close

जब आईफोनको क्र्याश डिटेक्सनले दुर्घटना परेका किशोरीको स्थान पत्ता लगाउन मद्दत गर्‍यो

टेकपाना टेकपाना

बैशाख ३, २०८१ १२:१८

जब आईफोनको क्र्याश डिटेक्सनले दुर्घटना परेका किशोरीको स्थान पत्ता लगाउन मद्दत गर्‍यो

काठमाडौं । एप्पलको क्रयाश डिटेक्सन फिचरले अफ-रोड दुर्घटनामा परेर मारिएकी किशोरीलाई फेला पार्न सहयोग पुर्‍याएको न्युजिल्यान्डको प्रशासनले जनाएको छ । न्युजिल्यान्डको दक्षिणी टापूतर्फ पर्ने माउन्ट रिचमोन्ड फरेस्ट पार्कमा भएको दुर्घटनामा परेर दुई किशोरी जोअन्ना बिच र बोन्डी रिहाना रिचमोन्डको मृत्यु चार भएको थियो ।

चार पाङ्ग्रे गाडीमा सवार उनीहरू स्थानीय समय अनुसार ८ अप्रिल २०२४ को राति ११ बजे बिबेज नोब ट्रयाक हुँदै गइरहेका थिए । सोही क्रममा दुर्घटनामा परे । अन्य सवारी साधननसँग उनीहरू नठोक्किएको बताइएको छ । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रहरीले भनेको छ कि, "दुर्घटनाको कारण खोजी हुने क्रम जारी छ र त्यो कुरा अनुसन्धान अधिकृतले जानकारी गराउने नै छन्; यद्यपि उक्त गाडी ओरालोबाट तल फेला परेको थियो ।"

बिबेज नोब ट्रयाकमा जान प्रतिबन्ध लगाइएको छ । तर १ डिसेम्बरदेखि ३० अप्रिलसम्म चार पाङ्ग्रे चालकलाई मात्र अनुमति दिइएको थियो । उक्त रुट प्रयोग गर्न पर्मिट लिनुपर्ने हुन्छ । ती दुवै किशोरीसँग उचित किसिमको पर्मिट थियो ।

दुर्घटनामा परेकी एक किशोरीको आईफोनमा रहेको क्रयाश डिटेक्सन फिचर मार्फत आफूहरूलाई उक्त दुर्घटनाबारे अलर्ट प्राप्त भएको प्रहरी र उद्धारकर्ताले बताएको एप्पल इन्साइडरले जनाएको छ ।

"अलर्टले पिनपाइन्ट (देखाएको) गरेको लोकेसनले मृतक किशोरीहरू रहेको स्थान पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो," उनीहरूले भनेका छन् । एप्पलको क्रयाश डिटेक्सनले दुर्घटना बारे जानकारी गराएको यो नै पहिलो पटक भने होइन ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ १२:१९