पब्जी गेममा आउँदैछन् नारुटो र सासुके, ९ जुलाईदेखि ‘निन्जा’ मोड अन हुँदै, नि:शुल्क खेल्न पाइने
असार १८, २०८३ ८:५४
काठमाडौं । पब्जी मोबाइलले आफ्नो आठ वर्षे इतिहासकै एक महत्त्वाकांक्षी सहकार्यको घोषणा गरेको छ । पब्जीले विश्वकै चर्चित कार्टुन/एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (Naruto Shippuden) सँग मिलेर आगामी ९ जुलाईदेखि नयाँ अपडेट भर्सन ४.५ सार्वजनिक गर्न लागेको हो ।
नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरिवेक्षणमा तयार पारिएको यस सहकार्यअन्तर्गत गेमरहरूले नारुटोको संसारलाई प्रत्यक्ष रूपमा पब्जीको ब्याटलग्राउन्डमा अनुभव गर्न पाउनेछन् । यस अपडेटमा नारुटोको कथामा चर्चित रहेका स्थानहरू- हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्याली समावेश गरिएका छन् ।
यति मात्र नभई, गेमरहरूले नारुटोका पात्रहरूले प्रयोग गर्ने चिडोरी, रासेङ्गन, स्याडो क्लोन, फ्लाइङ राइजिन जुत्सु जस्ता जादुमयी लडाइँका सीपहरू समेत प्रयोग गर्न सक्नेछन् ।
यस सहकार्यको अर्को आकर्षण ‘द नाइन टेल’ (The Nine Tails) विरुद्धको विशेष 'बोस फाइट' हुनेछ । यसको अर्थ पब्जी गेममा अब एउटा ठुलो शक्तिशाली जनावर (नाइन टेल) सँग लड्नुपर्ने चुनौती पनि थपिएको छ ।
साथै, गेमरहरूले नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा, मादारा जस्ता चर्चित पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेटहरू प्राप्त गर्नेछन् । गेम खेल्नेले नारुटोका मुख्य पात्रहरूको जस्तै लुगा र हुलिया (Skins) आफ्नो गेममा लगाउन पाइने छ ।
टेन्सेन्ट गेम्सका हेड अफ पब्जी मोबाइल पब्लिसिङ, भिन्सेन्ट वाङले यो सहकार्यले भिडिओ गेमको संसारमा एउटा नयाँ र उच्च स्तरको उदाहरण सेट गर्ने बताएका छन् । सन् १९९९ देखि सुरु भएको नारुटो एनिमे र मांगा सिरिज विश्वभर चर्चित छ ।
गेमरहरूले यो नयाँ अपडेट ९ जुलाईदेखि एप्पल एप स्टोर र गुगल प्ले स्टोरमार्फत नि:शुल्क डाउनलोड गरी खेल्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ ९:२६
