झण्डै १४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै पोखरा विश्वविद्यालय, यसरी दिनुहोस् आवेदन
जेठ ३१, २०८३ २१:५९
काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८३ का लागि स्नातक तहमा झण्डै १४ सय विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन र मानविकी संकाय अन्तर्गतका विभिन्न २५ भन्दा बढी कार्यक्रमहरूमा एक हजार ३८१ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्न लागेको हो ।
विश्वविद्यालयले सूचना प्रविधि (आईटी) र प्राविधिक क्षेत्रमा मात्रै ४०० भन्दा बढी सिटमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसअन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयमा १०७, सफ्टवेयर इन्जिनियरिङमा २९, बीई-आईटीमा ५३ र बीसीएमा ६५ सिट छात्रवृत्ति उपलब्ध गराउन लागिएको विश्वविद्यालयले जानकारी गराएकाे छ ।
यस्तै, ब्याचलर्स अफ एआई एन्ड डेटा साइन्सका लागि ९ सिट र व्यवस्थापन संकाय अन्तर्गत अध्यापन हुने बीसीएसआईटीका लागि ९४ सिट छुट्याइएको छ । विश्वविद्यालयले व्यवस्थापन संकायमा छात्रवृत्तिका लागि ७७७ कोटा छुट्याएको छ । यस्तै, विज्ञान तथा प्रविधि (इन्जिनियरिङ/आर्किटेक्चर) संकायमा ४७४ सिट, विज्ञान तथा प्रविधि (बीसीए, एआई, बीएस सी इन्भायरमेन्ट) मा ८४ सिट, मानविकी तथा सामाजिक शास्त्र (बीएएलएलबी, बीडेभएस) मा ४६ सिट छात्रवृत्तिका लागि छुट्याएको हो ।
विश्वविद्यालयले छुट्याएको कुल छात्रवृत्ति कोटा मध्ये ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गरिनेछ भने ४० प्रतिशत सिट आरक्षित कोटाका लागि छुट्याइएको छ । खुला र आरक्षणमा ५० प्रतिशत सिट छात्राका लागि अनिवार्य गरिएको विश्वविद्यालयले जनाएको छ ।
छात्रवृत्तिमा सहभागी हुन इच्छुक विद्यार्थीले विश्वविद्यालयको आधिकारिक पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । १४ असार राति १२ बजेसम्म ईसेवा, खल्ती वा कनेक्ट आईपीएस मार्फत एक हजार ६०० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सकिनेछ ।
छात्रवृत्तिका लागि २० र २१ असारमा पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन परिसरमा परीक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत सूचना यहाँ क्लिक गरेर हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ २२:६
