close

सिजीको इन्ट्रीसँगै इन्टरनेटको प्रतिस्पर्धा नयाँ दिशामा, स्पिड बढाउँदै मूल्य घटाउँदै

टेकपाना टेकपाना

जेठ २८, २०७८ २०:३६

सिजीको इन्ट्रीसँगै इन्टरनेटको प्रतिस्पर्धा नयाँ दिशामा, स्पिड बढाउँदै मूल्य घटाउँदै

काठमाडौं । सिजी इन्टरनेटले बजार मूल्यभन्दा आधा सस्तोमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको इन्ट्रीसँगै सेवाप्रदायकहरु स्पिड बढाउने र मूल्य घटाउने होडमा देखिएका हुन् ।

त्यसो गत पछिल्ला केही महिनादेखि सस्तो मूल्यमा सिजी नेट बजारमा आउने चर्चा चल्न थालेको थियो । त्यससँगै इन्टरनेट सेवाप्रदायकहरुले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थाले ।

वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्‍यो । त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्‍यो ।

उसले ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १०० एमबीपीएस पुर्‍यायो । त्यसलाई समेत काउन्टर दिन क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा गर्‍यो ।

बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ ।

अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् । मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ ।

यति मात्र होइन, डिशहोम फाइबर नेटले अब २०० एमबीपीएस गतिको इन्टरनेट ल्याउने घोषणा गर्न समेत भ्याइसकेको छ । मूल्यका हिसाबले समेत उक्त प्याकेज आकर्षक हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय सरकारी स्वामित्को दूरसञ्चार कम्पनी नेपाल टेलिकम समेत इन्टरनेट सेवाप्रदायकहरुबीचको प्रतिस्पर्धामा उत्रेको छ । फाइबरमा इन्टरनेटसँगै आईपीटिभी र टेलिफोन सेवा दिइरहेको कम्पनीले सँगसँगै मोबाइल डेटा समेत निःशुल्क दिन थालेको छ ।

कम्पनीले भर्खरै मात्र २० एमबीपीएस गति माथिको एफटीटीएच इन्टरनेट प्रयोगकर्तालाई दैनिक ३०० एमबी मोबाइल डेटा निःशुल्क दिने बताएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१