सार्वजनिक स्थलमा दुर्व्यवहार भोग्ने पीडित युवतीमाथि सामाजिक सञ्जालमा उल्टै प्रहार
असार २३, २०८३ १९:४५
काठमाडौं । सार्वजनिक स्थलमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै आवाज उठाउने युवतीमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको ओइरो लाग्न थालेको छ । घटनाको अनुसन्धान भइरहेकै समयमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविक तस्बिर प्रयोग गरी काल्पनिक कथा पोस्ट गरेपछि उत्पन्न भ्रमका कारण पीडित भनिएकी युवती नै उल्टै निसानामा परेकी हुन् ।
गत आइतबार साँझ ऋतु खनालले सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक गरेपछि यो घटना सतहमा आएको थियो । भिडिओमा एक पुरुष दौडिरहेका देखिन्छन् भने खनाल आक्रोशित रूपमा उनीमाथि क्यामेरा तेर्स्याउँदै देखिन्छिन् । खनालका अनुसार बाटोमा हिँडिरहेका बेला ती व्यक्तिले आफ्नो लुगा खोलेर अश्लील हर्कत देखाएका थिए ।
त्यसपछि भिडिओमा देखिने व्यक्ति भाग्छन् र अलि अगाडि पुगेपछि केही स्थानीय व्यक्तिले उनलाई रोक्छन् । त्यसपछि खनालले ती व्यक्तिलाई ‘मैले तँलाई के गरेको थिएँ’ भन्दै झम्टिन खोज्छिन् र ‘तेरो घरमा छोरी छैनन्’ भन्दै गालामा झापड हान्छिन् । उनले ती व्यक्तिलाई माफी माग्न लगाउँछिन् र उनले पनि आफ्नो गल्तीको प्रायश्चित गर्दै खुट्टा ढोगेर माफी माग्छन् ।
उक्त भिडिओ सामाजिक सञ्जालमा राख्दै ऋतु खनालले लेखेकी थिइन्, “आज म एक्लै बाटो हिँडिरहेकी थिएँ। मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ । त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझून् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्ति सुरक्षित महसुस गर्न पाउनुपर्छ। यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ ।”
उनले आफूमाथि नकारात्मक टीकाटिप्पणी नहोस् भन्ने हेतुले सबै सन्दर्भ स्पष्ट खुलाएकी थिइन् । यतिसम्म कि ती व्यक्तिले अश्लील हर्कत गर्नुका पछाडि आफ्नो पहिरनको पनि कुनै भूमिका नरहेको स्पष्ट पारेकी थिइन् ।
पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी बैतडी घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको खुल्यो ।
प्रहरीका अनुसार भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन् । हाल उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । भट्ट पक्राउ परेपछि यसबारे गृहमन्त्री सुधन गुरुङले समेत चासो व्यक्त गर्दै यस्ता घटना हुन नदिने सुरक्षा संयन्त्र थफ सुदृढ बनाउने आश्वासन व्यक्त गरेका छन् ।
यसैबिच सामाजिक सञ्जालमा काल्पनिक कथा राखेर चर्चा कमाउने गरेका ‘सन्तोष कार्की मौसुफ’ नामका प्रयोगकर्ताले यस घटनालाई लिएर आरोपित भट्टको तर्फबाट एक काल्पनिक परिदृश्य पोस्ट गरे ।

उनले उक्त पोस्टमा तस्बिर भने वास्तविक सुरेन्द्र भट्टकै प्रयोग गरेका छन् । उनले ‘सामाजिक सञ्जालको न्याय’ शीर्षक दिँदै भट्टलाई पिसाब लागेको र थेग्न नसकेर बाटोमा फेर्न लाग्दा युवतीले गलत बुझेको दाबी प्रस्तुत गरे । उक्त पोस्टमा भट्ट निर्दोष रहेको र प्रहरीले छाडिसकेको समेत उल्लेख थियो ।

लेखकले पोस्टको अन्त्यमा यो ‘काल्पनिक कथा’ मात्र भएको र दुवै पक्षको कुरा सुन्नुपर्ने आशय व्यक्त गरेका थिए । तर, धेरै प्रयोगकर्ताले पोस्टको तल रहेको स्पष्टीकरण हटाएर माथिल्लो अंश मात्र कपी-पेस्ट गर्न थालेपछि ती व्यक्ति वास्तवमै निर्दोष रहेको र युवतीले भाइरल हुन नाटक गरेको भन्ने भ्रामक भाष्य सिर्जना भयो ।

वास्तविक घटनामा काल्पनिक परिदृश्य र वास्तविक फोटो मिसाएर राखिँदा मानिस झुक्किएर युवतीमाथि नकारात्मक रूपमा खनिन थालेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले घटना अझै अनुसन्धानकै क्रममा रहेको र कुनै अन्तिम निष्कर्ष नआएको बताएका छन् । एसपी मिश्रले भने, “अहिले ती व्यक्तिको विषयमा कुनै पनि अन्तिम निष्कर्ष बाहिर आएको छैन । टोलीले सूक्ष्म रूपमा काम गरिरहेको छ।”
उनले संवेदनशील मुद्दामा काल्पनिक कथा बनाएर प्रचार गर्दा वास्तविक न्याय प्रक्रिया कमजोर हुने चेतावनी दिए । “यस्तो भयो होला भन्दै काल्पनिक कहानी बुन्दा त्यसले अनुसन्धान र पीडित दुवैमा नकारात्मक प्रभाव पार्छ । यस्ता विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जिम्मेवार हुनुपर्छ,” मिश्रले थपे ।
अहिले सामाजिक सञ्जालमा फैलाइएको यही भ्रमका कारण वास्तविक पीडितले थप मानसिक तनाव खेप्नुपरेको छ भने अनुसन्धानको तथ्यभन्दा बाहिर गएर मानिसहरू बहस गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ १९:४८
