close

नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

टेकपाना टेकपाना

असार ६, २०८३ १२:३२

नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

काठमाडौँ । १९ वर्षीय नेपाली युवा आदित्य सुवेदी र क्यानडाका २० वर्षीय इब्राहिम हुसेनले संयुक्त रूपमा स्थापना गरेको प्रविधि कम्पनी ‘आर्किटेक्ट ल्याब्स’ले २ करोड ४० लाख अमेरिकी डलर (करिब तीन अर्ब ६१ करोड ४८ लाख रुपैयाँ) को प्रारम्भिक लगानी (सिड फन्डिङ) जुटाएको छ । एआईको प्रयोग गरी सेमिकन्डक्टर चिप डिजाइन प्रक्रियालाई छिटो र किफायती बनाउने उद्देश्यका साथ कम्पनीले यो लगानी जुटाएको हो ।

यस लगानी चरणको नेतृत्व ‘किन्ड्रेड भेन्चर्स’ले गरेको थियो भने टिक्यु भेन्चर्स, रेस क्यापिटल र टुगेदर फन्डले पनि यसमा सहभागिता जनाएका छन् । यसका अतिरिक्त गुगल डिपमाइन्डका प्रमुख वैज्ञानिक जेफ डिन तथा ओपनएआई र एनभिडियाका उच्च अधिकारीले पनि व्यक्तिगत रूपमा यस कम्पनीमा लगानी गरेको रोयटर्सले उल्लेख गरेको छ ।

हाल चिप डिजाइन प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो मानिन्छ । एउटा चिपको पूर्ण डिजाइन तयार गर्न सामान्यतया झन्डै दुई वर्ष लाग्ने र अनुसन्धान तथा श्रममा ठूलो धनराशि खर्च हुने गेको छ । आर्किटेक्ट ल्याब्सले एआईको सहायताले यो प्रक्रियालाई सहज र तीव्र बनाउने लक्ष्य राखेको छ ।

ताइवानको कम्पनी टीएसएमसीले चिप उत्पादनलाई सहज बनाएजस्तै चिप डिजाइन प्रक्रियालाई पनि सहज र पहुँचयोग्य बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको सह-संस्थापक आदित्य सुवेदीले बताए । “पहिले अरूको कारखाना प्रयोग गरेर चिप बनाउन सजिलो भयो,” उनले लिङ्क्डइनमा लेखेका छन्, “अब हामी अरूको आइडिया वा आवश्यकता सुनेर उनीहरूलाई ठ्याक्कै सुहाउने ‘चिप डिजाइन’ बनाइदिने कामलाई एकदमै सजिलो बनाउन चाहन्छौं, जसले गर्दा प्रविधिको विकासमा अहिलेको भन्दा ठूलो फड्को मार्न सकियोस् ।”

रोयटर्ससँग कुरा गर्दै कम्पनीका अर्का सह-संस्थापक इब्राहिम हुसेनले आफूहरूले चिप निर्माता कम्पनीका साथै सफ्टवेयर कम्पनीलाई पनि लक्षित गर्ने जानकारी दिए । यसबाट सफ्टवेयर कम्पनीले आफ्ना एप्लिकेसनलाई अझ तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्न कस्टम चिप्सको प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

“अहिलेको अवस्थामा कम्पनीको मुख्य चुनौती ब्याकइन्ड एक्जिक्युट वा लेआउट मात्र होइन,” हुसेनले भने, “मुख्य चुनौती त आफूले बजारमा ल्याउन चाहेको एआई वा रोबोटिक्स जस्ता वर्कलोडलाई धान्न सक्ने गरी चिपको आर्किटेक्चर कसरी तयार गर्ने भन्ने हो ।”

हाल अमेरिकी सेमिकन्डक्टर कम्पनी ब्रोडकम र मार्भेलले अमेजन तथा गुगल जस्ता क्लाउड कम्प्युटिङ कम्पनीका लागि विशेष एआई र अन्य सामान्य प्रयोजनका चिप डिजाइन गर्दै आएका छन् । यसले बजारमा एनभिडियाका हार्डवेयरको विकल्प समेत प्रदान गरिरहेको छ । आर्किटेक्ट ल्याब्स यही डिजाइन प्रक्रियालाई थप सुलभ बनाउन लागिपरेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित पालो अल्टोमा स्थापना भएको यस कम्पनीमा हाल मेसिन लर्निङ र हार्डवेयर विशेषज्ञ गरी १८ जना कर्मचारी कार्यरत छन् ।

तत्कालिन सिक्षा, विज्ञान तथ प्रविधि मन्त्रालयमा रिसर्च इन्टर्न थिए आदित्य

आर्किटेक्ट ल्याब्सका चिफ अपरेटिङ अफिसर समेत रहेका आदित्य सन् २०२३ तिर लुमियर एजुकेसन (हार्वार्ड र अक्सफोर्डका अनुसन्धानकर्ताले स्थापना गरेको संस्था) मा रिसर्च इन्टर्नका रूपमा आवद्ध थिए । त्यसको एक वर्ष नबित्दै सन् २०२३ मै उनले कौशाला नामको स्टार्टअप खोले । त्यसपछि जुन २०२४ मा उनी तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रिसर्च इन्टर्नका रूपमा आवद्ध भए ।

आदित्यका अनुसार उनी हार्वार्ड विश्वविद्यालयमा म्याथम्याटिक्स एन्ड कम्प्युटर साइन्स अध्ययन गरिरहेका थिए । तर, त्यो पनि ड्रप आउट गरे । पछि स्ट्यानफोर्ड युनिभर्सिटीमा रिसर्च इन्टर्नका रूपमा आवद्ध भए । त्यही वर्ष हार्वार्ड विश्वविद्यालयमा पनि रिसर्च इन्टर्नका रूपमा आवद्ध भए । उनले अगस्ट २०२५ मा आर्किटेक्ट ल्याब्स स्थापना गरेका हुन् ।

आदित्य भन्छन्, “आर्किटेक्ट ल्याब्स भविष्यप्रतिको एउटा यस्तो दीर्घकालीन अनुसन्धानको प्रयास हो, जहाँ हार्डवेयर र सफ्टवेयरलाई एकसाथ डिजाइन गरिनेछ । यसबाट आगामी पुस्ताका कम्पनीले हाल लागिरहेको समय र म्यानुअल इन्जिनियरिङको तुलनामा निकै कम समय र मेहेनतमै आफ्नो आवश्यकता अनुसारको पूर्वाधार निर्माण गर्न सक्नेछन् ।” उनी थप्छन्, “हाम्रो संस्थापक टोलीसँग सामूहिक रूपमा ८० भन्दा बढी प्रोडक्सन चिप्स निर्माण गरेको, १० अर्ब डलरबराबरको डेटासेन्टर प्रडक्ट लाइनको नेतृत्व गरेको र मेटाको एआई सिलिकनमा मुख्य योगदानकर्ताका रूपमा काम गरेको अनुभव छ । साथै, इन्टेल एआई ल्याब्सबाट पहिलो न्युरोमोर्फिक चिप डिजाइन गरेको, एन्थ्रोपिक, एक्सएआई तथा गुगल डिपमाइन्डमा अनुसन्धान टोलीको नेतृत्व गरेको र हरेकजसो प्रमुख ल्याबमा एआई अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विज्ञता हाम्रो टोलीसँग छ ।

हामीले सेमीकन्डक्टर कम्पनीको चिप निर्माण प्रक्रियालाई तीव्रता दिन उनीहरूसँग साझेदारी गरिसकेका छौँ र हामीले एआईमार्फत डिजाइन गरेका केही चिप्स यसै वर्ष फाउन्ड्री नोड्समार्फत निर्माणको चरणमा जाँदैछन् ।”

यता आर्किटेक्ट ल्याब्सका सहसंस्थापक २० वर्षीय हुसेनसँग दिग्गज प्रविधि कम्पनीमा काम गरेको अनुभव छ । सन् २०२४ मा उनले टेस्लाको एआई फाइभ सिलिक टिमसँग रहेर अटोपाइलट हार्डवेयर इन्टर्नको भूमिकामा काम गरेका थिए । त्यही वर्ष एप्पलमा हार्डवेयर टेक्नोलोजी इन्टर्नका रूमा काम गरे । त्यसपछि सन् २०२५ मा स्ट्यान्डफोर्ड युनिभर्सिटीमा भिजिटङ रिसर्चरका रूपमा काम गरेका उनले आदित्यसँग मिलेर आर्किटेक्स ल्याब्स स्थापना गरेका हुन् । हाल उनी सो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा छन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १४:३५