close

नक्कली अकाउन्टमा द्विधा उत्पन्न भएपछि एलन मस्कले थाँती राखे ट्वीटर खरिद गर्ने प्रकृया

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १८:५२

नक्कली अकाउन्टमा द्विधा उत्पन्न भएपछि एलन मस्कले थाँती राखे ट्वीटर खरिद गर्ने प्रकृया

काठमाडौं । एलन मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्ने प्रकृया हाललाई स्थगित भएको छ । रोयटर्सको समाचार ट्वीटरमा शेयर गर्दै उनले ट्वीटरको स्वामित्व लिने प्रकृया अस्थायी रूपमा स्थगित भएको बताएका छन् ।

ट्वीटरको नक्कली र स्पाम अकाउन्टहरूको बारेमा रिपोर्ट सार्वजनिक भएपछि उनले यस्तो ट्वीट गरेका हुन् । रोयटर्समा प्रकाशित समाचार अनुसार ट्वीटरले नक्कली वा स्पाम अकाउन्टहरू मनिटाइजेबल डेलि एक्टिभ युजर (एमडीएयू) को ५ प्रतिशत भन्दा पनि कम रहेको आँकलन गरेको छ ।

ट्वीटरमा एमडीएयूलाई मनिटाइज गर्नको लागि योग्य सक्रिय प्रयोगकर्ताहरूको रुपमा बुझ्ने गरिन्छ । नक्कली अकाउन्ट भएका प्रयोगकर्ता यस्ता प्रयोगकर्ताहरूको कुल सङ्ख्याको पाँच प्रतिशत भन्दा पनि कम रहेको कम्पनीले बताएको हो । 

यसैबीच ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिने सम्झौता गरेका टेस्लाका सीईओ एलन मस्क भने कम्पनीको यो आँकडामा थप अध्ययन गर्न चाहन्छन् । 

‘ट्वीटर सम्झौता अस्थायी रूपमा होल्ड गरिएको छ । स्पाम र नक्कली अकाउन्टहरू पाँच प्रतिशतभन्दा कम छन् भन्ने कुराको गणनाको थप विवरण हेर्न बाँकी नै छ ।,’ उनले आफ्नो ट्वीट गर्दै भनेका छन् ।

ट्वीटरले दिएको यो तथ्याङ्क अनुमानित मात्र भएको हुँदा वास्तविक सङ्ख्या त्यसभन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।  केही समय अगाडि मस्कले ट्वीटरबाट नक्कली अकाउन्टहरू पूर्ण रुपमा हटाउने अभिव्यक्ति दिएका थिए । यसैबीच एलन मस्कका ट्वीटर फलोअरमध्ये आधा ‘फेक’ भएको समाचारहरू समेत बाहिरिएका थिए । 

ट्वीटरले सार्वजनिक गरेको रिपोर्टमा मस्कसँगको सम्झौता पूरा नभएसम्म कम्पनीले विभिन्न चुनौतीहरूको सामाना गर्नुपर्ने पनि उल्लेख गरेको छ । ती चुनौतीहरूमा विज्ञापनदाताहरूले ट्वीटरमा गर्ने खर्च जारी राख्ने छन् वा छैनन् भन्ने विषय पनि जोडिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२