close

पब्जी विश्वकपमा नेपाली टिम डीआरएस गेमिङको लगातार खराब प्रदर्शन

टेकपाना टेकपाना

मंसिर २, २०८० ९:२९

पब्जी विश्वकपमा नेपाली टिम डीआरएस गेमिङको लगातार खराब प्रदर्शन

काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ मा नेपाली टिम डीआरएस गेमिङले खराब प्रदर्शन गरेको छ । ग्रुप एल्लोमा रहेको डीआरएसले आफ्नो ग्रुपको पहिलो र दोस्रो दिनकाे खेल सकिँदा राम्रो प्रदर्शन गर्न सकेन ।

फलस्वरुप पहिलो दिनको खेल सकिदाँ आफ्नो ग्रुपको अङ्क तालिकाको १३औं स्थानमा रहेको डीआरएस दोस्रो दिनको खेल सकिँदा १४औं स्थानमा पुगेको छ ।

डीआरएसले पहिलो दिनको ६ खेल सकिँदा १६ एलिमिनेसन पोइन्टसहित जम्मा २० पोइन्ट ल्याएको थियो । दोस्रो दिन सकिँदा डीआरएस गेमिङले २२ एलिमिनेसन पोइन्ट सहित कुल पोइन्ट ४८ बनाएको छ । अब समूह चरणमा शनिवार र आइतवारको खेल बाँकी छ ।

यो प्रतियोगिताको ग्रुप स्टेजमा ४८ टिम रहेका छन्, जसलाई रेड, ग्रिन र एल्लो गरी तीन ग्रुपमा बाँडिएको छ ।

डीआरएस रहेको ग्रुप एल्लोमा १६ टिम रहेका छन् । जसमा अङ्क तालिकाको शीर्ष स्थानमा इन्डोनेसियाको पब्जी टिम ‘बीटीआर आरभी’ रहेको छ । बीटीआरले १२ खेलमा दुई चिकेन डिनर र ७२ एलिमिनेसन पोइन्टसहित ११८ पोइन्ट ल्याएको छ ।

त्यस्तै दोस्रो स्थानमा ‘मेजर प्राइड’ र तेस्रो स्थानमा ‘इन्फ्लुयन्स रेज’ रहेको छ ।

समूहमा शीर्ष तीनभित्र पर्ने टिमले ‘पीएमजीसी २०२३’ को फाइनलमा सिधै आफ्नो स्थान बनाउनेछन् । शीर्ष तीनभित्र नपर्ने, तर चौंथोदेखि ११औं स्थानसम्म रहने ८ टिमले फाइनलमा स्थान बनाउन ‘सर्भाइबल स्टेज’मा हुँदै ‘लास्ट चान्स’ स्टेजमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

यो प्रतियोगिताको फाइनल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म चल्नेछ । प्रतियोगिताको पुरस्कार राशि ३० लाख डलर (करिब ४० करोड रुपैयाँ) तोकिएको छ, जुन ग्रुप स्टेज, सर्भाइबल स्टेज, लास्ट चान्स र फाइनलको लागि बाँडिनेछ ।

ग्रुप स्टेजको विजेताले ४० हजार अमेरिकी डलर (करिब ५३ लाख रुपैयाँ) जित्नेछन् । ग्रुप एल्लोको तेस्रो दिनको खेल शनिवार दिउँसाे ४:४५ देखि सुरु हुनेछ ।

खेलको लाइभ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०८० ९:३९