close

क्यान्भा जस्तै, तर निःशुल्क प्रयोग गर्न सकिने डिजाइनिङ वेबसाइट

टेकपाना टेकपाना

जेठ ३०, २०८३ १७:०

क्यान्भा जस्तै, तर निःशुल्क प्रयोग गर्न सकिने डिजाइनिङ वेबसाइट

काठमाडौँ । ग्राफिक्स डिजाइनका लागि क्यान्भा एक उपयोगी टुल हो । तर यसको निःशुल्क संस्करणमा सीमित फिचर मात्र प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, तयार पारिएको डिजाइनलाई हाई क्वालिटीमा डाउनलोड गर्न वा डिजाइनको साइज परिवर्तन गर्न क्यान्भाको सशुल्क भर्सन नै लिनुपर्ने हुन्छ । 

यदि तपाईं क्यान्भाको सशुल्क भर्सन प्रयोग गर्न चाहनुहुन्न भने यसको विकल्पका रूपमा ‘पोलोट्नो’ (Polotno) नामक अनलाइन टुल प्रयोग गर्न सक्नुहुन्छ । क्यान्भा जस्तै उपयोगी फिचर भएको यो टुल प्रयोग गर्न कुनै शुल्क लाग्दैन र यसमा अनिवार्य रूपमा अकाउन्ट बनाइरहनु पनि पर्दैन । यद्यपि, आफ्ना डिजाइन र फाइलहरू सुरक्षित राख्न चाहनेले भने यसमा अकाउन्ट बनाउन सक्छन् ।

क्यान्भामा धेरैजसो राम्रा स्टक फुटेज र इमेजका लागि शुल्क तिर्नुपर्ने हुन्छ । तर पोलोट्नोमा उपलब्ध स्टक फुटेज विनाशुल्क प्रयोग गर्न सकिन्छ । यद्यपि, क्यान्भाको तुलनामा यसमा खोजेका सबै फुटेज नभेटिन पनि सक्छन् । यसैगरी, यदि तपाईंले कुनै डिजाइन तयार पारिसकेपछि त्यसको साइज परिवर्तन गर्नु परेमा क्यान्भामा शुल्क तिर्नुपर्छ ।

तर पोलोट्नोमा यो फिचर पूर्ण रूपमा निःशुल्क छ । यस टुलमा प्रयोगकर्ताका लागि हजारौँ फोटो, भिडिओ क्लिप र सयौँ तयारी टेम्प्लेट उपलब्ध छन् । यी टेम्प्लेटलाई आफ्नो आवश्यकता अनुसार सहजै सम्पादन गर्न सकिन्छ ।

डिजाइनलाई आकर्षक बनाउनका लागि यसमा फोटो एडिट गर्ने, एआईको सहायताले नयाँ फोटो तयार पार्ने, विभिन्न आकार छनोट गर्ने र आइकन राख्ने जस्ता सुविधा पनि समावेश छन् । विशेषगरी नेपाली भाषामा डिजाइन गर्नेका लागि यो टुल बढी उपयोगी हुन सक्छ ।

किनकि यसमा नेपाली युनिकोड सपोर्ट गर्ने फन्ट पहिले नै उपलब्ध छन् । तर, यसमा बाहिरबाट नयाँ फन्ट डाउनलोड गरेर आफै अपलोड गर्ने सुविधा भने छैन, जुन सुविधा क्यान्भाको सशुल्क भर्सनमा उपलब्ध छ ।

यस टुलको अर्को फाइदा भनेको डिजाइन तयार भइसकेपछि आफ्नो आवश्यकता अनुसार फुल एचडी क्वालिटीमा निःशुल्क डाउनलोड गर्न सकिन्छ । सामान्यतया कहिलेकाहीँ मात्र डिजाइन गर्ने र धेरै खर्च नगरी आफ्ना डिजाइनसम्बन्धी काम पूरा गर्न चाहनेहरूका लागि पोलोट्नो क्यान्भाको एउटा राम्रो विकल्प बन्न सक्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ २२:१७