close

आईफोन १६ मा आउँदैछन् यस्ता नयाँ फिचर

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १५:४६

आईफोन १६ मा आउँदैछन् यस्ता नयाँ फिचर

काठमाडौं । एप्पलको डेभलपर कन्फ्रेसको मिति नजिकिँदा धेरैलाई आईफोन १६ बारे चासो बढ्दै गइरहेको छ । किनकी आईफोन १६ मा एआईका फिचर आउनेदेखि प्रतिस्पर्धी अन्य ब्रान्डका फ्ल्यागशीप फोनलाई पछि पार्नेसम्मका अनुमान गरिएका छन् ।

विभिन्न समयमा बाहिरिएका सूचना अनुसार आईफोन १६ मा एप्पलले ब्याट्री र चिपसेटमा अपडेट गर्ने छ  । आईफोन १६ लाई लिएर यी बाहेक अन्य सूचना पनि बाहिरिएका छन् । आज हामी एप्पलले आईफोन १६ मा ल्याउन सक्ने नयाँ परिवर्तनबारे चर्चा गर्ने छौं:

आईओएस १८ 

आईफोन १६ को मुख्य आकर्षणमध्ये आईओएस १८ एक हो । अहिले यसमा आउन सक्ने फिचरलाई लिएर विभिन्न हल्ला फैलिएका छन् ।

आईफोन १६ मा एआई फिचर ल्याउन पनि यो अपरेटिङ सिस्टम जरुरी छ । आईओएस १६ सँगै भरपूर एआई फिचर आउने निश्चित छ । यसमा सजिलै कस्टमाइज गर्न मिल्ने होम स्क्रिन हुने, भिजुअल अपग्रेड हुने, एसेसिबिलिटी सुधार गरिएको हुने सम्भावना छ । 

एआई फिचर 

स्मार्टफोनको सन्दर्भमा एआई नयाँ विषय हो । तर पिक्सेल ८ र ग्यालेक्सी एस २४ जस्ता फोनमा एआई फिचर आइसकेका छन् । जुन एप्पलको प्रतिद्वन्द्वी कम्पनीका स्मार्टफोन हुन् । त्यो मानेमा एप्पल केही पछाडि छ । तर अब आईफोन १६ बाट एप्पल पनि उही दौडमा सामेल हुने देखिन्छ । 

विशेषगरी एप्पलको भोइस असिस्टेन्ट सिरी र एप स्टोरमा एआई एकीकृत हुन सक्छ । यसअघि नै एप्पलले इन्टरनेट बिना एआई काम गर्न सक्ने मोडेल सार्वजनिक गरिसकेको छ ।

साथै विभिन्न एआई कम्पनीहरूलाई अधिग्रहण गर्ने तथा एआई कम्पनीसँग कुराकानी गर्ने काम पनि गरिरहेको छ । एप्पलका यी यस्ता गतिविधिले आईफोन १६ मा एआई फिचर आउने करिब निश्चित भएको बुझ्न सकिन्छ । 

सुधारिएको क्यामेरा प्रोसेसिङ

कुनै सन्देह छैन, क्यामेरामा आईफोन अब्बल छ । धेरै फोटोग्राफरले समेत फोटो खिच्नका लागि आईफोन सुझाउने गर्छन् । यद्यपि आईफोन १६ मा अझै सुधारिएको क्यामेरा प्रोसेसर आउन सक्छ । विशेषगरी आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा यो विशेषता हुन सक्छन् । 

अहिलेका एप्पलको प्रतिद्वन्द्वी कम्पनीका फ्ल्यागशिप फोनले पनि उत्कृष्ट गुणस्तर भएको फोटो खिच्ने गर्छन् । अर्कोतर्फ फिल्म मेकिङमा समेत आईफोनलाई प्रयोग गर्न एप्पलले जोड दिइरहेको छ । यसमा राम्रो गर्न एप्पलले झनै सुधारिएको क्यामेरा प्रोसेसिङ राख्न सक्छ । 

१२० हर्जको रिफ्रेस रेट 

एप्पल त्यस्तो ब्रान्ड हो, जसले महँगो मूल्यमा ६० हर्जको रिफ्रेस रेट भएको फोन बेच्ने गर्छ । आईफोनमाथि धेरैले गुनासो गर्ने यो एउटा विषय पनि हो । अहिलेका बजेट स्मार्टफोनमा पनि ९० हर्ज देखि १२० हर्जसम्म रिफ्रेस रेट हुने गर्छन् ।

त्यसो हुँदा एक प्रकारको दबाब पनि एप्पलमा रहेको छ । अहिलेसम्म एप्पलले यस विषयमा केही जानकारी दिएको छैन । तथापि अबका वर्षमा आईफोन १६ लाई उत्कृष्ट मोडेल बनाउन एप्पलले १२० हर्जको रिफ्रेस रेट दिनै पर्ने बाध्यता छ । 

बढी क्षमता भएको 

ब्याट्री आईफोनमा रिफ्रेस रेट जस्तै ब्याट्री अर्को गुनासो गर्ने ठाउँ हो । एप्पलले आईफन १५ मा जम्मा तीन हजार ३३९ एमएएच क्षमताको ब्याट्री राखेको थियो । जुन ग्यालेक्सी एस २४ मा राखिएको ४००० एमएएचभन्दा सानो हो । अहिलेका धेरै स्मार्टफोनमा अलि बढी क्षमताको ब्याट्री राखिने गरिन्छ ।

यद्यपि एप्पलको ब्याट्री कम क्षमताको भए पनि ती लामो समय टिक्न सक्छ्न् । त्यसको अर्थमा आकारले मात्र ब्याट्रीको क्षमता निर्धारण गर्दैन ।

तर अहिलेको परिस्थिति हेर्दा एप्पलले ब्याट्रीको क्षमता भने बढँउन सक्छ । यस अघि आईफोन १६ मा तीन हजार ५६१ एमएएच क्षमताको ब्याट्री हुने सूचना बाहिरिएको थियो ।

पछिल्लो चिपसेट 

आईफोन १६ मा नयाँ चिपसेट हुनेमा त करिब निश्चित छ । किनकी एआई फिचर दिन भए पनि एप्पलले नयाँ चिपसेट राख्नेछ । तर गत वर्षमा आईफोन १५ का सामान्य मोडेलमा एप्पलले पुरानै चिपसेट राखेको थियो । अहिले एप्पलको पछिल्लो चिपसेट ए१७ हो । यदि गत वर्षको जस्तै एप्पलले पुरानै चिपलाई पनि जारी राखे प्रो मोडेलमा भने नयाँ चिपसेट हुनेछन् । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ ११:१२