काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह (बी.ई. र बी.आर्क.) मा नयाँ विद्यार्थी भर्ना लिन प्रवेश परीक्षाको आवेदन खुला गरेको छ । आगामी २८ असारदेखि सञ्चालन हुने परीक्षाका लागि बुधबार बिहान १० बजेदेखि अनलाइन आवेदन दिन सकिने संस्थानले जनाएको छ ।
विगतका वर्षहरूमा आईओईले साउन अन्तिम वा भदौ पहिलो सातातिर प्रवेश परीक्षा लिने गरेको थियो । सोही अनुरूप संस्थानले सुरुमा सार्वजनिक गरेको वार्षिक शैक्षिक क्यालेन्डरमा १५ साउनदेखि १५ भदौभित्र परीक्षा लिने उल्लेख थियो ।
तर, गत २५ जेठमा पुन: अर्को सूचना जारी गर्दै संस्थानले २८ असारमै प्रवेश परीक्षा लिने निर्णय गरेको थियो । पूर्वनिर्धारित समयभन्दा अगावै परीक्षा हुन लागेकाले तयारीका लागि पर्याप्त समय नपाएको भन्दै विद्यार्थीहरूले दबाब महसुस गरेका छन् । तीव्र तयारीका बीच आईओईले असार २८ कै मितिलाई कायम राख्दै आवेदन आह्वान गरेको हो ।
आईओईले स्नातक तहका १२ विभिन्न विधामा भर्ना खुलाएको छ । जसमा सिभिल, कम्प्युटर, आर्किटेक्चर, इलेक्ट्रिकल, एग्रिकल्चर, अटोमोबाइल, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन, इन्डस्ट्रियल, एयरोस्पेस, मेकानिकल, जियोमेटिक्स र केमिकल इन्जिनियरिङ रहेका छन् ।
प्रवेश परीक्षामा सफल विद्यार्थीले आईओईका आङ्गिक क्याम्पसहरू- पुल्चोक (ललितपुर), थापाथली (काठमाडौँ), पश्चिमाञ्चल (पोखरा), पूर्वाञ्चल (धरान) र चितवन इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्न पाउनेछन् । यसका अतिरिक्त आईओईबाट सम्बन्धन प्राप्त १० वटा निजी कलेजहरूमा समेत भर्ना हुन सकिने संस्थानले जनाएको छ ।
आवेदन दिनका लागि विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय लिई कक्षा ११ र १२ वा सो सरहको परीक्षामा कुल पूर्णाङ्कको कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ । ग्रेडिङ प्रणालीको हकमा हरेक विषयमा न्यूनतम ‘सी’ ग्रेड अनिवार्य गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीले पनि आवेदन दिन सक्नेछन् ।
इच्छुक विद्यार्थीले आधिकारिक वेबसाइट entrance.ioe.edu.np मार्फत अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन फाराम ३ असार बिहान १०:०० बजेदेखि असार १७ गते साँझ ५:०० बजेसम्म भर्न सकिनेछ ।
प्रवेश परीक्षा शुल्क दुई हजार ५०० रुपैयाँ तोकिएको छ । विद्यार्थीले सिद्धार्थ बैंकका कुनै पनि शाखा वा कनेक्ट आईपीएस, इसेवा र खल्ती वालेटमार्फत शुल्क भुक्तानी गर्न सक्नेछन् । प्रवेश पत्र २६ असारपछि अनलाइनबाटै डाउनलोड गर्न सकिने संस्थानको सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ १७:१०
