close

२०० एमबीपीएस गतिको इन्टरनेट दिने तरखरमा डिशहोम

टेकपाना टेकपाना

जेठ २५, २०७८ १७:२५

२०० एमबीपीएस गतिको इन्टरनेट दिने तरखरमा डिशहोम

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो ।

यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् । उनका अनुसार नेपालको हकमा २०० एमबीपीएससम्मको इन्टरनेट प्रदान गर्ने डिशहोम नेपालकै पहिलो इन्टरनेट सेवा प्रदायक बन्नेछ । किनभने हालसम्म नेपालमा सबैभन्दा बढी भनेको १२० एमबीपीएसको प्याकेजमात्रै उपलब्ध छ ।

उनका अनुसार अब आउने नयाँ प्याकेजमा १५० देखि २०० सम्मको इन्टरनेट प्याकेज आउनेछ । जुन मूल्यका हिसाबले पनि प्रयोगकर्तामैत्री हुनेछ । हालसम्म डिशहोम फाइबर नेटले ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको थियो ।

पछिल्लो सयम इन्टरनेट सेवाप्रदायकबीच ‘प्राइस वार’ चलिरहेको अवस्थामा त्यसलाई चिर्दै गुणस्तरीय इन्टरनेट सेवा दिने उद्देश्यका साथ २०० एमबीपीएससम्मको इन्टरनेट दिने तयारी भएको आचार्य बताउँछन् ।

उनका अनुसार यसका लागि भारतको सिटी कम्पनीमार्फत इन्टरनेट भित्र्याउनका लागि सम्झाैतासमेत भइसकको छ । हालसम्म डिशहोमले एनसेलमार्फत इन्टरनेट ब्याण्डविथ खरिद गरी सेवा प्रदान गरिहेको थियो ।

देशभर सेवा विस्तारको तयारीमा रहेको डिशहोमले गुणस्तरीय इन्टरनेटकै लागि भारतीय कम्पनीसँग सम्झौता गरेको उनले जनाए ।

डिशहोमको इन्टरनेट सेवा हाल काठमाडौं उपत्यका ९० प्रतिशत ठाउँमा र उपत्यकाबाहिर हेटौडा, इटहरी, इनरूवामा उपलब्ध छ । सन् २०२१ भित्र देशका प्रमुख सहरमा डिशहोम फाइबर नेट विस्तार गरिसक्ने कम्पनीकाे योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१