close

आईओएस १७ अपडेट गर्दा आईफोनमा चाँडै ब्याट्री सकिने समस्या

टेकपाना टेकपाना

असोज ३, २०८० १०:३८

आईओएस १७ अपडेट गर्दा आईफोनमा चाँडै ब्याट्री सकिने समस्या

काठमाडौं । साेमबारदेखि उपलब्ध भएको आईओएस १७ अपडेट इन्स्टल गर्ने प्रयोगकर्ताको आईफोनमा चाँडै ब्याट्री सकिने समस्या देखिएको छ । अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट राख्दै ब्याट्री घट्न थालेको गुनासो गरेका छन् ।

“आईओएस १७ ले कसैको ब्याट्रीमा समस्या निम्त्याएको छ कि ?,” एक्सका एक प्रयोगकर्ताले लेखेका छन्, “आईओएस १७ का कारण ब्याट्री लाइफ खत्तम भएको छ ।”

त्यस्तै अन्य प्रयोगकर्ताले पनि पहिलेको तुलनामा ब्याट्री निकै छिटो घट्न थालेको गुनासो गरेका छन् । आईओएस १७ का आकर्षक फिचर प्रयोग गर्न उत्साहित भएर अपडेट इन्सटल गरेको भए पनि ब्याट्री छिट्टै रित्तिनै समस्याले दिक्क बनाएको उनीहरूकाे गुनासाे छ । 

“जे कारणले म आईओएस १७ अपडेट इन्स्टल गर्न डराएको थिएँ, आखिर त्यही भयो,” अर्का एक प्रयोगकर्ताले लेखेका छन् । 

आईओएस १७ साेमबार रातिदेखि सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइएको थियो । म्याक, क्यामेरा एप, फोटोज, फेसटाइम तथा किबोर्डमा ल्याएका विभिन्न फिचरले प्रयोगकर्ताहरू आईओएस १७ इन्स्टल गर्न उत्साहित थिए । 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “आईओएस १७ मा अपग्रेड गर्नासाथ ब्याट्री एक्कासि घट्न थाल्यो ।”

एप्पल सपोर्ट र एप्पललाई मेन्सन गर्दै प्रयोगकर्ताले आफ्नो गुनासो राख्न थालेका छन् । अन्य केही प्रयोगकर्ताले फोन तात्ने समस्या आएको भन्दै गुनासो पोखेका छन् भने केहीले डिभाइस स्लो भएको बताएका छन् ।

त्यस्तै आईओएस १७ का केही फिचरहरू जस्तै; अटोकरेक्ट पनि दिक्कलाग्दो भएको प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । 

आईओएस १७ अपडेटसँगै पहिले सक्रिय नभएका फोनका कतिपय फिचरहरू ब्याकग्राउन्डमा चलिरहेका हुन सक्छन् । डेलिमेलका अनुसार आईओएस १७ मा त्यस्ता टुलहरू छन्, जुन स्वतः एक्टिभेट हुन्छन् र ब्याट्री खपत गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८० १०:४९