काठमाडौं । काठमाडौंको काँडाघारी क्षेत्रमा वाकीटकी सेट देखाएर ‘म प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई गत बुधबार राति करिब ९:२५ बजेको समयमा काठमाडौँ-३२ स्थित फुटबल ग्राउण्ड नजिकैबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा डंगोललाई पक्राउ गरेको हो । उनी प्रदेश ३-०१-०२३ च २५३० नम्बरको सवारी साधनमा सवार थिए । सोही क्रममा उनले आफूसँग भएको वाकीटकी सेट देखाई ‘म प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई धम्काउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डंगोलको साथबाट बाओफेङ कम्पनीको एक थान वाकीटकी सेट, सवारी साधनको ब्लु बुक एक थान, सूचना तथा प्रसारण विभागबाट जारी भएको तर नवीकरण नगरिएको ‘प्रभाव दैनिक’ को प्रेस प्रतिनिधि परिचयपत्र एक थान पक्राउ गरिएको छ ।
पक्राउ परेका डंगोलमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, हाल डंगोललाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर विस्तृत अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ ६:५२
