close

एआई गीतले ओरिजिनल गीतमा ‘कपिराइट स्ट्राइक’ हानेपछि कलाकारले गुहारे प्रहरी, ९५ च्यानलविरुद्ध उजुरी

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

असार १७, २०८३ १६:२३

एआई गीतले ओरिजिनल गीतमा ‘कपिराइट स्ट्राइक’ हानेपछि कलाकारले गुहारे प्रहरी, ९५ च्यानलविरुद्ध उजुरी

काठमाडौं । आफ्नै मौलिक सिर्जनामा आफैँले ‘कपिराइट स्ट्राइक’ भोग्नुपर्ने विडम्बनापूर्ण अवस्था आएपछि नेपाली सङ्गीतकर्मीहरू कानुनी उपचारमा लागेका छन् । एआई प्रयोग गरी अनुमतिबिना गीतहरू पुनरुत्पादन गर्ने र वास्तविक सर्जकभन्दा पहिले नै डिजिटल प्लेटफर्ममा दर्ता गर्ने प्रवृत्ति बढेपछि कलाकारहरू चिन्तित बनेका हुन् ।

यसै क्रममा गीतकार तथा मोडेल विमल अधिकारीको नेतृत्वमा सङ्गीतकर्मीहरूको एउटा टोलीले गत हप्ता ९५ वटा युट्युब च्यानलविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।

के हो समस्या ?

तीन वर्षअघि सार्वजनिक भएको चर्चित गीत ‘ए हो र माया’ र १० वर्ष पुरानो ‘जो बिना एक पल’ लगायत एक दर्जनभन्दा बढी गीतहरू एआईमार्फत परिमार्जन गरी विभिन्न व्यक्तिले अनुमतिबिना नै अडियो प्लेटफर्महरूमा अपलोड गरेको गीतकार अधिकारीले बताए ।

उनका अनुसार वास्तविक सर्जकले भन्दा पहिले नै एआई प्रयोगकर्ताले ती गीतहरू डिजिटल प्लेटफर्ममा राखिदिँदा वास्तविक सर्जकलाई आफ्नै मौलिक सिर्जनामा ‘अटो कपीराइट’ को समस्या आइरहेको छ ।

“हाम्रा पुराना गीत र आवाजलाई एआईमार्फत नयाँ स्वरूपमा ढालिएको छ । ती एआई सिर्जित गीतहरू पहिले नै युट्युबमा दर्ता भइसकेका हुन्छन्,” अधिकारीले भने, “पछि हामीले आफ्नै मौलिक (ओरिजिनल) गीत अपलोड गर्दा वा चलाउँदा उल्टै कपिराइटको समस्या देखिन थालेको छ ।”

सामान्यतया सङ्गीत उत्पादन भएपछि सर्जकहरूले ‘अम्युज’, ‘डिस्ट्रोकिड’ जस्ता डिजिटल एग्रिगेटर प्लेटफर्ममार्फत आफ्ना सिर्जना अपलोड गर्छन् । यसरी अपलोड गर्दा गीतको शीर्षक, कलाकार, गीतकार र सङ्गीतकारको विवरण (मेटाडाटा) सँगै ‘डिजिटल फिङ्गरप्रिन्ट’ दर्ता हुन्छ ।

यसले रोयल्टी सङ्कलन गर्न र अनधिकृत प्रयोग पत्ता लगाउन मद्दत गर्छ । तर, वास्तविक सर्जकले दर्ता गर्नुअघि नै एआई च्यानलहरूले गीत परिमार्जन गरी दर्ता गरिदिँदा प्रणालीले एआई सिर्जनालाई नै आधिकारिक मानिदिने जोखिम बढेको हो ।

साइबर ब्युरोमा उजुरी दिनेहरूमा अधिकारीसहित गायक तथा सङ्गीतकार शिव हमाल, गायक शिव शर्मा, पूर्ण उप्रेती लगायतका सङ्गीतकर्मी छन् । यस अभियानलाई ५० भन्दा बढी सङ्गीतकर्मीले समर्थन गरेको गीतकार अधिकारीले जानकारी दिए ।

विशेषगरी ‘AI Core Music’, ‘Nepali Ai Harmonies’, ‘Cosmix’, र ‘Ai Covers Nepal’ जस्ता युट्युब च्यानलले पुराना र नयाँ नेपाली गीतहरूलाई एआईमार्फत स्वर र सङ्गीत परिवर्तन गरी सार्वजनिक गर्दै आएका छन् ।

यस्ता च्यानलका भिडियोमा लाखौँ भ्युज आउने गरेको छ, जसले गर्दा वास्तविक सर्जकको व्यापारिक अधिकार समेत हनन भइरहेको कलाकारहरूको दाबी छ । कलाकारहरूले युट्युब च्यानलको स्क्रिनशट र आवश्यक प्रमाणसहित उजुरी दिँदै बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

के छ कानुनी व्यवस्था ?

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ (क) मा कुनै रचनाको अनुमति नलिई प्रतिलिपि उत्पादन गरेर बिक्री-वितरण तथा सार्वजनिक गर्न नपाउने व्यवस्था छ । उक्त दफामा अधिकार उल्लङ्घनको विषयलाई परिभाषित गर्दै भनिएको छ: “रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको सर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा ।”

सर्जकको अनुमतिबिना एआई म्युजिक बनाएर सार्वजनिक गर्दा दण्ड जरिबानासँगै प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत तिर्नुपर्ने हुन्छ ।

प्रतिलिपि अधिकार उल्लङ्घन गरेमा त्यस्तो व्यक्तिलाई पहिलो पटक १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । दोस्रो पटकदेखि पटकैपिच्छे २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यसरी गैरकानुनी रूपमा प्रकाशन, पुनरुत्पादन वा वितरण गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुने र पीडित पक्षलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराइदिनुपर्ने प्रावधान छ । तर, प्रतिलिपि अधिकार उल्लङ्घन भएको तीन महिनाभित्र उजुरी दिइसक्नुपर्ने समयसीमा उक्त ऐनमा तोकिएको छ ।

 

यो पनि...

एआईले बनाएका गीत भाइरल हुँदा के होला कलाकारको भविष्य ?

सर्जकसँग अनुमति नलिई चर्चित गीतका एआई भर्सन छ्यापछ्यापी, हुनसक्छ ६ महिना जेल र १ लाख जरिबाना

गायक तथा सङ्गीतकार सुरेश अधिकारी भन्छन्ः एआईले उत्पादन गर्ने शब्द र सङ्गीत फेक होइनन्, कपी हुन्

पछिल्लो अध्यावधिक: असार १७, २०८३ २०:१७