close

ईभी ब्याट्री प्रविधिमा नयाँ खोज, अब एआई नियन्त्रित चार्जिङले ब्याट्रीको आयु झन्डै २३% बढाउने

टेकपाना टेकपाना

जेठ ४, २०८३ २३:५६

ईभी ब्याट्री प्रविधिमा नयाँ खोज, अब एआई नियन्त्रित चार्जिङले ब्याट्रीको आयु झन्डै २३% बढाउने

काठमाडौँ । अटोमोबाइल कम्पनीहरूले विद्युतीय सवारी साधन (ईभी) हरूको चार्जिङ गति बढाउन शक्तिशाली ईभी चार्जिङ प्रविधि विकास गरिरहेका छन् । तर फास्ट चार्जिङका कारण ब्याट्री प्याकहरू कमजोर बन्ने समस्या रहँदै आएको छ । बारम्बार डीसी फास्ट चार्जिङ गर्नु ईभी ब्याट्रीको दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

अर्कोतिर, पुराना ब्याट्रीहरूमा अत्यधिक आक्रामक चार्जिङलाई सहन सक्ने क्षमता पनि कम हुँदै जान्छ । तर यो समस्याको समाधान पनि अब एआईले गर्ने भएको छ । स्विडेनको ‘चामर्ज युनिभर्सिटी अफ टेक्नोलोजी’ का अनुसन्धानकर्ताहरूले एउटा नयाँ फ्रेमवर्क सार्वजनिक गर्दै ईभी प्रयोगकर्ताहरूले लामो समयदेखि भोग्दै आएको यो समस्या समाधान गर्न सक्ने दाबी गरेका छन् ।

उनीहरूले विकास गरेको एआईमा आधारित नयाँ प्रविधिले फास्ट चार्जिङ र ब्याट्रीको दीर्घायुको सन्तुलन कायम गर्ने दाबी गरिएको हो । ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (IEEE)’ को जर्नलमा हालै प्रकाशित एक अध्ययनका अनुसार चामर्ज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ब्याट्रीको स्वास्थ्य अवस्था पहिचान गरी ब्याट्री पुरानो हुँदै जाँदा सोहीअनुसार चार्जिङ व्यवहारलाई पनि अनुकूल बनाउँदै लैजाने चार्जिङ एल्गोरिदम विकास गरेका हुन् ।

यसलाई उनीहरूले रिइन्फोर्समेन्ट लर्निङ (RL) भनेका छन् । यसबाट ब्याट्रीलाई उच्च गतिमा चार्ज गर्न सक्ने मात्र नभई ब्याट्रीको सञ्चालन आयु पनि झन्डै २३ प्रतिशतले बढाउन सकिने अनुसन्धानको दाबी छ ।

फास्ट चार्जिङको समस्या समाधान

ईभीको व्यापक प्रयोगका लागि छिटो चार्जिङ अत्यावश्यक भए पनि यसले ब्याट्रीमा भौतिक असर गर्छ । उच्च करेन्टमा चार्ज गर्दा ‘लिथियम प्लेटिङ’ हुने र सोलिड इलेक्ट्रोलाइट इन्टरफेज (SEI) तहको तीव्र वृद्धि हुने गर्दछ । यी दुवैलाई ब्याट्रीको क्षमता स्थायी रूपमा घटाउने प्रमुख कारणहरू मानिएको अध्ययनमा उल्लेख छ ।

‘कस्न्ट्यान्ट करेन्ट - कन्स्ट्यान्ट भोल्टेज (CC-CV)’ विधि जस्ता परम्परागत चार्जिङ प्रणालीले ब्याट्री पुरानो हुँदै जाँदा त्यसअनुसार आफूलाई समायोजन गर्न सक्दैन । यसले गर्दा ब्याट्री समयभन्दा पहिले बिग्रिन सक्छ । तर फास्ट चार्जिङका क्रममा ब्याट्रीको क्षमता घटाउने प्रक्रियाहरूलाई नियन्त्रण वा दबाउन सकिएमा ब्याट्रीको आयु उल्लेखनीय रूपमा बढ्ने अनुसन्धानमा उल्लेख छ ।

आजीवन सिक्ने एआई

अनुसन्धानकर्ताहरूका अनुसार यस उपलब्धिको मुख्य आधार ‘ट्विन डिलेड डीप डिटरमिनिस्टिक पोलिसी ग्रेडियन्ट (TD३) एल्गोरिदममा आधारित एआई एजेन्ट हो । सामान्यतया ब्याट्रीसम्बन्धी एआई मोडेलहरूलाई नयाँ (Fresh) सेलहरूमा तालिम दिइन्छ र यसलाई प्रत्येक सिमुलेसनपछि पुनः रिसेट गरिन्छ । तर चामर्ज विश्वविद्यालयको टोलीले पहिलो पटक आजीवन (Lifelong) मोडेल विकास गरेको हो । यसमा एआईलाई ब्याट्रीको सम्पूर्ण आयु अवधिभर निरन्तर पुरानो हुँदै जाने अवस्थामै तालिम दिइएको छ ।

ब्याट्रीको स्वास्थ्य र कट अफ भोल्टेजबीचको जटिल सम्बन्ध निर्धारण गरेर एआईले ब्याट्री पुरानो हुँदै जाँदा चार्जिङ करेन्टलाई गतिशील रूपमा समायोजन गर्न सिक्छ । ब्याट्रीको आन्तरिक रासायनिक संरचना परिवर्तन हुँदै जाँदा चार्जरलाई पनि त्यसअनुसार अनुकूल बनाउँछ र क्षय निम्त्याउने साइड रियाक्सनहरू कम गर्छ ।

वास्तविक प्रयोगका लागि तयार

चामर्जका अनुसन्धानकर्ताहरूले यो प्रविधिका लागि कुनै महँगो नयाँ हार्डवेयर आवश्यक नपर्ने बताएका छन् । अनुसन्धानकर्ताहरूले यो प्रणालीलाई हाल उत्पादनमा रहेका ईभीहरूका साधारण ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) ले पहिले नै निगरानी गर्ने भोल्टेज, चार्जको अवस्थालगायत संकेतहरूकै आधारमा काम गर्ने गरी डिजाइन गरेका छन् ।

अनुसन्धान टोलीका अनुसार ‘ट्रान्सफर लर्निङ’ जस्ता प्रविधिमार्फत यो एआईलाई विभिन्न प्रकारका ब्याट्री र तापक्रमअनुसार छिट्टै अनुकूल बनाउन सकिन्छ । युरोपेली युनियनको ‘होराइजन युरोप प्रोग्राम’ र ‘स्विडिस रिसर्च काउन्सिल’ को सहयोगमा सम्पन्न यो अनुसन्धानलाई ईभीलाई दीर्घकालीन रूपमा अझ दिगो र लागत प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ २३:५७