close

मनसुनजन्य विपदमा तत्काल सडक खुलाउन ‘डोजर ट्रयाक’ एप ल्याएका छौँ- गृहमन्त्री गुरुङ

टेकपाना टेकपाना

असार ४, २०८३ १३:४७

मनसुनजन्य विपदमा तत्काल सडक खुलाउन ‘डोजर ट्रयाक’ एप ल्याएका छौँ- गृहमन्त्री गुरुङ

 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनका समयमा पहिरोका कारण अवरुद्ध हुने सडकहरू तत्काल खुलाउन डोजर ट्रयाक गर्ने मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई चुस्त बनाइने बताएका हुन् ।

पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तयार पारिएको यो एपले देशभरका विभिन्न स्थानमा रहेका डोजर र हेभी मेसिनरीहरूको वास्तविक लोकेसन देखाउने बताइएको छ । जसले गर्दा कुनै पनि स्थानमा पहिरो खसेर बाटो बन्द भएमा सबैभन्दा नजिक रहेको डोजरलाई तुरुन्तै घटनास्थलमा पठाउन सहज हुने मन्त्री गुरुङले बताए । ।

“हाम्रो लाइन मिनिस्ट्रीले ‘डोजर ट्रयाक’ गर्ने एप ल्याएको छ । डोजरहरू कहाँ-कहाँ छ भन्ने हामीलाई ठ्याक्कै थाहा हुन्छ । जसरी राइड शेयरिङ एपहरूले लोकेसन देखाउँछन्, त्यसरी नै यो एपमार्फत नजिकैको डोजर पहिचान गरी तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एप डेभलप गरेका छौं,” उनले भने ।

विगतमा डोजर खोज्दा र घटनास्थलसम्म पुर्‍याउँदा लामो समय लाग्ने र यात्रीहरूले सास्ती खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्न यो कदम चालिएको उनले बताए । मन्त्री गुरुङले यसपटक मन्त्रीको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र सहजतालाई प्राथमिकता दिइएको उल्लेख गर्दै उपलब्ध साधन स्रोत र हेलिकप्टरहरूलाई उद्धार र राहतमै केन्द्रित गरिने योजना सुनाए ।

उनले थपे, “विगतमा भएका कमीकमजोरीहरूलाई सच्याउँदै यसपालि हामीले पूर्वतयारीलाई तीव्र पारेका छौं । कुनै पनि नागरिकलाई विगतमा जस्तो सडकमा धेरै समय रोकिन नपर्ने गरी हामीले रेस्पोन्स टिमलाई पनि सक्रिय बनाएका छौं ।”

विगतमा आफू स्वयं पनि विपदका समयमा उद्धार कार्यमा खटिएको भन्दै उनले यसपटक प्रविधिको उच्चतम् प्रयोग गरी धनजनको क्षति न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पछिल्लो अध्यावधिक: असार ४, २०८३ १३:४७