close

सोमबार आयोजना हुँदै एप्पलको डेभलपर कन्फ्रेन्स, के के ल्याउँदैछ नयाँ ?

टेकपाना टेकपाना

जेठ २३, २०८२ १८:१४

सोमबार आयोजना हुँदै एप्पलको डेभलपर कन्फ्रेन्स, के के ल्याउँदैछ नयाँ ?

काठमाडौँ । एप्पलको बहु प्रतिक्षित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (WWDC) २०२५ को किनोट कार्यक्रम आउँदो सोमबार (जुन ९) लाइभ स्ट्रिम हुने भएको छ । यस वर्षको डब्लूडब्लूडीसीमार्फत एप्पलले आफ्नो सफ्टवेयरमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर नयाँ सिरी वा कुनै पनि हार्डवेयर उत्पादन घोषणाको सम्भावना भने कम छ ।

डेभलपर कन्फ्रेन्स एप्पलको सफ्टवेयर अपडेट र नयाँ सुविधाहरू प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण वार्षिक कार्यक्रम हो । विगतमा यस्तै कार्यक्रमबीच भिजन प्रो र एप्पल सिलिकन जस्ता हार्डवेयर समेत घोषणा भएका थिए । 

तर यस वर्षको डब्लूडब्लूडीसी २०२५ पूर्ण रूपमा सफ्टवेयर लक्षित हुने अनुमान गरिएको छ । नयाँ आईफोनको प्रतीक्षामा रहेकाहरूले यस कार्यक्रममा केही नयाँ देख्ने छैनन् । किनभने आईफोन लन्च कार्यक्रम सामान्यतया सेप्टेम्बरमा हुने गर्दछ ।

यस वर्षको डब्लूडब्लूडीसीको आकर्षण

द वायरका अनुसार यो डेभलपर कन्फ्रेन्समार्फत एप्पलको अपरेटिङ सिस्टममा महत्त्वपूर्ण परिवर्तनहरू सार्वजनिक हुन सक्छन् । कम्पनी आईओएस १८ बाट आईओएस १९ मा नगई सिधै आईओएस २६ मा जाने अपेक्षा गरिएको छ । यो नयाँ नामाकरणले आउँदा वर्षहरू (२७, २८, २९) का लागि पनि सोही बाटो पछ्याउनेछ ।

त्यस्तै एप्पलको सफ्टवेयरको लुक्समा ठुलो परिवर्तन आउने अनुमान गरिएको छ । भिजुअलमा आउने ती परिवर्तनले एप्पलका विभिन्न उपकरणहरूको इन्टरफेसमा एकरूपता ल्याउनेछ । यो लुक्स भिजन प्रोको अपरेटिङ सिस्टममा आधारित हुन सक्ने सम्भावना छ । यद्यपि मिक्स रियालिटीका लागि बनाइएको डिजाइन स्मार्टफोन र स्मार्टवाच जस्ता अन्य उत्पादनहरूमा कसरी समावेश गरिएला भन्ने स्पष्ट छैन ।

एप्पलले सोसल गेमिङको दिशामा पनि प्रयास गर्न सक्छ । कम्पनीले सन् २०१० मा सुरु गरेको आफ्नो हालको गेम सेन्टर बन्द गरी आईफोन, आईप्याड, म्याक, र एप्पल टिभी डिभाइसहरूमा नयाँ, प्रि-इन्स्टल गेमिङ एप ल्याउन सक्नेछ ।

यसैगरी थर्ड-पार्टी सफ्टवेयर विशेषज्ञहरूले आईफोन एपहरू भित्र एआई फिचर सिर्जना गर्न सक्ने डेभलपर किटमा पहुँच पाउने सम्भावना छ । यसका लागि एप्पलका लार्ज ल्याङ्वेज मोडेल प्रयोग गरिनेछ । एप्पल इन्टेलिजेन्स फिचरहरू सुरुमा लन्च हुँदा आईफोन लक स्क्रिनमा त्रुटिपूर्ण सारांशहरू देखिएका थिए । प्रयोगकर्ताहरूका साथै बीबीसी जस्ता मिडियाहरूले त्यसको आलोचना भएको थिए । 

केके आउँदैछ नयाँ ?

कम्पनीका नयाँ स्मार्टफोन र अन्य ग्याजेटहरू यस वर्ष पछि हुने कार्यक्रममार्फत घोषणा गरिने सम्भावना छ । यस सम्मेलन अघि कुनै पनि नयाँ एप्पल डिभाइसको बारेमा जानकारी बाहिरिएको छैन, त्यसैले हार्डवेयर उत्पादनहरू सार्वजनिक हुने सम्भावना कम छ ।  

कम्पनीले यो कार्यक्रम मार्फत सफ्टवेयर सम्बन्धी कुनै सरप्राइज भने दिन सक्छ । तैपनि नयाँ सिरीको घोषणा हुने सम्भावना भने कमै रहेको बताइएको छ । एप्पलले आफ्नो भ्वाइस असिस्टेन्टका लागि जेनेरेटिभ एआईमा काम गरिरहेको छ ।

एआई सम्बन्धी घोषणा प्रायः डेभलपर-केन्द्रित टुलहरूसँग सम्बन्धित हुनेछन् । आईफोनको ब्याट्री लाइफ विस्तार गर्न मद्दत गर्ने एआईमा आधारित ट्रयाकरको बाहेक यस वर्षको डेभलपर कन्फ्रेन्स उपभोक्ताहरूका लागि एआईमा केन्द्रित हुने अपेक्षा गरिएको छैन ।

कसरी हेर्ने एप्पलको इभेन्ट ?

यस वर्षको डेभलपर कन्फ्रेन्सका लागि एप्पलको किनोट ९ जुन, सोमबार राति १०ः४५ बजेको समयमा लाइभ स्ट्रिम गरिनेछ । यो सिधै एप्पलको वेबसाइट वा कम्पनीको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १८:१४