यमा धेरै फरक पर्न जान्छ । यसले मोबाइलको मूल्य बजारमा सस्तो पनि हुनसक्छ,’ उनले भने ।

यद्यपि यो नियम लागू गर्न नियामक निकायको ठूलो भूमिका रहने भन्दै कुशवाहले प्राधिकणले एमडीएमएसको उचित कार्यन्वयन गरेमा मोबाइलको अवैध आयात केही महिनाभित्र नै ठप्प हुने विश्वास व्यक्त गरे ।

टर्की लगायत अन्य देशले पनि यो नियम लागू गरेकै कारण धेरै फाइदा भएको उनले बताए । प्राधिकरणको यो निर्णयले व्यावसायीहरू निकै नै उत्साहित रहेको पनि उनले बताए ।

व्यापारीहरूले लामो समयदेखि यो नियम लागू गर्नका लागि गरेको प्रयासका कारण यसले व्यापारीहरूलाई उत्साहित बनाएको टेलिटकको सीईओ सन्जय अग्रवालले बताए ।

साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना लाग्ने भन्दै प्राधिकर‌णले आफ्नो तर्फबाट काम गरिरहेको र सरोकारवालाहरू यो नीतिसँग उत्साहित भएको उनले जनाए ।

‘प्राधिकरण र संघको यस विषयमा धेर छलफल पनि भइरहेको छ । हाम्रा धेरै सुझावहरू सम्बोधन गर्दै प्राधिकरणले काम गरिरहेकाले हामी सन्तुष्ट नै छौं,’ उनले थपे ।

त्यस्तै जीनेक्स्टका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले सरकारलाई धेरै फाइदा हुने बताउँदै ३५ प्रतिशत सामानहरू, जुन अहिले ग्रे मार्केटबाट आउने गर्‍थ्यो, अब त्यो बन्द हुने बताए ।

‘मान्छेले बोकेर ल्याउने, उपहार भनेर मोबाइल भित्र्याउने जस्ता कामहरू पनि बन्द हुनेछ । यसको अर्थ वैधानिक मोबाइलको विक्री बढ्छ,’ उनले भने, ‘चोरीको अथवा अवैध तरिकाले भित्र्याइएको मोबाइलमा सामानहरू नक्कली पर्न सक्ने सम्भवाना पनि उत्तिकै रहने भएकाले एमडीएमएसले यस्ता कार्यलाई रोकेर उपभोक्तालाई क्वालिटीको सामान खरिदमा मद्दत गर्दछ ।’

साउन १ गतेबाट सुरु हुने भनिए पनि प्राधिकरणले भने एमडीएमएसकाे तयारी पूर्ण रुपमा सम्पन्न हुन नसकेका कारण यसका लागि थप केही समय लाग्ने बताएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवाप्रदायकको सिस्टममा इन्ट्रिगेट गर्न पनि बाँकी छ । यसको अर्थ अवैध मोबाइल ब्लक गर्न थप दुई/तीन महिना लाग्न सक्ने बताइएको छ ।

के तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुहोस्

याे पनि पढ्नुहाेस् : के आईएमईआई नम्बरबाट मोबाइल ह्याक सम्भव छ ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३