‘एक-दुई ठाउँमा’ वा ‘अधिकांश ठाउँमा’ पानी पर्छ भन्नुको अर्थ के हो ? यसो भन्छन् मौसमविद्
असोज २१, २०८२ १३:४७
एआई सिर्जित तस्बिर
काठमाडौँ । यस पटकको दशैँ झरीमय बन्यो । ठाउँठाउँमा बाढी पहिरो आए । विपद्को जोखिम अझै जोखिम हटेको छैन । झरीसँगै मनमा अनेक प्रश्न उठ्नु स्वाभाविक हो । ‘आज पानी पर्छ कि पर्दैन ?’, ‘कति ठाउँमा पर्छ होला ?’ यी प्रश्नहरू हामीमध्ये धेरैको मनमा गुन्जिन्छन् ।
तर, जल तथा मौसम विज्ञान विभागले दिने मौसमसम्बन्धी जानकारीमा प्रयोग हुने केही शब्दहरूले भने हामीलाई अझै अलमलमा पार्ने गरेका छन्: ‘एक-दुई ठाउँमा’, ‘थोरै ठाउँमा’, वा ‘केही ठाउँमा’ पानी पर्ने सम्भावना । के हो त यी शब्दहरूको वास्तविक अर्थ ?
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार यी शब्दावलीहरूले कुनै निश्चित भौगोलिक क्षेत्र (जस्तै: प्रदेश) को कति प्रतिशत भूभागमा वर्षा हुने सम्भावना छ भन्ने कुरालाई वैज्ञानिक आधारमा प्रतिनिधित्व गर्छन् ।
उनी भन्छिन्:
-
यदि कुनै प्रदेशको १०% भन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने ‘एक-दुई ठाउँमा’ पानी पर्न सक्छ भनिन्छ ।
-
यदि १०% देखि ३०% सम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने ‘थोरै ठाउँमा’ पानी पर्न सक्छ भनिन्छ ।
-
त्यसैगरी, ३०% देखि ५०% सम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने ‘केही ठाउँमा’ पानी पर्न सक्छ भनिन्छ।
-
त्यस्तै, ५०% देखि ८०% सम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने ‘धेरै ठाउँमा’ पानी पर्न सक्छ भनिन्छ ।
-
यदि ८०% भन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने ‘अधिकांश ठाउँमा’ पानी पर्न सक्छ भनिन्छ ।
मौसम अपडेट लिँदा यी शब्दावलीबारे जानकारी लिन सकियो भने किसानदेखि यात्रुसम्म सबैलाई आफ्नो दैनिक योजना बनाउन मद्दत पुग्छ ।
पानी परेको जानकारी दिँदा हामीले, 'एक-दुई ठाउँमा पानी पर्ने सम्भावना', 'थोरै ठाउँमा पानी पर्ने सम्भावना' जस्ता शब्द प्रयोग गर्छौं। यो भनेको के हो भनेर धेरैले सोध्नु भएको छ। के हो त यसको अर्थ ?#WeatherAlert #Rain #Thunderbolts #forecast pic.twitter.com/i4vBXdqqMd
— Nepal Weather Forecast (@DHM_Weather) June 1, 2025
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १३:५८
