close

आईफोन १५ का सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम

टेकपाना टेकपाना

भदौ २७, २०८० ९:७

आईफोन १५ का सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम

काठमाडौं । आईफोन १५ का सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम उपलब्ध भएको छ । गएराति क्यालिफोर्नियामा आयोजित एप्पल इभेन्टमा आईफोन १५ का विभिन्न मोडेल सार्वजनिक गर्दै कम्पनीले सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम भएको जानकारी दिएको हो । 

एप्पलले आईफोन १५ सार्वजनिक गरेसँगै आधिकारिक रूपमा ११ वर्षदेखि प्रयोग गर्दै आएको लाइट्निङ पोर्ट विस्थापित भएको छ । डिभाइस चार्ज गर्न, डेटा सिङ्क गर्न र विभिन्न एक्सेसरिजमा डिभाइस कनेक्ट गर्न उपयुक्त हुने र सोही अनुसारको युरोपेली संघको नीति हुनुले पनि कम्पनीले पहिलो पटक आफ्ना सबै डिभाइसमा टाइप-सी पोर्ट समावेश गरेको हो । 

यसको सहायताले प्रयोगकर्ताले फोन चार्ज गर्न, डेटा ट्रान्सफर गर्न, अन्य डिभाइसमा अडियो तथा भिडिओ प्ले गर्न टाइप-सी केबल प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । यससँगै अब आईफोनका लागि उपलब्ध वा एप्पलका अन्य डिभाइसका लागि उपलब्ध यूएसबी-सी केबलको सहायताले आईफोन १५ सँगै म्याक, आईप्याड, एयरपड्स प्रो सेकेन्ड जेनेरेसन चार्ज गर्न सकिनेछ ।

यदि तपाईंको एयरपड्सको चार्ज कम छ भने सोही केबल प्रयोग गरी आईफोनबाट एयरपड चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । टाइप-सी पोर्ट सुरु गरेसँगै कम्पनीले टाइप-सी सपोर्ट गर्ने एयरपड (इयरफोन) पनि सार्वजनिक गरेको छ । उक्त एयरपड्स आईफोन १५ का सबै मोडेलमा सहजै प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १०:२४