काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । विभागले बिहीबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएसँगै अब नागरिकले परिचयपत्रको भौतिक कार्ड कुर्नु नपर्ने भएको हो ।
यो सेवा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकका लागि मात्र उपलब्ध छ । प्रोभिजनल राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने प्रक्रिया तल दिइएको छ:
सबैभन्दा पहिले पञ्जीकरण विभागको आधिकारिक सिटिजन पोर्टल citizenportal.donidcr.gov.np/ne वा यहाँ क्लिक गर्नुहोस् ।

-
त्यसपछि ‘eNID डाउनलोड’ लेखिएको बटनमा क्लिक गर्नुहोस् ।

-
त्यहाँ नेपाली र अंग्रेजीमा आफ्नो नाम र थर, विक्रम संवतमा जन्म मिति र नागरिकता जारी भएको मिति राख्नुहोस् ।

-
अनि, अब क्याप्चा (छ्यासमिसे अक्षर) भरेर अघि बढ्नुहोस् ।
खोज्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुहोस् ।

-
अब तपाईंको फोटोसहित राष्ट्रिय परिचय पत्र नम्बरको एउटा परिचय पत्र जस्तो देखिन्छ । त्यसपछि कार्ड डाउनलोड गर्नुहोस् लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।

-
फेरि पनि ‘राष्ट्रिय परिचयपत्र नम्बर’ भएको अर्को पपअप देखापर्छ । त्यसमा रहेको ‘डाउनलोड गर्नुहोस्’ बटनमा क्लिक गर्नुहोस् ।
-
यति गरेपछि तपाईंको राष्ट्रिय परिचय पत्रको पीडीएफ डाउनलोड हुन्छ ।
तर डाउनलोड भएको परिचय पत्र यत्तिकै खुल्दैन, पासवर्ड राख्नुपर्छ । पासवर्ड चाहिँ तपाईंको नामको पहिलो चार अक्षर अंग्रेजीमा ठुला अक्षरमा र जन्ममितिको साल लेख्नुपर्छ । उदाहरणको लागि तपाईंको नाम रमेश हो र जन्ममिति २०४२ हो भने पासवर्ड यस्तो (RAME2042) हुने भयो ।
अब डाउनलोड गरेको परिचय पत्र खुल्छ । त्यसमा सम्बन्धित व्यक्तिको फोटो र अनलाइनबाटै रुजु गर्न मिल्ने क्यूआर कोड समावेश गरिएको छ । विभागले यसरी डाउनलोड गरिएको कार्डलाई पूर्ण रूपमा सुरक्षित राख्न समेत नागरिकलाई अनुरोध गरेको छ ।
अहिलेसम्म विभिन्न सार्वजनिक निकाय वा संस्थाले विभागको पोर्टलबाट प्रिन्ट गरिएको फोटोसहितको निस्सा हेरेर सेवा दिँदै आएका थिए । तर अब ‘eNID’ कार्डमा रहेको क्यूआर कोड स्क्यान गरेर त्यसमा देखिएको विवरण र नागरिकले देखाएको निस्साका विवरण भिडायर मात्र सेवा प्रवाह गर्न विभागले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
बारम्बार आइहरने समस्याहरू
यो सुविधा सुरु भएसँगै सेवाग्राहीले विभिन्न किसिमका समस्या भोग्ने गरेका छन् । खासगरी क्याप्चा नदेखिने, पीडीएफ डाउनलोड गर्दा नहुने जस्ता समस्या देखिने सेवाग्राहीको गुनासो छ ।
यस्तोमा क्याश क्लियर गरेर वा अर्को ब्राउजर खोलेर आफ्नो ईएनआईडी डाउनलोड गर्न सकिन्छ ।
साइबर सुरक्षा तथा डेटा दुरुपयोगको चिन्ता
ईएनआईडी डाउनलोड गर्न सकिने सुविधा सार्वजनिक भएसँगै साइबर सुरक्षा जानकारले चिन्ता व्यक्त गरेका छन् । खासगरी यति संवेदनशील कागजात डाउनलोड गर्न सामान्य विवरण नै पर्याप्त हुने भएकाले चिन्ता व्यक्त गरिएको हो । कसैले नागरिकताको फोटोकपी मात्र पायो भने पनि ईएनआईडी डाउनलोड गर्न सक्ने अवस्था छ ।
ईएआईडी हेर्नका लागि पासवर्ड राख्नुपर्ने भनिएको छ, तर त्यो पनि नामको अगाडिका चार अक्षर र जन्ममिति छ, जुन त्यही नागरिकतामै हुन्छ । यसको विकल्पमा नागरिक एपबाट मात्र डाउनलोड गर्न सकिने वा प्रयोगकर्ताले अकाउन्ट लगइन गरेर मात्र डाउनलोड गर्न सकिने बनाउँदा उपयुक्त हुने साइबर सुरक्षा जानकारहरूको भनाइ छ । यसैलाई लिएर सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा बहस पनि भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार ६, २०८३ १८:३९
