close

धेरै नक्कली प्रयोगकर्ता रहेको भन्दै एलन मस्कले गरे ट्वीटर नकिन्ने घोषणा

टेकपाना टेकपाना

असार २५, २०७९ ७:४१

धेरै नक्कली प्रयोगकर्ता रहेको भन्दै एलन मस्कले गरे ट्वीटर नकिन्ने घोषणा

काठमाडौं । एलन मस्कले ट्वीटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका छन् । विश्वका सर्वाधिक धनाढ्य मस्कले गत अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटर डिलको सम्झौता गरेका थिए ।

तर स्पाम र नक्कली अकाउन्ट संख्याको पर्याप्त जानकारी दिन ट्वीटर असफल भएको र सम्झाैता उल्लेख गरिएका अरू नियमहरू पनि ताेडेकाे आरोप लगाउँदै मस्क कम्पनी खरिदबाट पछि हटेका हुन् ।

उनले खरिद प्रक्रियाबाट पछि हटेकाे जानकारी वकिलमार्फत यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा पठाएका छन्, जसमा ट्वीटरले प्रयोगकर्ताको जानकारी दिन अस्वीकार गरेकाे दाबी गरिएकाे छ ।

मस्क खरिद सम्झौताबाट पछि हटेपछि ट्वीटरले उनीमाथि मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ । ट्वीटर बोर्डका अध्यक्ष ब्रेट टेलरले खरिद प्रक्रिया पूरा गर्न ट्वीटर प्रतिबद्ध रहेको र कानूनी कारबाहीमा आफूहरुको जीत हुने बताएका छन् ।

गत मे महिनामा मस्कले ट्वीटरसँगको सम्झौता अस्थायी रूपमा होल्डमा रहेको जानकारी दिँदै ट्वीटरमा नक्कली र स्पाम अकाउन्टहरूको डेटा पर्खिरहेका थिए ।

मस्कले ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी प्राप्त गर्ने प्रयास गर्दै आएका छन् । ट्वीटरले नक्कली अकाउन्ट पाँच प्रतिशतभन्दा कम रहेकाे बताएपनि मस्कले याे संख्या अझै बढी हुनसक्ने धारणा राख्दै आएका थिए ।

मस्कले बारम्बार बिना कुनै प्रमाण ट्वीटरमा असङ्ख्य बट (स्वचालित सफ्टवेयर प्रणालीबाट अकाउन्ट सञ्चालन) रहेको दाबी गर्दै आएका छन् ।

यता बिहीबारमात्रै ट्वीटरले एक सूचना जारी गर्दै हरेक दिन लगभग १० लाख स्पाम अकाउन्ट हटाइरहेको जानकारी दिएको थियो ।

मस्कले नक्कली अकाउन्टलाई आधार बनाई ट्वीटर डिलबाट पछि हट्ने घोषणा गरेपनि अन्य कारण पनि हुनसक्ने विश्लेषण गरिएको छ ।

अहिले टेस्लासहित ठूला प्रविधि कम्पनीहरूको स्टक बजारमूल्य लगातार घटिरहेको अवस्थामा मस्कको ट्वीटर डिलबाट पछि हट्नुलाई विशेष महत्वका साथ हेरिएको छ ।

मस्कले ट्वीटर नकिन्ने समाचार बाहिरिएपछि ट्वीटरकाे शेयरमा ६ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३