close

गुगल म्याप्समा थपिए उपयोगी ५ एआई फिचर

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० ९:११

गुगल म्याप्समा थपिए उपयोगी ५ एआई फिचर

 

गुगलले आफ्नो नेभिगेसन एप गुगल म्याप्समा पछिल्लो अपडेट गरेको छ । फक्स न्यूजका अनुसार गुगल म्याप्समा एआई अपग्रेड सहित पाँच नयाँ फिचर थपिएको हो । इमर्सिभ भ्यू, एआर फिचर, ईभी चार्जिङ स्टेसन इन्फो लगायतका नयाँ फिचर गुगल म्याप्समा थपिएका छन् । गुगलले यी फिचर ल्याउनेबारे आफ्नो वार्षिक कार्यक्रम गुगल आई/ओमा घोषणा गरेको थियो ।

त्यस्तै गत महिना एक ब्लग पोस्ट लेख्दै यी फिचरबारे थप जानकारी दिएको थियो । यद्यपि नयाँ भएकाले यी सबै फिचर नेपालमा भने उपलब्ध नहुन सक्छन् । आज हामी तिनै नयाँ फिचरबारे चर्चा गर्दै छौं:

थ्रीडी विथ इमर्सिभ भ्यू

थपिएका फिचरहरू मध्ये यो निकै आकर्षक रहेको छ । किनकी यस फिचरबाट बाटोहरूलाई सोही तहबाट थ्रीडीमा हेर्न सकिन्छ । अर्थात् अझ वास्तविक र थप विवरण सहित आफू जान लागेको बाटोबारे हेर्न सकिन्छ ।

यस फिचर प्रयोग गरेर फरक-फरक ठाउँ वास्तविक समयमा कस्तो देखिन्छ भनेर हेर्न समेत सकिन्छ । विशेष गरेर नयाँ र अलमल हुने ठाउँका लागि यो फिचर उपयुक्त हुन्छ । 

एआई एसिस्टेन्ट

 यो फिचर निकै उपयोगी हुने देखिन्छ । किनकी प्रयोगकर्तालाई आवश्यक सहयोग गर्न एआईको प्रयोग गरिएको छ । यसमा प्रयोग भएको एआईले प्रयोगकर्ताको रुचि, आवश्यकता र अवस्थाका आधारमा स्थान छनाेट गर्ने बताइएको छ ।

जस्तै; तपाईंले कुनै होटल खोजिरहनु भएको छ भने अब गुगल म्याप्सले तपाईंको स्वाद, बजेट र समयका आधारमा विकल्पहरू दिने छ । 

एआई इन्ह्यान्स गुगल म्याप्स नेभिगेसन

नयाँ अपडेटमा गुगल म्याम्स नेभिगेसनलाई एआईले अझ बढी प्रभावकार बनाइएको छ । यससँगै बाटो तथा ट्राफिक अवस्थाबारे सही र सटिक निर्देशन दिने बताइएको छ । जस्तै; राजमार्गमा तपाईंले जानु पर्ने नपर्ने लेन कुन हुन् ती स्पष्ट देखिने छ । त्यस्तै तपाईंले वास्तविक समयमा सडकको अवस्था, दुर्घटना र भिडबारे पनि थाहा पाउन सक्नुहुन्छ ।

साथै वैकल्पिक रुटहरू कुन छन्, कुन रुट जाँदा छिटो र सजिलो गन्तव्यमा पुगिन्छ यीबारे पनि तपाईंले थाहा पाउन सक्नुहुन्छ ।  यसो हुँदा कुन रुटबाट आफ्नो यात्रालाई अगाडि बढाउने तपाईंले सजिलै योजना बनाउन सक्नुहुन्छ ।

ईभी चार्जिङ स्टेसन इन्फो

यदि तपाईं बिजुली गाडी चलाउनुहुन्छ भने यो फिचर निकै नै उपयोगी हुन सक्छ ।

यस फिचर अन्तर्गत तपाईं रहेको स्थानबाट नजिकै पर्ने चार्जिङ स्टसन कहाँ छ ? त्यहाँ कस्तो प्रकारको चार्जर छ ? ती चार्जरले कति चाँडो चार्ज गर्न सक्छ ? जस्ता सूचना यस फिचरले दिन्छ । त्यस्तै ती चार्जिङ स्टेसनमा कतिको भिड छ भन्ने कुराको जानकारी पनि यस फिचरले दिन्छ । 

नयाँ एआर फिचर

गुगलले 'सर्च विथ लाइभ भ्यू' फिचरलाई नै नयाँ  नामाङ्कन गर्दै 'लेन्स इन म्याप्स' बनाइएको छ । यस फिचरमा तपाईंको फोन क्यामेराबाट वस्तुको सतह र स्थान पहिचान गर्न एआई प्रयोग गरिएको छ ।

यस फिचर प्रयोग गरेर तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । त्यस्तै क्यामेरालाई प्रयोग गरेर यस फिचरबाट स्थानबारे सूचना तथा दिशासमेत पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० ९:११