close

कमेडी दरबारमा प्रेस काउन्सिलको ‘कैंची’: आफ्नो सिर्जनामा हस्तक्षेप भयो भन्दै कलाकार असन्तुष्ट

टेकपाना टेकपाना

असार ६, २०८३ १६:२४

कमेडी दरबारमा प्रेस काउन्सिलको ‘कैंची’: आफ्नो सिर्जनामा हस्तक्षेप भयो भन्दै कलाकार असन्तुष्ट

काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी दरबारको पछिल्लो श्रृंखला विवादित बनेको छ । प्रेस काउन्सिलमा परेको उजुरीका कारण कार्यक्रमको ट्रेलर र पूरा एपिसोडमा प्रसारित केही दृश्य काँटछाट भएपछि कमेडी दरबारको निर्माण पक्ष र कलाकारहरू असन्तुष्ट बनेका छन् ।

कार्यक्रमको ट्रेलर सार्वजनिक भएपछि सङ्घीय संसदको लोगो दुरुपयोग भएको, सभामुखको मिमिक्री र महिला सांसदहरूमाथि गरिएको टिप्पणीलाई लिएर प्रेस काउन्सिलमा अधिवक्ता खगेन्द्र चापागाईँले उजुरी दिएका थिए ।

चापागाईँले उजुरीमा संसदको आधिकारिक लोगो अनुमति बिना र हुबहु प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारी लोगोको यसरी दुरुपयोग गर्नु कानुनी रूपमै वर्जित भएको र कुनै पनि कार्यालयको सहमति बिना त्यसको प्रयोग गर्न नपाइने तर्क गरेका छन् ।

सभामुख डीपी अर्यालको क्यारिकेचर गर्ने क्रममा सभामुखको कार्यालय र पदको गरिमालाई होच्याइएको उजुरीकर्ताको दाबी छ । विशेषगरी सभामुखले ‘सजिना’ (कमेडी दरबारकी होस्ट सजिना खनाल) भन्ने नाम लिएर मुस्कुराएको दृश्यलाई उनले चरित्रहत्या र मर्यादा विपरीत भनेका छन् । उनले राज्यको उच्च मर्यादाको पदलाई त्यसरी ख्यालठट्टाको विषय बनाउँदा संस्थागत अपमान हुने जिकिर गरेका छन् ।

कार्यक्रममा संसदमा रहेका महिला सांसदहरूलाई लक्षित गर्दै प्रयोग गरिएको ‘च्वाँक’ जस्ता शब्दहरूलाई उनले यौनिक, अश्लील र अपशब्दका रूपमा चित्रण गरेका छन् । उनले टेलिभिजन जस्तो सार्वजनिक सञ्चार माध्यमबाट जनप्रतिनिधिहरूलाई त्यसरी जिस्क्याउनु र अश्लील शब्द प्रयोग गर्नुले समाजमा विकृति ल्याउने भन्दै विरोध गरेका छन् ।

“म आफू कुनै राजनीतिक दलको कार्यकर्ता नभई एक सचेत नागरिक र कानुन र समाजशास्त्रको विद्यार्थीको हैसियतले समाजमा विकृति नफैलियोस् भनेर उजुरी दिएको हुँ,” चापागाईँले टेकपानासँग भने ।

चापागाईँको उजुरीपछि प्रेस काउन्सिलले तुरुन्तै सक्रियता देखाउँदै प्रसारण संस्था प्राइम टेलिभिजन र डिजिटल प्लेटफर्म ओएसआर डिजिटललाई मौखिक रूपमा ध्यानाकर्षण गराएको थियो । उजुरी अध्ययन गरेर कार्यक्रम निर्माण पक्षलाई मौखिक रूपमा सचेत गराएको र आचारसंहिता पालनाका लागि निर्देशन दिएको काउन्सिलका एक अधिकारीले जानकारी दिए ।

काउन्सिलको निर्देशनपछि ओएसआर डिजिटलले आफूखुसी वा दबाबमा परेर कार्यक्रमका विभिन्न भागहरूमा कैंची चलाएको पाइएको छ । यस प्रक्रियामा संसदको लोगोलाई ब्लर गरिएको छ भने सभामुख अर्यालको मिमिक्री गरिएका केही संवाद हटाइएका छन् ।

पत्रकार आचारसंहिता र राज्यका प्रतीकहरूको प्रयोगसम्बन्धी कानुनी प्रावधानलाई आधार बनाउँदै सङ्घीय संसदको लोगो बिना अनुमति प्रयोग गर्नु कानुनी रूपमा गलत हुने र सभामुख जस्तो संवैधानिक पदको गरिमामा आँच पुऱ्याउने सामग्री प्रसारण गर्नु आचारसंहिता विपरीत हुने तर्क गर्दै ती भागहरू सम्पादन गर्न सचेत गराएको काउन्सिलका ती अधिकारीले जानकारी दिए ।

तर उजुरी र मौखिक आदेशकै कारण कार्यक्रमको केही भाग सम्पादन गरी हटाउन लगाइएको भन्दै कार्यक्रमका निर्माता तथा कलाकारहरूले राज्य संयन्त्र र प्रेस काउन्सिलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

आफ्नो सिर्जनामा यसरी ‘कैंची’ चलाइएपछि कार्यक्रमका निर्देशक एवम् होस्ट बिक्की अग्रवालले फेसबुकमा लेखेका छन्, “हामीले हरेक हप्ता लेखाइ, अभ्यास र कलाकारहरूको मेहनतबाट तयार गरेको सामग्रीमा कसैले सजिलै कैंची चलाउँदा निकै चित्त दुख्दो रहेछ । अब के नेपालमा चलचित्रजस्तै टेलिभिजन कार्यक्रम पनि रुवाउने मात्रै बनाउँदा पो ठीक हुने हो कि ?”

सभामुखको मिमिक्री गरेका कलाकार एवम् स्क्रिप्ट राइटर सरोज भण्डारीले यस घटनालाई लिएर फरक विवरण सार्वजनिक गरेका छन् । भण्डारीले प्रधानमन्त्री कार्यालय र सभामुखको सचिवालयसँग सम्पर्क गर्दा उहाँहरूबाट कुनै आपत्ति नरहेको र मज्जाले बोल्न भनिएको दाबी गरेका छन् ।

उनले टेकपानासँग भने, “सभामुख र सरकारको तर्फबाट कुनै आपत्ति थिएन, तर प्रेस काउन्सिलमा परेको उजुरी र त्यहाँबाट आएको मौखिक दबाबका कारण ओएसआरले भागहरू काट्न र म्युट गर्न पुग्यो । यो राज्यका केही निकायहरूले देखाएको अनावश्यक सक्रियता हो ।”

विवादित भनिएको ‘सजिना’ सँगको मुस्कान र ‘सभामुख’ शब्दलाई म्युट गर्दा प्रस्तुतिको मर्म नै मरेको उनले गुनासो गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू राजु पाण्डे, रुकेश रञ्जित र जगदिश खरेल अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमका क्रममा उनीहरूमाथि नै केन्द्रित रहेर व्यङ्ग्य प्रहार गरिए पनि उनीहरूले कार्यक्रमभरि रमाइलो मानेको र पछि पनि कुनै गुनासो नगरेको बताइएको छ ।

तर, सामाजिक सञ्जालमा भने रास्वपाको सचिवालयले आफ्ना सांसदहरूको मानहानी भएको भन्दै दबाब दिएको चर्चा चलेको छ । तर उजुरीकर्ता चापागाईँ र कलाकारहरू दुवैले यो पूर्ण सत्य नभएको सङ्केत गरेका छन् । “केही सांसदले कार्यक्रमलाई लिएर चासो राख्नुभएको हो, तर विमति जनाउनु भएको थिएन,” भण्डारीले भने । तर शुक्रबार उनले फेसबुकमा सभामुख अर्यालप्रति कटाक्ष गर्दै भिडिओ पोस्ट गरेका थिए ।

प्रचण्डको क्यारिकेचर गर्ने कलाकार विकास अर्यालले ‘बीप’ लगाउँदाको प्राविधिक त्रुटिले झन् नराम्रो प्रभाव पारेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “माननीय भनिएको ठाउँमा बीप लगाउँदा ‘मा…’ बाट सुरु हुने अर्कै अपशब्द प्रयोग भएजस्तो सुनिने रहेछ, जसले झन् नकारात्मक सन्देश दियो ।”

त्यस्तै, अर्का कलाकार सीडी विजय अधिकारीले पनि लोकतन्त्रमा यस्ता खाले सेन्सरसिपले गाईजात्रा जस्ता सांस्कृतिक पर्वहरूको प्रस्तुतिमा समेत प्रश्नचिह्न खडा गरिदिएको बताएका छन् ।

अर्को पक्षले भने नेपालमा व्यङ्ग्यको सीमा कहाँसम्म हुने र संवैधानिक निकायहरूले सिर्जनात्मक स्वतन्त्रतामा कतिसम्म हस्तक्षेप गर्न पाउने भन्ने विषयबारे बहस हुनुपर्नेमा जोड दिएको छ ।

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १६:५९