close

युट्युबर मिस्टर बिस्ट अब उपन्यासकार पनि, यस्तो देखियो ‘द मस्ट डेन्जरस गेम्स’ को कभर

टेकपाना टेकपाना

असार ६, २०८३ १७:३७

युट्युबर मिस्टर बिस्ट अब उपन्यासकार पनि, यस्तो देखियो ‘द मस्ट डेन्जरस गेम्स’ को कभर

काठमाडौं । विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) र साहित्यकार जेम्स प्याटरसनको संयुक्त लेखनमा तयार भएको उपन्यास ‘द मस्ट डेन्जरस गेम्स’ (The Most Dangerous Games) को कभर सार्वजनिक भएको छ । यो थ्रिलर उपन्यास सार्वजनिक हुने घोषणासँगै मिस्टर बिस्ट अब उपन्यासकारको रूपमा समेत चिनिने भएका छन् ।

शनिबार लिङ्क्डइनमार्फत मिस्टर बिस्टले उपन्यासको आवरण र प्रकाशन मिति सार्वजनिक गरेका हुन् । हार्परकोलिन्स (HarperCollins) प्रकाशन गृहले सन् २०२६ सेप्टेम्बर १ मा यो पुस्तक विश्वव्यापी रूपमा बजारमा ल्याउने तयारी गरेको छ ।

युट्युबमा एक सिनेम्याटिक ट्रेलर सार्वजनिक गर्दै यस सहकार्यको औपचारिक घोषणा गरिएको हो । हाल पुस्तकको ‘प्रि-अर्डर’ खुला भइसकेको छ । पाठकहरूले अमेजन, बार्न्स एन्ड नोबेल, वालमार्ट, मिस्टरबिस्ट स्टोर लगायतका माध्यमबाट पुस्तक बुक गर्न सक्नेछन् । 

कस्तो छ उपन्यासको कथा ? 

‘द मस्ट डेन्जरस गेम्स’ विनाशको सङ्घारमा पुगेको संसारको काल्पनिक पृष्ठभूमिमा आधारित छ । उपन्यासमा १०० जना प्रतियोगीहरू एक उच्च जोखिमयुक्त ‘सर्भाइभल’ प्रतियोगितामा सहभागी हुन्छन् । उक्त प्रतियोगिता जित्नेले एक अर्ब अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने र मानव जातिको रक्षा गर्ने अवसर पाउने रोमाञ्चक कथा यसमा समेटिएको छ ।

हार्परकोलिन्सले यस उपन्यासलाई तीन संस्करणमा बजारमा ल्याउनेछ । पहिलो मुद्रणका लागि मात्र उपलब्ध हुने ‘टार्गेट-एक्सक्लुसिभ’ संस्करणमा विशेष कभर, बुट्टादार किनारा, चित्रले सजिएका पाना र अतिरिक्त सामग्री समावेश हुनेछन् ।

यसका साथै अन्य प्रमुख विक्रेतामार्फत ‘डिलक्स’ र ‘स्ट्यान्डर्ड हार्डकभर’ संस्करण पनि उपलब्ध हुनेछन् । यो पुस्तक अमेरिका, बेलायत, क्यानडा लगायतका विभिन्न देशमा एकैसाथ सार्वजनिक गरिने बताइएको छ ।

नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने लक्ष्य 

नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको मिस्टर बिस्टले बताएका छन् । उनले भनेका छन्, “हुर्कने क्रममा मलाई पुस्तकहरू पट्यारलाग्दा लाग्थे । तर २० वर्षको उमेरमा पुगेपछि मैले बुझेँ कि म गलत पुस्तक पढिरहेको थिएँ । सही पुस्तक छान्न सके पठन निकै रोमाञ्चक हुन सक्छ । म युवाहरूलाई आकर्षित गर्ने र नयाँ पुस्तालाई पुनः पढ्न प्रेरित गर्ने पुस्तक तयार पार्न चाहन्थेँ ।”

सह-लेखक जेम्स प्याटरसनले पनि यस सहकार्यलाई निकै रचनात्मक बताएका छन् । उनले जिम्मीको कथा वाचन गर्ने क्षमताको प्रशंसा गर्दै भने, “हाम्रो स्पष्ट उद्देश्य प्रशंसकहरूलाई मन पर्ने उत्कृष्ट, आश्चर्यजनक र रोमाञ्चक थ्रिलर सिर्जना गर्नु थियो । जिम्मीको कथा वाचन गर्ने शैली निकै राम्रो छ ।”

जेम्स प्याटरसन विश्वका सर्वाधिक चर्चित र सफल लेखकहरूमध्ये एक हुन् । उनले प्रतिष्ठित एडगर अवार्ड, १० पटक एमी अवार्ड, नेसनल ह्युमानिटिज मेडल जस्ता सम्मान प्राप्त गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८३ १८:८