close

कस्तो होला आईफोन १७ प्रो ?

टेकपाना टेकपाना

फागुन ६, २०८१ १८:३१

कस्तो होला आईफोन १७ प्रो ?

काठमाडौं । यस वर्ष सार्वजनिक हुने एप्पलको आईफोन १७ सिरिजको आईफोन १७ प्रोको डिजाइनमा ठूलो परिवर्तन गर्ने अनुमान गरिएको छ । फ्रन्ट पेज टेकका थ्रीडी आर्टिस्ट एसरले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत आईफोन १७ प्रोको डिजाइन सार्वजनिक गरेका छन् ।

उक्त फोटोमा क्यामेराको डिजाइनमा विशेष परिवर्तन देखाइएको छ । यो डिजाइन हालसम्म सार्वजनिक भएका विभिन्न लिक्ड जानकारी र रिपोर्टमा आधारित छ । नयाँ डिजाइनअनुसार आईफोन १७ प्रोमा गुगल पिक्सेल ९ प्रोमा जस्तै क्यामेरा बार राखिएको छ । क्यामेरा बारको आकार पहिलाका अनुमान गरिएका डिजाइनहरूभन्दा केही ठूलो छ ।

क्यामेरा लेन्स त्रिकोणीय आकारमा बारको बायाँतर्फ राखिएका छन् भने एलईडी फ्ल्यास, रियर माइक्रोफोन र लिडार स्क्यानर दायाँतर्फ ठाडो रूपमा राखिएका छन् । आईफोन १७ को डिजाइन देखेको बताउने फ्रन्ट पेज टेकका जोन प्रोसरका अनुसार आईफोन १७ प्रोमा दुई रङको फिनिसिङ हुनेछ । जसमा क्यामेरा बारको रङ फोनको अन्य भागको रङभन्दा गाढा देखिनेछ । यद्यपि यस डिजाइनको आधिकारिकतामा प्रश्न उठिरहेको छ ।

क्यामेराको फ्ल्यास र लिडार सेन्सर सामान्यतया क्यामेरा लेन्सको नजिक राखिन्छ तर नयाँ डिजाइनमा तिनीहरूलाई दायाँतर्फ राखिएको छ । यो परिवर्तन इफिसियन्सीका लागि हो वा केवल डिजाइनलाई नयाँ रूप दिनका लागि गरिएको हो भन्ने स्पष्ट छैन ।  ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले फ्रन्ट पेज टेकको डिजाइन नक्कली भएको बताएका छन् । तर अन्य स्रोतहरूले पनि क्यामेरा बार ठूलो हुने जानकारी दिएका छन् ।

म्याक र्‍युमर्सका अनुसार आईफोन १७ प्रो म्याक्समा पनि यस्तै डिजाइन हुने सम्भावना छ किनभने एप्पलले प्रो मोडेलमा डिजाइनलाई एकरूपता दिने गरेको छ । यसैगरी आईफोन १७ एयरमा भने सानो क्यामेरा बार हुने अनुमान गरिएको छ । उक्त फोनमा बायाँतर्फ एउटा क्यामेरा र दायाँतर्फ माइक्रोफोन अनि एलईडी फ्ल्यास हुनेछन् । 

आईफोन १७ मा कस्तो डिजाइन हुने हो भन्नेबारेमा अहिले औपचारिक जानकारी उपलब्ध छैन । एप्पलले आईफोन १७ सिरिज आगामी सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आईफोन १७ यस वर्ष सार्वजनिक हुने बहुप्रतीक्षित फोनमा पर्छ । यस वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने आईफोन १७ सिरिजका विभिन्न पक्षबारे अहिले चर्चा भइरहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८१ १८:४७