काठमाडौं । भिरिन्ची कलेजले आफ्ना विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रविधि, शिक्षा र रोजगारीमा पार्नसक्ने प्रभावबारे प्रशिक्षण प्रदान गरेको छ । दक्षिण कोरियाबाट आएका एआईविज्ञ प्राडा दोङ ह्वा किमले विद्यार्थीलाई यस विषयमा प्रशिक्षण दिएका हुन् ।
दक्षिण कोरियास्थित डिडक साइन्स एन्ड टेक्नोलोजी कोअपरेटिभका कार्यकारी समेत रहेका किमले गेस्ट लेक्चररका रूपमा ब्याचलर इन इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएको कलेजले जनाएको छ ।
उनले आफ्नो लेक्चरका क्रममा विद्यार्थीसँग प्रविधि, शिक्षा र अन्तर्राष्ट्रिय रोजगारीमा एआईको परिवर्तनकारी भूमिकाको सम्बन्धमा छलफल गरेका थिए । पछिल्लो समय एआईका कारण उद्योगमा कस्ता परिवर्तन भइरहेका छन्, त्यहाँ काम गर्न कस्ता अनुभव आवश्यक छन् र विश्वव्यापी रुपमा रोजगारी परिदृश्य कसरी परिवर्तन भइरहेको छ भन्ने विषयमा उनले जानकारी गराएका थिए ।
उनले एआईले प्रविधिको क्षेत्रमा ल्याएको द्रुत विकासलाई आत्मसात गर्दै सोही अनुरूप तयारी गर्न उनले आग्रह गरे । ‘एआई प्रविधिमात्रै नभएर नयाँ सोच हो,’ डा. किमले भने, ‘भिरिन्ची जस्ता कलेजले नयाँ पुस्तामाझ यो सोचलाई गहिराइसम्म पुर्याउन ठुलो सहयोग पुर्याउने छ ।’
विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्य अनुरूप यो कार्यक्रम आयोजना गरेको कलेजले जनाएको छ । यसले विद्यार्थीलाई नयाँ प्रविधिसँग घुलमिल हुन सहयोग पुर्याउने कलेजको विश्वास छ ।