विश्वकपको लाइभ दिने डिगोले ल्यायो अटो स्केलिङ सुविधा, अब बिचैमा भिडिओ नअड्किने दाबी
असार ९, २०८३ ८:४०
काठमाडौं । फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल स्ट्रिमिङ पार्टनर डिगो (DGO) एपले ग्राहकहरूका लागि भिडिओ स्ट्रिमिङलाई थप सुदृढ बनाउन अटो-स्केलिङ फिचर ल्याएको छ । यसअघि भिडिओ प्रसारणमा केही प्राविधिक समस्या आएपछि कम्पनीले यो नयाँ प्रविधि लागु गरेको हो ।
विश्वकपका खेलहरू लाइभ हेर्ने क्रममा समस्या आएको भन्दै प्रयोगकर्ताहरूले व्यापक गुनासो गरेपछि कम्पनीले हालै एक सार्वजनिक सूचना जारी गर्दै क्षमा याचना गरेको थियो । विशेषगरी स्पेन र साउदी अरेबियाबिचको खेलका क्रममा आएको प्राविधिक अवरोधका कारण ग्राहकहरूले खेलको महत्त्वपूर्ण क्षणहरू हेर्न नपाएकोमा कम्पनीले दुःख व्यक्त गरेको थियो ।
उक्त सूचनामा डिगो टोलीले प्रयोगकर्ताको निराशा र असुविधाप्रति आफूहरू संवेदनशील रहेको र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएको थियो ।
सोही अवरोधलाई मध्यनजर गर्दै र प्लेब्याकलाई अझ स्थिर बनाउन डिगोले अहिले अटो-स्केलिङ सुविधा कार्यान्वयनमा ल्याएको हो । यो प्रविधिअनुसार अब प्रयोगकर्ताको इन्टरनेटको गतिअनुसार भिडिओको गुणस्तर (Quality) स्वतः मिलान हुनेछ । यसले गर्दा इन्टरनेट कमजोर हुँदा पनि भिडिओ नअड्किने र दर्शकले 'बफर-फ्री' अनुभव लिन सक्ने कम्पनीको दाबी छ ।
यदि कुनै दर्शकले म्यानुअल रूपमा भिडिओ क्वालिटी सेट गर्न चाहेमा प्लेयरको सेटिङमा गएर न्यूनतम ३६० पिक्सेलदेखि अधिकतम १०८० पिक्सेल (उच्च क्वालिटी) सम्मको गुणस्तर छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नेपालमा विश्वकपका सबै १०४ खेलहरूको प्रत्यक्ष प्रसारण गरिरहेको डिगोले ५४९ रुपैयाँमा 'मोबाइल पास' उपलब्ध गराइरहेको छ । नेपाली र अंग्रेजी कमेन्ट्रीसहित फुल एचडी क्वालिटीमा खेल देखाउने लक्ष्यका साथ कम्पनीले आफ्नो प्राविधिक प्रणालीलाई निरन्तर परिष्कृत गरिरहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ ९:३
