close

फ्याक्टचेकः गृहमन्त्री गुरुङले भिरबाट टेम्पो खसालिएको टेम्पोको सट्टा नयाँ दिएको भन्दै फेक एआई फोटो भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

असार २, २०८३ ८:७

फ्याक्टचेकः गृहमन्त्री गुरुङले भिरबाट टेम्पो खसालिएको टेम्पोको सट्टा नयाँ दिएको भन्दै फेक एआई फोटो भाइरल

काठमाडौँ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङले एक महिलालाई नयाँ टेम्पो दिएको दाबीसहितको पोस्ट भाइरल भइरहेको छ । कैलालीमा वन कर्मचारीले एक सर्वसाधारणको टेम्पो भिरबाट खसालेको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्रीले नयाँ टेम्पो दिएको दाबी गरिएको हो ।

टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । यो सामग्री तयार पार्दासम्म गृहमन्त्री गुरुङले यस घटनालाई अमानवीय कार्यको संज्ञा दिएका छन् । तर, नयाँ टेम्पो भने दिएका छैनन् ।

दाबी

सोमबार (१५ जुन २०२६) दिउसो १२ः४१ बजे ‘Durga Gm Pyuthai’ नामक फेसबुक प्रयोगकर्ताले एक पोस्ट राखे । पोस्टको क्याप्सनमा लेखिएको छ, “मनकारी मन्त्री खुसीको खबर गृहमन्त्री सुधन गुरुङले दिए नयाँ टेम्पो सम्मान स्वरूप सेयर गर्नुहोस् ।” सो पोस्टमा प्रयोग भएको फोटोमा पनि क्याप्सनमै राखिएको टेक्स्ट समावेश गरिएको छ । त्यसमा थप लेखिएको छ, “गरिबीको ट्याम्पु फाल्ने कर्मचारी पक्राउ ।” फोटमा गृहमन्त्री गुरुङको पृष्ठभूमिमा निलो रङ्गको ‘नयाँ टेम्पो’ लेखिएको सवारी देखिन्छ । अगाडि गृहमन्त्री गुरुङले एक व्यक्तिलाई साँचो हस्तान्तरण गरेको देखाइएको छ । यो सामग्री तयार पार्सासम्म उक्त पोस्टमा ३ हजार बढी रियाक्सन, २२० कमेन्ट आएका छन् भने २२० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले ‘गृहमन्त्री’, ‘नयाँ टेम्पो’, ‘मनकारी गृहमन्त्री’ जस्ता किवर्ड सर्च गर्‍यो । त्यस क्रममा गुरुङले पीडित भनिएकी महिलालाई टेम्पो उपहार दिएको दाबी गर्ने दर्जनौं अन्य अकाउन्ट फेला परे । ‘हाम्रो झापा’ नामक फेसबुक ग्रुपमा ‘Jeeyans Magar’ नामक प्रयोगकर्ताले सोही दाबी पोस्ट गरेका छन् । उनको पोस्टमा ७४६ रियाक्सन र ११७ कमेन्ट आएका छन् भने ४८ पटक शयेर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

त्यस्तै ‘BALEN SHAH (बालेन समर्थक)’ नामक फेसबुक ग्रुपमा ‘Taja News’ नामक अकाउन्टले गृहमन्त्री गुरुङले नयाँ टेम्पो दिएको दाबी सहित पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ र स्क्रिनशट ।

त्यसैगरी ‘जनता जनार्दन’ नामक फेसबुक ग्रुपमा ‘Ajay Kumar’ नामका प्रयोगकर्ताले सोही पोस्ट राखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यो दाबी सबैभन्दा पहिले ‘Nepali Rajneeti News’ नामक फेसबुक पेजले राखेको देखिन्छ । यस पेजले सोमबार बिहान ९ः२४ बजे सो पोस्ट राखेको थियो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

टेकपाना फ्याक्टचेक डेस्कले यसबारे तथ्यजाँच गर्न गृहमन्त्री गरुङबारेका समाचार खोज्यो । एड्भान्स सर्च गरेर गृहमन्त्री र भिरबाट खसालिएको टेम्पो धनीबारे समाचार खोजियो । त्यस क्रममा बीबीसी नेपाली सेवाको ‘कैलाली टेम्पो प्रकरणमा छानबिन समिति, भएको के हो’ शीर्षकको समाचार फेला पर्‍यो । हेर्नुहोस् समाचार । समाचारमा गृहमन्त्री गुरुङले सो कार्यलाई अमानवीयको संज्ञा दिएको उल्लेख छ । 

नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार ३१ जेठमै ‘टेम्पोलाई भिरबाट खसाएको घटनाको अनुसन्धान’ सुरु भइसकेको छ भने त्यस घटनामा जोडिएका वन कार्यालयका १२ कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । 

२९ जेठमा कैलालीको गोदावरीमा वन कर्मचारीले एक टेम्पो भिरबाट खसालिदिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । वन कार्यालयले भने भिरबाट खसालिएको नभई सार्ने क्रममा खसेको दाबी गरेको थियो । तर भाइरल भिडिओमा वन कार्यालयका कर्मचारीले खसालेको जस्तो देखिन्छ । यस विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । हेर्नुहोस् समाचार । 

गृहमन्त्री गुरुङले पीडित भनिएकी महिला धनादेवी धामीलाई नयाँ टेम्पो दिएको विषयमा कुनै पनि विश्वसनीय सञ्चार माध्यममा समाचार आएको छैन । टेम्पोको चाबी दिएको देखिने फोटो ओपनएआईमा जाँच गर्दा एआईबाट बनाइएको देखियो । त्यसमा रातो ओभरले राखेर पछिबाट टेक्स्ट थपिएको पुष्टि हुन्छ ।

दाबी

कैलालीमा वन कर्मचारीले भिरबाट खसालिदिएको टेम्पोकी धनी (पीडित महिला) लाई गृहमन्त्री सुधन गुरुङले सम्मान स्वरूप नयाँ टेम्पो उपहार दिएका छन् ।

दाबीकर्ता

‘Nepali Rajneeti News’ नामक फेसबुक पेजले सबैभन्दा पहिले यो दाबी फैलाएको हो । त्यसपछि फेसबुकमा ‘Durga Gm Pyuthai’, ‘Jeeyans Magar’ (हाम्रो झापा ग्रुप), ‘Taja News’ (बालेन समर्थक ग्रुप) र ‘Ajay Kumar’ (जनता जनार्दन ग्रुप) लगायतका प्रयोगकर्ताले यो दाबी फैलाएका हुन् ।
तथ्य

२९ जेठमा कैलालीको गोदावरीमा वन कर्मचारीले एक महिलाको टेम्पो भिरबाट खसालिदिएको घटना सार्वजनिक भएको थियो । जसको छानबिनका लागि समिति गठन गरिएको छ र १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

गृहमन्त्री सुधन गुरुङले उक्त घटनालाई ‘अमानवीय कार्य’ भनी टिप्पणी गरे पनि पीडित महिलालाई नयाँ टेम्पो दिएको भन्ने दाबी मिथ्या हो । यसबारे कुनै पनि स्थापित सञ्चार माध्यममा समाचार प्रकाशित भएका छैनन् ।

फेसबुक पोस्टमा प्रयोग गरिएको फोटो (जसमा गृहमन्त्रीले नयाँ टेम्पोको चाबी हस्तान्तरण गरिरहेको देखिन्छ) ओपनएआई मार्फत जाँच गर्दा एआई सिर्जित भएको र पछि एडिट गरी टेक्स्ट थपिएको पाइएको छ ।

निष्कर्ष

गृहमन्त्री सुधन गुरुङले भिरबाट टेम्पो खसालिएको टेम्पोको पीडित महिलालाई नयाँ टेम्पो दिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका पोस्ट र तस्बिर झुटो हो ।



 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ ११:१७