close

कपाल उमार्नेदेखि बोसो घटाउनेसम्मका भ्रामक विज्ञापन छ्या‍पछ्याप्ती, कारबाही गर्न उजुरी आह्वान

टेकपाना टेकपाना

असार ४, २०८३ १५:१७

कपाल उमार्नेदेखि बोसो घटाउनेसम्मका भ्रामक विज्ञापन छ्या‍पछ्याप्ती, कारबाही गर्न उजुरी आह्वान

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेका भ्रामक र आधारहीन विज्ञापनहरूप्रति कडा कदम चालेको छ । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सर्वसाधारणलाई ठगी गर्ने यस्ता विज्ञापनहरूविरुद्ध बोर्डले कारबाही प्रक्रिया अगाडि बढाउन उजुरी आह्वान गरेको हो ।

बोर्डका अनुसार पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा प्रचलित कानुनले निषेध गरेका सामग्रीहरूको विज्ञापन व्यापक रूपमा फैलिरहेको छ । आवश्यक लेबलिङ नभएका, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरणसमेत नभएका औषधीजन्य पदार्थ तथा सामग्रीहरूको विज्ञापनले आम नागरिकलाई भ्रममा पारेको र ठगी गरिरहेको भन्दै बोर्डमा विभिन्न उजुरीहरू प्राप्त भएका छन् ।

विशेषगरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मिर्गौला सफा गर्ने र शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दाबी गरिएका आधारहीन तथा भ्रामक विज्ञापनहरू सामाजिक सञ्जालमा छ्या‍पछ्याप्ती भेटिएको बोर्डले जनाएको छ । यस्ता प्रकृतिका सामग्रीहरूले जनस्वास्थ्यको आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको छ ।

बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुन विपरीत यस्ता कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ । चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गरिनुपर्ने संवेदनशील औषधिहरूको समेत भ्रामक विज्ञापन भइरहेकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भ्रम वा अफवाह फैलाउने, आवश्यक लेबलिङ तथा आधिकारिक प्रमाणीकरण नभएका यस्ता भ्रामक विज्ञापनहरू प्रकाशन वा प्रसारण भएको पाइएमा तत्काल विज्ञापन बोर्डमा उजुरी दिन आम सर्वसाधारणलाई अपिल गरिएको छ । बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) ले हस्ताक्षर गरेको सूचनामार्फत भ्रम, अफवाह वा ठगी गर्ने उद्देश्यले राखिएका यस्ता विज्ञापन तत्काल हटाउन निर्देशन दिइएको छ ।

साथै, भविष्यमा यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ । अटेरी गरी यस्ता कार्य गरे वा गराएको पाइएमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ४, २०८३ १५:१८