close

नेपाली बजारमा आईफोन १५ सिरिजको बिक्री सुरु, आईफोन १५ प्रो म्याक्सको मूल्य ३ लाख ९५००

टेकपाना टेकपाना

असोज २६, २०८० १३:३८

नेपाली बजारमा आईफोन १५ सिरिजको बिक्री सुरु, आईफोन १५ प्रो म्याक्सको मूल्य ३ लाख ९५००

काठमाडौं । नेपाली बजारमा शुक्रबारदेखि आईफोन १५ सिरिज उपलब्ध भएकाे छ । आईफोन १५ सिरिज सार्वजनिक भएसँगै एप्पल वितरकहरूले विभिन्न अफरको घोषणा गरेका छन् ।

एप्पलको वितरकमध्येको एक ईभो स्टोरले आगामी बिहीवारसम्म आईफोन १५ सिरिजको फोन खरिद गर्ने प्रयाेगकर्तालाई २० वाटको एप्पल यूएसबी-सी चार्जर र टेम्पर्ड ग्लास निःशुल्क उपलब्ध गराउने भएको छ ।

त्यस्तै एप्पलको अर्को वितरक ओलिज स्टोरले पनि आईफोन १५ सिरिजमा विभिन्न अफर ल्याएको छ । यस अनुसार आईफोन १५ र आईफोन १५ प्लस खरिद गर्ने प्रयोगकर्तालाई २० वाटको एडप्टर वा जेसीपलको स्क्रिन प्रोटेक्टर र कभर उपलब्ध गराइने छ ।  त्यस्तै आईफोन १५ प्रो र १५ प्रो म्याक्स खरिदमा प्रयोगकर्ताले २० वाटको एडप्टर र जेसीपलको स्क्रिन प्रोटेक्टर वा आठ हजार ५०० रुपैयाँ पर्ने जेबीएल क्लिप फोर स्पिकर वा १० हजार ५०० रुपैयाँ पर्ने १० हजार एमएएच क्षमताको आडम इलिमेन्ट्स ग्र्याभिटी टु पावर बैंक उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै जेनेरेसन नेक्स्टले आईफोन १५ सिरिजका सबै मोडेल खरिदमा २० वाट क्षमताकाे एडप्टरका साथै स्क्रिन प्रोटेक्टर र कभर उपलब्ध गराउने बताएको छ । त्यस्तै एनआईएमबी बैंक, ग्लोबल आईएमई बैंक र एभरेस्ट बैंकसँग सहकार्य गरेर शून्य डाउन पेमेन्टमा यी चार ओटै मोडेल उपलब्ध गराउने बताएको छ ।

वितरकहरूले यी अफर पहिलो चरणका लागि मात्रै उपलब्ध गराउन लागेका छन् । त्यस्तै आईफोन १५ सिरिज खरिदमा एक वर्षको एप्पल वारेन्टी, एक वर्ष थप वारेन्टी र एक पटक स्क्रिन रिप्लेसमेन्ट वारेन्टी दिइएकाे छ ।

आईफोन १५ अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ५७ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ७६ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख १४ हजार रुपैयाँ ताेकिएको छ ।

त्यस्तै आईफोन १५ प्लस अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ७६ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको एक लाख ९५ हजार र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यसैगरी आईफोन १५ प्रो अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९५ हजार, २५६ जीबी स्टोरेज भेरियन्टको दुई लाख १४ हजार, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ५३ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ९० हजार रुपैयाँ रहेको छ ।

आईफोन १५ प्रो म्याक्स अन्तर्गत २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख ३३ हजार रुपैयाँ, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य दुई लाख ७१ हजार र १ टीबी स्टोरेज भेरियन्टको मूल्य तीन लाख ९५०० रुपैयाँ ताेकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १३:५१