close

अबको दुई हप्तामा सार्वजनिक हुँदै आईफोन १५, के-के होलान् फिचर ?

टेकपाना टेकपाना

भदौ ११, २०८० १३:५१

अबको दुई हप्तामा सार्वजनिक हुँदै आईफोन १५, के-के होलान् फिचर ?

काठमाडौं । एप्पलको आईफोन १५ सिरिज सार्वजनिक हुने मिति नजिकिँदै छ । त्यससँगै याे सिरिजका विभिन्न जानकारी लिक भएका छन् । विशेषगरी आईफोन १५ कुन-कुन कलरमा उपलब्ध हुन्छ, र्‍याम र स्टोरेज कति छ, डिजाइन कस्तो हुन्छ, प्रोसेसर, ब्याट्री तथा चार्जिङ प्रविधि कस्तो हुन्छ भन्ने जानकारी लिक भएका छन् ।

आज हामी विभिन्न अन्तर्राष्ट्रिय स्रोतमा बाहिरिएका सूचनाका आधारमा आईफोन १५ को विशेषताको चर्चा गर्दैछौं:

आईफोन १५ सार्वजनिक हुने मिति 

यसो त हालसम्म एप्पलले आईफोन १५ लाई लिएर कुनै पनि आधिकारिक घोषणा गरेको छैन ।

लिकरले सार्वजनिक गरेको सूचनाको आधारमा सेप्टेम्बर १२ वा १३ तारिखमा सार्वजनिक हुने सम्भावना उच्च छ । त्यस्तै सेप्टेम्बर २२ देखि आईफोन बिक्री खुला हुन सक्नेछ । 
 

आईफोन १५ का मोडेल 

एप्पलले हरेक वर्ष एउटा लाइनअप अन्तर्गत चार मोडेल सार्वजनिक गर्दै आएको छ । यो वर्ष पनि कम्पनीले चार ओटा मोडेल सार्वजनिक गर्ने अनुमान छ । 

आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल उपलब्ध हुनेछन् । केही लिकरले प्रो म्याक्सको सट्टामा अल्ट्रा मोडेल हुने दाबी पनि गरेका छन् । 

आईफोन १५ को डिजाइन

विभिन्न सूचना र लिकरहरूले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन १५ को डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको छैन । आईफाेन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आइल्यान्ड फिचर आईफोन १५ का सबै लाइनअपमा हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई विशेष बनाउन एप्पलले टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल राख्न लागेको लिकरले उल्लेख गरेका छन् । अन्य मोडेलभन्दा यी दुई मोडेलको बेजल पातलाे हुने बताइएको छ । 

आईफोन १५ को कलर 

आईफोन १५ र आईफोन १५ प्लस एउटै कलरमा उपलब्ध हुनेछन् । विशेषगरी मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र प्रो म्याक्स मोडेल भने टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा उपलब्ध हुने बताइएको छ ।

आईफोन १५ प्रोसेसर

एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए१६ बायोनिक चिपसेट अब आईफोन १५ र आईफोन १५ प्लस उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्समा भने एप्पलको नयाँ प्रोसेसर ए१७ बायोनिक चिप रहनेछ ।

आईफोन १५ र्‍याम तथा स्टोरेज

आईफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो । तर, ८ जीबी र्‍याम उपलब्ध गराउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । 

आईफोन १५ को क्यामेरा 

क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स हुनेछ । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ ।

आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स रहनेछ ।

यी सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने लिकरले उल्लेख गरेका छन् ।​ 


आईफोन १५ ब्याट्री र चार्जिङ

यसो त एप्पलले ब्याट्री क्षमताको बारेमा त्यति जानकारी दिँदैन । तर, लिकरहरूले विभिन्न स्रोतबाट नयाँ मोडेलमा हुने ब्याट्री क्षमता लिक गरिरहेका हुन्छन् । उनीहरूका अनुसार आईफोन १५ मा ३८७७ एमएएच क्षमताको ब्याट्री हुनेछ भने १५ प्लसमा ४९१२ एमएएच क्षमताको ब्याट्री हुनेछ । 

आईफोन १५ प्रोमा ३६५० एमएएच र आईफोन १५ प्रो म्याक्समा ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ । यी दुई मोडेलमा मात्र यूएसबी-सी पोर्ट उपलब्ध हुने सम्भावना छ । 

आईफोन १५ को मूल्य 

आईफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ ।

लिक गर्ने विभिन्न स्रोतलाई आधार मान्ने हो भने आईफोन १५ को मूल्य ७९९ डलर, आईफोन १५ प्लसको मूल्य ८९९ डलर, आईफोन १५ प्रोको मूल्य १०९९ डलर र आईफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरबाट सुरु हुने छ ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८० १४:३