close

अनलाइन लगानीको नाममा सोझा नेपाली ठग्ने अनलाइन प्लेटफर्म, यसरी मौलाउँदै छ नेटवर्किङ सट्टेबाजी

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २९, २०८० १९:३९

निजमेगनबाट टेलिग्राममा सार्वजनिक गरिएको 'मिटअप प्रोग्राम विथ मेम्बर' कार्यक्रमको फोटो निजमेगनबाट टेलिग्राममा सार्वजनिक गरिएको 'मिटअप प्रोग्राम विथ मेम्बर' कार्यक्रमको फोटो

 

काठमाडौं । अनलाइन लगानीका नाममा नेपाली प्रयोगकर्ताबाट करोडौं उठाएर गायब भएको फिफिया जस्तै अवैध सट्टेबाजी प्लेटफर्म निजमेगन पुनः सक्रिय भएको छ । टेकपानामा समाचार आएपछि केही समय बन्द भएको सो प्लेटफर्म भित्रभित्रै पुनः सक्रिय भएको पाइएको हो । 

सर्वसाधारण नेपालीलाई विभिन्न किसिमका आश्वासन दिंदै यो प्लेटफर्मले नेपालमा आफ्नो जालो विस्तार गरिरहेको छ । यसअघि फिफियामा करोडौं गुमाएका पीडितका अनुसार यो प्लेटफर्म त्यसरी नै नेटवर्किङ शैलीमा मौलाइरहेको छ । 

के हो निजमेगन, अनि किन अवैध छ नेपालमा ?

‘एनईसी निजमेगन’ नाम दिइएको यस प्लेटफर्मले सबैभन्दा पहिले आफ्नो सञ्जाल टेलिग्राममा विस्तार गरेको थियो । यसअघि ‘फिफिया’ नाम भएकै च्यानलको नाम परिवर्तन गरेर नयाँ नाम राखी ग्रुप सञ्चालन गरिएको थियो । त्यही ग्रुपबाट नयाँ प्रयोगकर्ताले यो प्लेटफर्मको बारेमा थाहा पाएका थिए । 

फिफिया बन्द भएपछि त्यही समूहले नेपाली प्रयोगकर्तालाई नै लक्षित गरेर तयार पारेको यो प्लेटफर्म १० फेब्रुअरी २०२४ मा दर्ता भएको ‘हु इज लुकअप’ले देखाएको छ । 

हु इज डकटम’मा यो वेबसाइटको नाम सर्च गर्ने हो भने प्रायः जानकारी गलत राखेको देख्न सकिन्छ । किनभने त्यहाँ उल्लेख भएको सहर, स्ट्रिट, फोन नम्बर र अन्य विवरण छ्यासमिस अक्षरमा राखिएको छ । त्यस्तै वेबसाइटको एक्सटेन्सन पनि चिरपरिचित शब्द नभई ‘डट सीसी’ छ । 

उनीहरूले निजमेगन नाम दिएर सञ्चालनमा ल्याएका विभिन्न टेलिग्राम च्यानलमा झन्डै २० हजार बढी सदस्य जोडिएका छन् । यद्यपि ती टेलिग्राम च्यानल जुनसुकै बेला बन्द हुन सक्छन् । 

यसअघि फिफियाबाट झन्डै ५० हजार रुपैयाँ ठगिएका एक पीडित टेकपानाको सम्पर्कमा आएका छन् । “मैले पनि फिफियामा नबुझेरै लगानी गर्दा खोज्दा ५० हजार रुपैयाँ गुमाएको थिएँ,” उनले भने, “त्यसैले पनि म यो प्लेटफर्मबारे परिचित थिएँ । तर, पछिल्लो समय बन्द भएको निजमेगन फेरि सञ्चालनमा आएको छ । त्यसले अझ मानिसहरूलाई फसाउने तयारी गरेको छ ।” 

यसअघि यो प्लेटफर्म बन्द हुनुअघि उनीहरूले प्रयोगकर्ता प्रभावित पार्न कतै यो प्लेटफर्म बेलायतको न्यायालयमा दर्ता भएको भनेका थिए भने कतै न्यूजिल्यान्डमा दर्ता भएको भन्ने दाबी गरेका थिए । नाम भने नेदरल्यान्डको ‘एनईसी निजमेगन’ क्लबको दुरुस्तै सारिएको देख्न सकिन्छ ।

आधिकारिक जस्तो देखाउन लोगो पनि सोही क्लबको प्रयोग गरिएको छ । त्यसमा पनि कम्पनी स्तरीय हो भन्ने देखाउन यसलाई ट्रेडिङ एड्भाइजर र कमोडिटी पुल अपरेटरका रूपमा एनएफएले मान्यता दिएको दाबी गरिएको छ । 

टेलिग्राम च्याटमा यस कम्पनीलाई फुटबलमा लगानी गर्ने प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । त्यस्तै विभिन्न किसिमका प्रडक्टको विज्ञापन गर्ने र समय समयमा गिभअवे गर्ने आश्वासन दिइएको छ । त्यसमा लगानी गरिएको रकम जुनसुकै बेला निकाल्न सकिने उक्त प्लेटफर्म सञ्चालकको दाबी छ । यसबाट बढीभन्दा बढी फाइदा हुने भन्दै लगानी गर्न प्रेरित गरिएको छ ।  

त्यस्तै उक्त प्लेटफर्मको सञ्चालकले एजेन्ट बन्नेहरूका लागि विशेष तलब सुविधा दिने भनिएको देखिन्छ । टेलिग्राममा राखिएको जानकारी अनुसार ३० जना सदस्य बनाए मासिक २५०० रुपैयाँ हुने भनिएको छ भने ३०० सदस्य बनाउनेलाई मासिक ४० हजार तलब दिइने बताइएको छ । त्यसबाहेक उक्त प्लेटफर्ममा सक्रिय हुने एजेन्टहरूले ल्यापटप तथा अन्य महँगा उपहार पाएको दाबी पनि पीडितहरूको छ ।

प्रयोगकर्तालाई कम्पनी आधिकारिक जस्तो देखाउन प्रमाणपत्र पनि राखिएको छ । जहाँ यो कम्पनी ‘एनईसी होल्डिङ्स लिमिटेड’ को नामबाट २५ अक्टोबर २००६ मा देखाइएको छ । यही प्रमाणपत्रको आडमा कम्पनी प्रमाणित भएको भनिएको छ ।

तर, एनईसी होल्डिङ्स लिमिटेड र यो अवैध प्लेटफर्मको अगाडिको तीन अक्षरबाहेक अरु केही मिल्दैन । उनीहरूले यो प्लेटफर्म आधिकारिक जस्तो देखाउन जुन कम्पनीको प्रमाणपत्र देखाएका छन्, त्यो प्रमाणपत्र न्यूजिल्यान्डको कम्पनी अफिसको वेबसाइट अथवा यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

 

यतिसम्म कि, नेपालीलाई झुक्याउन यो प्लेटफर्म अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको भन्नेसम्मका भ्रम छरिएको छ । नेपालमा भने उनीहरूले दर्ता गरेको त्यस्तो कुनै कागजात देखाएका छैनन् ।

यसअघि फिफियाका सन्दर्भमा ‘फिफिया मिडिया प्रालि’ नामको मिडियाका रूपमा दर्ता गरेर कम्पनी नेपालको आधिकारिक भएको भ्रम फैलाइएको थियो । पछि कम्पनी दर्ता गर्ने महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्ने डरले नै उनीहरूले यसपटक नेपाली कम्पनीका रूपमा यो प्लेटफर्मलाई चिनाएका छैनन् ।  

कसरी हुन्छ कारोबार ?

यस प्लेटफर्मलाई लगानी गर्ने र बेटिङ खेल्न सकिने प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । त्यसमा कसैले पठाएको रेफरल लिङ्कबाट गए लिङ्क पठाउने र अकाउन्ट बनाउने दुवैलाई बोनस आउने भनिएको छ । तर, त्यसबाट आउने बोनस रकम निकै कम राखिएको छ । बढीभन्दा बढी आम्दानी गर्नका लागि प्रयोगकर्ताले बढी नै रकम राख्नुपर्ने भनिएको छ ।

यसमा खुलेआम नेपाली वालेट र बैंकको लोगो राखेर रकम ‍जम्मा गर्न सकिने बताइएको छ । वालेटमा ईसेवा, खल्ती र आईएमई पेबाट र बैंकमा हिमालय बैंक, माछापुच्छ्रे बैंकबाट रकम जम्मा गर्न सकिने भनिएको छ । यसअघि गरिमा बैंक र ज्योती विकास बैंकको खाता नम्बर राखिएको थियो । अहिले भने ती खाता हटाइएको छ । 

वालेटबाट न्यूनतम् एक हजारदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने उल्लेख छ । त्यस्तै बैंक अकाउन्टमा न्यूनतम् १५०० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने भनिएको छ ।

वालेट तथा बैंक अकाउन्टको क्यूआर उपलब्ध गराइएको छ । जसमा सबै अकाउन्टको अकाउन्ट होल्डरको नाम ‘विशाल अली साइ’ भनिएको छ । रकम पठाइसकेपछि स्क्रिनशट चा ट्रान्जेक्सन स्लिप पठाए रकम लोड हुने भन्दै विश्वस्त बनाएको देख्न सकिन्छ । 

यसरी रकम जम्मा गरेको केही समयमै रकम डिपोजिट हुने उनीहरुको भनाइ छ । यहाँ राखिएका जति पनि बैंक अकाउन्ट तथा वालेट छन् यी पनि बारम्बार परिवर्तन भइरहेका हुन्छन् ।  

यो प्लेटफर्मले कसरी ठगी गर्छ ? 

यसो त फिफिया र यो प्लेटफर्मको ठगी गर्ने प्रकृति उस्तै देखिन्छ । प्रयोगकर्तालाई लगानीका नाममा रकम जम्मा गर्न लगाउने, सुरुमा कमिसन पनि उपलब्ध गराउने, अनि जब रकम दोब्बरभन्दा बढी हुने अवस्था आउँछ त्यतिबेला प्लेटफर्म नै बन्द गर्ने । तर, प्रयोगकर्तालाई झुक्याउन यसमा केही नयाँपन देखाइएको छ ।

फिफियामा ४-४ बेटिङ मात्र गर्न मिल्छ भनिएको थियो, जसलाई नेपालको कानूनले सट्टेबाजी नमान्ने दाबी गरिएकाे थियाे । तर, यो प्लेटफर्ममा भने सरासर सबै किसिमका सट्टेबाजीमा रकम राख्न सकिने भन्दै प्रचार गरिएको छ ।

यसमा अकाउन्ट बनाएर हेर्ने हो भने ‘म्याचेज’ (Matches) भन्ने सेक्सन देखिन्छ । त्यसमा थुप्रै क्लबहरूको म्याच हुने समय र लोगो राखिएको देखिन्छ ।

त्यसको तलपट्टि ‘बेट नाउ’ बटन राखिएको छ । त्यसमा क्लिक गर्दा भित्र स्कोर कार्ड जस्तो देखिन्छ । जसमा पछाडि यति प्रतिशत नाफा हुने भनिएको हुन्छ । त्यसमध्ये कुनै अप्सन छान्यो भने बेट भएको देखाइन्छ । र, अन्तिममा जति प्रतिशतले रकम बढ्छ भनिएको छ, रकम त्यति नै बढाएर राखिन्छ । 

यस्तोमा प्रयोगकर्ताले बढी रकम पाउने आशाले बढी लगानी गर्न खोज्ने देखिन्छ । टेलिग्राम च्यानलमा पनि यसका सञ्चालकले पहिले डिपोजिट गरेर बेट गर्न सुझाव दिएका छन् ।  हार हुँदै नहुने भएपछि प्रयोगकर्ता आम्दानी गर्ने आशामा बढी रकम लगानी गर्न प्रेरित हुन्छन् । 

सर्वसाधारण ठग्ने धन्दा

यो प्लेटफर्ममा एजेन्ट भयो भने छुट्टै तलब, तर इन्भिटेसन कोडबाट जोड्यो भने त्यही अनुसारको बोनस पाउने आश्वासन दिइएको छ । तसर्थ अन्य प्रयोगकर्ताले बढी रकम कमाउने आशमा सर्वसाधारणलाई यसमा जोड्न सक्ने देखिन्छ । यो नेटवर्किङभन्दा भिन्नै शैलीमा मौलाउन खोजिरहेको छ । पछिल्लो समय विभिन्न ठाउँमा कार्यक्रम गर्दै यस प्लेटफर्मको चर्को प्रचार भइरहेको छ ।

फिफियाले पनि प्रयोगकर्ता बढाउन यही रणनीति अपनाएको थियो । विशेषगरी पार्टी प्यालेसहरूमा कार्यक्रम गर्ने, त्यहाँ नयाँ प्रयोगकर्तालाई आमन्त्रित गर्ने र लगानी गर्न सिकाउने गरिन्थ्यो । कतिपयले भने 'मैले महिनामै लाखौं कमाएँ' भन्दै गफ पनि दिइरहेका हुन्थे । त्यही लोभमा नयाँ प्रयोगकर्ता त्यस्ता प्लेटफर्ममा जोडिन्थे ।

यतिसम्म कि फिफियाका एजेन्टले सामाजिक सेवाका काम गरेको भन्दै चामल बाँडेर फोटो खिच्ने र त्यसैलाई कार्यक्रममा देखाउँथे । यति भएपछि नयाँ प्रयोगकर्ता त्यसमा जोडिन्थे र ऋण गरेरै भए पनि त्यस प्लेटफर्ममा रकम जम्मा गर्थे । 

निजमेगन पनि यही उद्देश्यले अगाडि बढिरहेको छ । यसको सुरुवाती गतिविधि सबै फिफियाँग मिल्नु, फिफियाकै ग्रुपको नाम परिवर्तन गर्नु, पहिले फिफियाले डुबाएकाहरू आफैं निजमेगनको ग्रुपमा जोडिनुले यो प्लेटफर्म फिफियाकै अंश भएको सङ्केत दिन्छ ।

अवैध जुवाभन्दा पनि यो प्लेटफर्म नेपालीलाई लगानीका नाममा रकम जम्मा गर्न लगाउने र अन्तिममा प्लेटफर्म नै बन्द गरी गायब हुने प्रपञ्च गरेको प्रष्ट देखिन्छ । 

 

 

के भन्छ प्रहरी ? 

यसअघि फिफिया प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सक्रिय रूपमा लागेको थियो । निजमेगनका सन्दर्भमा टेकपानासँग कुरा गर्दै कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले यस विषयमा थप अनुसन्धान अगाडि बढाउने बताएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पनि निजमेगन उपर अनुसन्धान गर्ने बताएका छन् । “हामीलाई प्राप्त जानकारीका आधारमा हामी अनुसन्धान अगाडि बढाउँछौं,” प्रहरी उपरीक्षक बोगटीले भने, “त्यसका लागि प्रमाण सङ्कलन गर्दैछौं ।”

नेपालमा जुवा तथा सट्टेबाजी कार्य प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनमा 'जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ' भनिएको छ । जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ ।

दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।”

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । यद्यपि अन्तर्राष्ट्रिय स्तरबाट मान्यता प्राप्त गरेको भन्दै झुटो आश्वासन दिएर रकम ठगी गर्ने प्रवृत्तिले यो प्लेटफर्म सञ्चालन भइरहेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १९:३९