सांसदहरूले च्याटजीपीटी प्रयोग गरेको आलोचनापछि रास्वपा सचेतकको मेसेज- एआईमा निर्भर नहुनू
जेठ ६, २०८३ १६:४९
काठमाडौँ । बैठकमा बोल्न सांसदहरूले च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल प्रयोग गरेको आलोचना हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई प्रविधिमा मात्रै निर्भर नहुन सचेत गराएको छ । रास्वपाकी सचेतक क्रान्ति शिखा धितालले एआईको सहारामा मात्रै सदन र समितिका बैठकमा नबोल्न सांसदहरूलाई सचेत गराएकी हुन् ।
पछिल्लो समय च्याटजीपीटीले तयार पारिदएको विवरणका आधारमा सांसदहरूले बोल्ने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । “हाम्रो संसदीय दलको ह्वाट्सएप ग्रुपमा उहाँ (सचेतक) ले एउटा मेसेज छोड्नुभएको थियो । माननीयहरूले च्याटजीपीटी प्रयोग गरेर सदनमा बोलेको भए सावधानी अपनाउनु भन्ने मेसेजको आशय थियो,” सांसद निशा डाँगीले टेकपानासँग भनिन् ।
यस विषयलाई पार्टीले पूर्ण प्रतिबन्ध वा कडा निर्देशनका रूपमा भन्दा पनि ‘निर्भरता’ कम गर्ने बहसका रूपमा अगाडि बढाएको अर्का सांसद गणेश कार्कीले बताए । “सचेत गराउने भन्दैमा कुनै कडाइ गरिएको होइन । एआई प्रयोग गर्दा पूर्ण रूपमा निर्भर भइयो भने सांसदको आफ्नै अध्ययन र मौलिकता हराउँछ भन्ने विषयमा संसदीय दलमा कुरा भएको हो,” उनले भने ।
उनले अगाडि भने, “तथ्यांक खोज्न र अनुसन्धान गर्न एआई निकै उपयोगी हुन्छ भन्नेमा हामी सबै सहमत छौँ, तर मन्तव्य नै तयार पार्न यसमा मात्रै भर पर्नु राम्रो हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।”
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १७:४
