close

समाचार आएपछि प्रमाण मेटाउँदै बेटिङ प्लेटफर्म ‘एनईसी निजमेगन’

टेकपाना टेकपाना

फागुन १९, २०८० ९:५५

समाचार आएपछि प्रमाण मेटाउँदै बेटिङ प्लेटफर्म ‘एनईसी निजमेगन’

 

काठमाडौं । समाचार आएपछि अवैध सट्टेबाजी प्लेटफर्म ‘एनईसी निजमेगन’ले प्रमाण मेटाउन थालेको छ । शुक्रबार टेकपानामा समाचार प्रकाशित भएपछि निजमेगनले प्रमाण मेटाउन थालेको हो । 

अनलाइन लगानीका नाममा नेपाली प्रयोगकर्ताबाट करोडौं उठाएर गायब भएको प्लेटफर्म फिफियाजस्तै यो प्लेटफर्मले पनि टेलिग्राममा व्यापक प्रचार गरिरहेको थियो । फिफियाकै नामबाट सञ्चालन भएको टेलिग्राम च्यानलको नाम परिवर्तन गरेर नयाँ नाम राखेको पाइएको थियो । 

त्यस्तै अवैध सट्टेबाजीका लागि नेपाली वालेट तथा बैंकका विवरणहरू खुलेआम राखिएको थियो । ती वालेटमा प्रयोग भएको मोबाइल नम्बर र सञ्चालकको नाम उल्लेख थियो । प्रयोगकर्तालाई त्यहाँ राखिएकामध्ये कुनै एक माध्यमबाट रकम लोड गर्न भनिएको थियो । त्यसरी रकम लोड गरिसकेपछि स्क्रिनशट पठाउन लगाएर उक्त एपमा भनेको जति रकम पठाउने आश्वासन दिइएको थियो । अहिले भने ती सबै वालेट र बैंकको विवरण हटाइएको छ ।

उक्त एपको डिपोजिट अप्सनमा गयो भने कि यूएसडीटीमार्फत नत्र स्थानीय नेपालका वालेटबाट उक्त प्लेटफर्ममा जम्मा गर्न सकिने भनिएको छ ।

नेपालका स्थानीय वालेट लेखेको सेक्सनमा भने अधिकांश नेपालका बैंक तथा वित्तीय संस्थाको लोगो राखिएको छ । तर, डिपोजिटको अप्सनमा गएर रकम छान्ने हो भने वालेट एड्रेस राखिएको देख्न सकिन्छ । उक्त वालेट एड्रेसको सेक्सनमा नयाँ टेलिग्राम च्यानलको लिङ्क राखिएको छ । सो लिङ्कमा क्लिक गर्ने हो भने टेलिग्राममा रहेको यो प्लेटफर्मको बट अकाउन्ट खुल्छ । त्यसमै च्याट गरेर रकम डिपोजिट गर्ने प्रक्रियाबारे थाहा पाउन सकिने बताइएको छ ।  

यसअघि प्रचारका लागि नाम परिवर्तन गरेर राखिएको निजमेगनको टेलिग्राम ग्रुप गायब भएको पाइएको छ । उक्त ग्रुपको लिङ्कमा जाने हो भने ‘युजर नट फाउन्ड’ भन्ने सूचना देखिन्छ । त्यस्तै फिफिया (टिम असिस्टेन्ट) नाम भएको अर्को टेलिग्राम च्यानलबाट पनि निजमेगनले ग्रुप लिभ गरेको छ । झन्डै १० हजार बढी प्रयोगकर्ता जोडिएका उक्त ग्रुपलाई पनि उनीहरूले नयाँ प्लेटफर्मको प्रचारका लागि प्रयोग गरेको देखिएको थियो । 

सम्बन्धित समाचार

नेपालीलाई ठगी गर्न फिफियाको शैलीमा नयाँ बेटिङ प्लेटफर्म ‘एनईसी निजमेगन’ सक्रिय

पछिल्लो अध्यावधिक: फागुन १९, २०८० ९:५५