close

रातारात एसएमएस ओटीपी थपेर पुनः सुरु भयो अनलाइनबाटै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सुविधा

टेकपाना टेकपाना

असार ८, २०८३ ९:४

रातारात एसएमएस ओटीपी थपेर पुनः सुरु भयो अनलाइनबाटै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सुविधा

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड गर्न सकिने सुविधामा सुरक्षा फिचर सुधार गरी पुनः लाइभ गरेको छ । पर्याप्त प्रमाणीकरणबिनै संवेदनशील कागजातमध्येको एक ई-एनआईडी डाउनलोड हुने भन्दै आलोचना भएपछि विभागले यसमा एसएमएस ओटीपी  (वन टाइम पासवर्ड) प्रमाणीकरण पनि गर्नुपर्ने फिचर थपेकाे हो ।

यसअघि राष्ट्रिय परिचयपत्र डाउनलोड गर्दा व्यक्तिको जन्ममिति, नाम र नागरिकता जारी मिति भए पुग्ने अवस्था थियो । टेकपानाले आइतबार एक रिपोर्ट प्रकाशन गर्दै देशकै उच्चपदस्थ व्यक्तिदेखि राष्ट्रिय परिचयपत्र पाएका जोकोही नेपालीको ई-एनआईडी डाउनलोड गर्न सकिने भन्दै गम्भीर सुरक्षा कमजोरी र डेटा गोपनीयताको विषय उठाएको थियो । 

त्यसलगत्तै सरकारले उक्त फिचर हटायो र त्यसको केही घण्टामै मोबाइलमा ओटीपी जाने र उक्त ओटीपी राखेपछि मात्र डाउनलोड गर्न मिल्ने बनाएको छ । अब प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्र बनाउँदा जुन मोबाइल नम्बर दिएका थिए, त्यो भएको खण्डमा मात्र ई-एनआईडी डाउनलोड गर्न सक्छन् । मोबाइल नम्बर नहुनेको हकमा भने नजिकैको राष्ट्रिय परिचयपत्र बनाउने कार्यालयमा जानुपर्ने हुन्छ ।

टेकपानासँगको कुराकानीमा पञ्जीकरण विभागले छिट्टै भेरिफिकेसन सिस्टम लागू गर्ने बताएको थियो । तर, समाचार प्रकाशन भएलगत्तै विभागले केही समयका लागि सेवा हटाएको थियाो । अहिले ओटीपी भेरिफिकेसनको प्रक्रिया थपेर पुन: सुरु गरेको छ ।  पञ्जीकरण विभागले गत बुधबारदेखि  प्रोभिजनल राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सुविधा ल्याएको हो ।

अब कसरी गर्न सकिन्छ त राष्ट्रिय परिचयपत्र डाउनलोड ?

 

  • त्यसपछि ‘eNID डाउनलोड’ लेखिएको बटनमा क्लिक गर्नुहोस् । 

  • त्यहाँ नेपाली र अंग्रेजीमा आफ्नो नाम र थर, विक्रम संवतमा जन्म मिति र नागरिकता जारी भएको मिति राख्नुहोस् ।

  • अनि, अब क्याप्चा (छ्यासमिसे अक्षर) भरेर खोज्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुहोस् ।

  • यति गरेपछि तपाईंको राष्ट्रिय परिचयपत्रमा जुन नम्बर छ त्यो नम्बरमा छ डिजिटको ओटीपी कोड आउँछ ।

 

  • नम्बर मिलेको खण्डमा तपाईंको राष्ट्रिय परिचयपत्रको विवरण र फोटो देखिन्छ ।

  • अब तपाईंको फोटोसहित राष्ट्रिय परिचय पत्र नम्बरको एउटा परिचय पत्र जस्तो देखिन्छ । त्यसपछि कार्ड डाउनलोड गर्नुहोस् (Download Card) लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।

  • फेरि पनि ‘राष्ट्रिय परिचयपत्र नम्बर’ भएको अर्को पपअप देखापर्छ । त्यसमा रहेको ‘डाउनलोड गर्नुहोस्’ बटनमा क्लिक गर्नुहोस् ।

  • यति गरेपछि तपाईंको राष्ट्रिय परिचय पत्रको पीडीएफ डाउनलोड हुन्छ ।

तर डाउनलोड भएको परिचय पत्र यत्तिकै खुल्दैन, पासवर्ड राख्नुपर्छ । पासवर्ड चाहिँ तपाईंको नामको पहिलो चार अक्षर (अंग्रेजीमा ठुला अक्षरमा)  र जन्ममितिको साल लेख्नुपर्छ । उदाहरणको लागि तपाईंको नाम रमेश हो र जन्ममिति साल २०४२ हो भने पासवर्ड यस्तो (RAME2042) हुने भयो ।

यति गरेपछि डाउनलोड गरेको परिचय पत्र खुल्छ । त्यसमा सम्बन्धित व्यक्तिको फोटो र अनलाइनबाटै रुजु गर्न मिल्ने क्यूआर कोड समावेश गरिएको छ । विभागले यसरी डाउनलोड गरिएको कार्डलाई पूर्ण रूपमा सुरक्षित राख्न समेत नागरिकलाई अनुरोध गरेको छ ।

अहिलेसम्म विभिन्न सार्वजनिक निकाय वा संस्थाले विभागको पोर्टलबाट प्रिन्ट गरिएको फोटोसहितको निस्सा हेरेर सेवा दिँदै आएका थिए । तर अब ‘eNID’ कार्डमा रहेको क्यूआर कोड स्क्यान गरेर त्यसमा देखिएको विवरण र नागरिकले देखाएको निस्साका विवरण भिडायर मात्र सेवा प्रवाह गर्न विभागले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

 

पछिल्लो अध्यावधिक: असार ८, २०८३ ९:५