इरानी नेता खामेनीको अन्त्येष्टि भन्दै एमाले नेता सूर्य थापा लगायतले शेयर गरेको तस्बिर एआई निर्मित
असार २३, २०८३ १०:२५
काठमाडौं । पूर्व सांसद एवम् एमाले नेता सूर्य थापाले इरानी नेता अली खामेनीको अन्त्येष्टि भन्दै एआई निर्मित तस्बिर शेयर गरेका छन् । थापाले सोमबार साँझ ५:२७ मा एक पोस्ट शेयर गर्दै खामेनीको अन्त्येष्टिमा इरानी जनताको एकता महान भएको भन्दै उक्त तस्बिर शेयर गरेका हुन् ।
पोस्टमा उनले लेखेका छन्, “अलविदा, आयातोल्लाह अली खोमेनी- इरानी जनताको यो एकता र सम्मान महान छ !” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुकमा ‘चुडामणि खड्का’ नाम गरेका प्रयोगकर्ताले “खामेनेईको अन्तिम संस्कार अमेरिका-इजरायलले मार्ने खबर पाए पनि किन लुकेनन्” लेख्दै सोही तस्बिर शेयर गरेका छन् । उनले ६ जुलाई बिहान ७:०१ मा उक्त तस्बिर शेयर गरेका हुन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरिरहेको तस्बिरमा देखिएको भिड केही ब्लर र अस्वाभाविक छ । उक्त तस्बिरलाई गुगल रिभर्स इमेज सर्च गर्दा कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत प्रयोग गरेको पाइयो ।
यस्तै, अरेबिक फ्याक्टचेकिङ प्लेटफर्म ‘मिसबार’ (Misbar) ले उक्त तस्बिरको फ्याक्टचेक गरेको समेत फेला पर्यो । ५ जुलाई (आइतबार) सार्वजनिक गरिएको उक्त फ्याक्टचेकले उक्त तस्बिर एआई निर्मित भएको निष्कर्ष निकालेको छ । इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिको क्रममा विशाल भीड भन्दै उक्त एआई तस्बिर प्रयोग गरिएको फ्याक्टचेकमा उल्लेख छ । पढ्नुहोस् फ्याक्टचेक।

हामीले उक्त तस्बिरलाई विभिन्न एआई डिटेक्सन टुलमा राखेर समेत जाँच गर्यौँ । यसै क्रममा ‘भेरिफाई ओपन एआई जेनेरेटेड इमेज’ ले उक्त तस्बिर ‘ओपन एआई टुल्स’को प्रयोग गरेर निर्माण गरेको पुष्टि गर्यो ।

पछिल्लो अध्यावधिक: असार २३, २०८३ १०:३१
