close

बीवाईडी एटो टुको मूल्य ३ लाख र एटो थ्रीको २ लाखले बढ्यो

टेकपाना टेकपाना

असार ६, २०८३ ८:१५

बीवाईडी एटो टुको मूल्य ३ लाख र एटो थ्रीको २ लाखले बढ्यो

काठमाडौं । बीवाईडी ईभीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले दुईवटा मोडेलको मूल्य बढाएको छ । सरकारले नयाँ बजेटमार्फत व्यवस्था गरेको भन्सार महसुल र हरित पूर्वाधार शुल्कका कारण मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

नयाँ मूल्यअनुसार ‘एटो टु’ को मूल्य तीन लाख चार हजार रुपैयाँले बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि यो गाडी ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

२०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो ‘स्पोर्ट युटिलिटी भेहिकल’ (एसयूभी) मा ५१ किलोवाट आवरको ब्याट्री क्षमता छ । यसले एकपटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने र यसमा १०० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ ।

बीवाईडीको ई-प्लेटफर्म ३.० मा निर्मित यस गाडीको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ भने ह्वीलबेस २६२० एमएम रहेको छ ।

यसैगरी, ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य दुई लाख रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध यो गाडी अब ६१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुनेछ ।

एटो थ्रीमा ६०.४८ किलोवाट आवरको ब्याट्री क्षमता छ, जसले ४२५ किलोमिटर रेन्ज प्रदान गर्दछ । यसमा पनि १०० किलोवाटकै मोटर जडान गरिएको छ । ४४५५ एमएम लम्बाइ, १८७५ एमएम चौडाइ र १६१५ एमएम उचाइ भएको यस गाडीमा २७२० एमएमको ह्वीलबेस र ४३४ लिटरको बुट स्पेस उपलब्ध छ ।

दुवै गाडीमा एडास (ADAS), ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, भ्वाइस कन्ट्रोल, एप्पल/एन्ड्रोइड कार प्ले र पानोरामिक सनरुफ जस्ता आधुनिक सुविधा छन् ।


 

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १२:१८